ad ad

कारोबार


त्रिनगर नाकाबाट कृषिजन्य वस्तुको आयात ४ महिनादेखि ठप्प

त्रिनगर नाकाबाट कृषिजन्य वस्तुको आयात ४ महिनादेखि ठप्प

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८० मंगलबार ९:४०, कैलाली

कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ। 

सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपक्षी तथा दुग्धजन्य वस्तुको आयात गत साउन महिनादेखि ठप्प भएको हो।

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको छ । क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्णरूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टिन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने काम गर्दै आएको थियो।

केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको थियो । त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएपछि सुदूरपश्चिममा लागत मूल्यमा वृद्धि हुँदा उपभोक्ता मर्कामा परेको कैलाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए।

त्रिनगर भन्सार नाका बन्द हुँदा अहिले नेपालगञ्ज नाकाबाट वस्तु आयात गर्नु परिरहेको उद्योगी–व्यवसायीहरूको गुनासो छ।

त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गरेको बताइएको छ । त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएपछि भन्सार राजस्व सङ्कलनमा समेत कमी आएको भन्सारका सूचना अधिकारी खड्काको भनाइ छ।

सो नाका सञ्चालनका लागि प्रदेश सरकार, यहाँका उद्योगी व्यवसायीले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापन पत्रसमेत बुझाउँदै आएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा केही दिनअघि प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेको सुदूरपश्चिम प्रदेश सरकारको टोलीलाई प्रधानमन्त्रीले त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .