कारोबार


नेपाल–भारत मन्त्रीस्तरीय बैठक : १० हजार मेगावाट विद्युत् निर्यातसहित चार सम्झौतामा हस्ताक्षर

नेपाल–भारत मन्त्रीस्तरीय बैठक : १० हजार मेगावाट विद्युत् निर्यातसहित चार सम्झौतामा हस्ताक्षर

सम्झौता आदानप्रदान हुँदै। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १९, २०८० बिहिबार १६:३६, काठमाडौँ

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार अपरान्ह सकिएको छ। 

काठमाडौंको याक एन्ड यती होटलमा एक घण्टाभन्दा धेरै चलेको यो बैठकमा चारवटा सम्झौता भएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए। 

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस. जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशका अधिकारीले चारवटा सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सहसचिव राईले बैठकपछि बोल्दै नेपाल-भारत सम्बन्ध सुदृढ बनाउने कुरा भएको बताए। उनका अनुसार आगामी १० वर्षभित्र नेपालबाट भारतमा १० हजार मेगावाट बिजुली निर्यातसहित चारवटा सम्झौतामा हस्ताक्षर भएको हो। 

‘कनेक्टिभिटी, ट्रेड, वाटर एसोसियट र पावर ट्रेडको कुरा भएको छ’, उनले भनेका छन्, ‘दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा चारवटा सम्झौता र सहमतिमा हस्ताक्षर भएको छ।’

राईका अनुसार बैठकमा नेपाल-भारत तीनवटा मुख्य क्रस बोर्डर ट्रान्समिसन लाइन १३२ केभीको उद्घाटन पनि यो बैठकमा भएको छ। 

‘रक्सौवल-परवानीपुर लाइन, कटैया-कुशाहा र नौतनवा-मैनवा १३२ केभी प्रसारण लाइन बैठकमा उद्घाटन भएको छ’, उनले भने, ‘यससँगै नेपाल-भारत विद्युत् व्यापार पनि अब झन् सहज हुने छ।’

राईका अनुसार भारतले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पबाट पीडित भएकाहरूलाई पुनर्स्थापनका लागि १ हजार करोड नेपाली रुपैयाँ सहयोग गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ।

त्यसैगरी नेपाली स्याटेलाइट प्रक्षेपणबारेमा पनि सम्झौता भएको उनले बताए।

‘नेपालले बनाएको स्याटेलाइटलाई प्रक्षेपण गर्न भारतले सघाउने सम्झौता भएको छ’, उनले भने, ‘यसले नेपालको पनि अन्तरिक्षमा पहुँच पुग्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .