ad ad

कारोबार


आयात घट्दासमेत भन्सार राजस्वमा वृद्धि

आयात घट्दासमेत भन्सार राजस्वमा वृद्धि

नेपालखबर
मंसिर ११, २०८० सोमबार १९:८, काठमाडौँ

आयातमा गिरावट हुँदासमेत भन्सारतर्फको राजस्व संकलनमा वृद्धि भएको छ। 

भन्सार प्रशासनले गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढि राजस्व संकलन गरेको छ। 

यसरी राजस्वमा वृद्धि हुनुमा भन्सार प्रशासनको निगरानी र कठाई नै मुख्य रहेको दावी गरेको हो। 

भन्सार विभाग अनुसार गत आर्थिक वर्षमा १ खर्ब २८ अर्ब राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब राजस्व संकलन गरेको छ। 

गत वर्षको तुलनामा आयात व्यापारमा ३ दशमलव ७९ प्रतिशतले कमि आएको भएतापनि राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको देखिएको छ। गत वर्ष ५ खर्ब ३३ अर्बको आयात भएकोमा चालु वर्षको सोही अवधीमा ५ खर्ब १२ अर्बको मात्र आयात भएको छ।

भन्सारबाट संकलन हुने राजस्व आयात व्यापारमा आधारित भएकोले वस्तुको आयात बढ्दा राजस्व पनि बढ्ने र वस्तुको आयात घट्दा राजस्व समेत घट्ने भएतापनि चालु आर्थिक वर्षको चार महिनामा आयात व्यापार घट्दा समेत राजस्व संकलनमा उल्लेख्य सुधार आएको देखिएको छ।

भन्सार राजस्वमा महत्त्वपूर्ण योगदान दिने पेट्रोलियममा आधारित सवारी साधनको सट्टा न्यून महसुल भएका विद्युतीय सवारी साधनको आयात बढ्नु, पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्वमा बढोत्तरी नहुनु, फलामजन्य वस्तुबाट प्राप्त हुने राजस्वमा गिरावट आउनु र चोरी पैठारी अपेक्षित रुपमा नियन्त्रण नभएको अवस्थामा समेत राजस्व सङ्कलनको वृद्धि दर उच्च देखिएको विभागको दावी छ। 

भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीमा गरेको सुधार, राजस्व चुहावटमा लिएको शून्य सहनशीलता, भन्सार मूल्याङ्कनमा गरिएको सुधार तथा नीतिगत परिवर्तनका कारण राजस्व सङ्कलनमा सुधार आएको देखिएको छ। 

विभागबाट अनलाइनको माध्यमबाट हुने  प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको जनाकारी दिएको छ। 

अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारवाही गर्न लगाउने गरिएको छ।

यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने कार्यको सुरुवात भएको छ। त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग,  नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारी बाट हटाउने जस्ता नीति अवलम्बन गरिएको पाइएको छ।

विभागले प्रत्यक्ष अनुगमनबाट मात्रै चालु आर्थिक वर्षको श्रावण महिनामा १२ करोड १८ लाख, भाद्रमा १४ करोड, असोजमा २० करोड र कार्तिकमा १२ करोड थप राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट श्रावणमा २ करोड ३० भाद्रमा १ करोड ८६ लाख, असोजमा ८३ लाख र कार्तिकमा ५ करोड १० लाख थप राजस्व असुल गरेको थियो। गत आर्थिक वर्षको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिव ४७७ प्रतिशत थप राजस्व संकलन गरेको पाइएको छ।

विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजस्व सङ्कलनमा सुधार भएको, समग्र व्यापार वृद्धिको तुलना भन्दा राजस्व सङ्कलनको वृद्धि दर बढि भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सबै भन्सार कार्यालयमा भन्सार मूल्याङ्कनमा एकरूपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .