ad ad

कारोबार


विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायो : सचिव दुवाडी

विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायो : सचिव दुवाडी

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १९:३१, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन्।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारणसभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्रनै धर्मराएको बताएका हुन्। 

‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, ‘सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा समस्या आएको हो।’

सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्ने उनले बताए।

‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन। अब लेखा जाँच कडाइका साथ गर्छौं। सुधार अब माथिबाट गर्नुपर्ने देखियो’, उनले भने, ‘अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं।’ 

सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको समेत सचिव दुवाडीले स्पष्ट पारे। स्वंयम सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीको भनाई थियो।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताए।

उनका अनुसार पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठूलो संटक सृजना भएको हो। यो समस्या समाधानको लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्ने धारणा राखे।

‘समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक छ। हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुनसक्छ’, उनले भने, ‘ती कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने चुनौती सबैमा छ। सदस्यहरुमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व हामी सबैको हो।’

यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले सहकारी सुधारमा तीनै तहका सरकार, अभियानसँगै सञ्चारमाध्यमको पनि भूमिका पनि महत्वपूर्ण हुने बताए।

उनले हाल संकटका बीच सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि ऐना जस्तै छर्लङ्ग हुनेगरि समाचार सम्प्रेषण गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .