ad ad

कारोबार


प्रधानमन्त्रीज्यू! निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ?

प्रधानमन्त्रीज्यू! निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ?

चन्द्र ढकाल
असोज २५, २०८० बिहिबार ११:४५, काठमाडौँ

अबको पाँच दिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पूरा हुँदै छ। मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रस्ट रूपमा देखिइसकेको थियो। 

यो संकटमा आफूसँगै आफ्ना सानातिना व्यवसायहरू अब उठाउन सकिन्छ कि भन्ने आत्मबल चाहिँ बटुलिरहेका हौँ। त्यसैले महासंघको कार्यकालको ६ महिनामा हामी व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रम गरिरहेका छौँ। 

महासंघ ७७ वटै जिल्लामा पुगेको छ र यो परिवारका सदस्य करिब ६ लाख पुगेका छन्। उहाँहरूको आशा र भरोसालाई हामीले अगाडि बढाउनु छ। उहाँहरूको समृद्धि कुनै न कुनै रूपमा महासंघसंग जोडिएको छ । अध्यक्षको नाताले त्यसको जिम्मेवारी म र हामी कार्यसमिति पदाधिकारीको काँधमा आएको छ। 

म नेतृत्वमा आएलगत्तै निजी क्षेत्रलाई पनि अख्तियारले हेर्नेगरी राष्ट्रियसभाले विधेयक पारित गरेको थियो। हतार-हतार प्रधानमन्त्रीलगायत सबै राजनीतिक दलका अध्यक्ष तथा उच्च पदाधिकारीसमक्ष पुग्यौँ।

यहाँहरू सबैको सदासयताले यो व्यवस्था रोकिएको थियो तर हिजो देखि हामीलाई कुनै जानकारी नै नदिई पुनः यसमा छलफल सुरुभएको छ । यसले निजी क्षेत्रलाई फेरि हतोत्सायी बनाएको छ। 

त्यसपछि प्रधानमन्त्रीको भारत भ्रमणका समयमा निकै मिहिनेत गरेर नेपाल भारत बिजनेस समिट गर्‍याैँ। हामीले विदेशी लगानी बढाउने वाचा त गर्‍याैँ, तर गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ६० प्रतिशत कम अर्थात् करिब ७ अर्ब मात्र लगानी भित्रियो। 

नेपालमा सञ्चालित प्राय: सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन। अमेरिकी सरकारले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ।

कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन्? त्यसो हो भने सुधार आवश्यक छ। 

यो अर्थतन्त्रमा निराशाको एउटा सूचक हो। यस्ता सूचक हरू बढदै गएर अर्थतन्त्र मन्दीमा जाने हो। नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो। 

प्रधानमन्त्रीज्यू! करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो केही घटनाक्रम सम्झन चाहन्छु। 

यसपटकको बजेटमा पनि हामीले आशा गरेका थियौँ। हामीले आग्रह गरेका थियौँ। अर्थतन्त्र मन्दीमा गैसक्यो, सरकारको विशेष सहयोग बजेट मार्फत चाहिन्छ भनेर। केही दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विषय बजेटमा समेटिए। जस्तो कि जग्गा र वातावरणीय प्रभावसम्बन्धी विषय । खनिजजन्य पदार्थको उत्खनन र निर्यातका विषय। जसलाई हामीले स्वागत गर्‍याैँ। तर मन्दीलाई सम्बोधन गर्ने विषय बजेटमा समेटिने अपेक्षा हामीले गरेका थियौँ। तर समेटिएन।

त्यसपछिको हाम्रो आशा मौद्रिक नीतिमा थियो। ठूलो अपेक्षासहित निजी क्षेत्रका तीनवटै संस्थाले संयुक्त सुझाव पेस गर्‍याैँ। मौद्रिक नीति सार्वजनिक हुनु एक महिनाअघि हामी र अन्तर्राष्ट्रिय वित्त निगमले एउटा प्रतिवेदन सार्वजनिक गरेका थियौँ। जसअनुसार निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ८१ प्रतिशत देखिएको थियो। 

निजी क्षेत्रमा करिब ६० लाखले रोजगारी पाएका छन्। ९५ प्रतिशत भन्दा बढी निर्यात निजी क्षेत्रको छ। ८० प्रतिशतभन्दा बढी राजस्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका छन्। हामीलाई आशा थियो- यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्राय: सबै संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ। तर भएन।

मैले राम्रोसँग बुझेको छु, सबै पेसाको विशेष महत्त्व छ। डाक्टरले हाम्रो ज्यान बचाउने क्षमता राख्छन्। त्यसैले हामी भगवान् पनि भन्छौँ। तर डाक्टरका लागि अस्पताल कि त सरकारले बनाइदिनुपर्‍यो कि निजी क्षेत्रले। 

इन्जिनियरले अद्‌भूत संरचना निर्माण गर्न सक्छन्। तर लगानी त कि सरकारले गर्नुपरो कि निजी क्षेत्रले। पत्रकारले समाजलाई सुसूचित गर्ने र डोर्‍याउने काम गर्न सक्छन्। तर मिडिया त कि सरकारले खोलिदिनुपर्‍यो कि निजी क्षेत्रले।

सरकारले यसरी लगानी गर्न कहाँबाट पैसा ल्याउँछ त यो पनि एक पटक हेरौँ। सरकारी बजेटका मुख्य चार स्रोत हुन्छन्। राजस्व, विदेशी ऋण, विदेशी अनुदान र स्वदेशी ऋण । अब के मैले भनिरहनुपर्छ यसमा सबैभन्दा बढि योगदान कस्को छ । अवश्य राजश्वको छ । त्यो कहाँबाट आउँछ त ? त्यसैले म भन्न चाहन्छु, लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र हो। तर यो निजी क्षेत्र मौद्रिक नीतिमा पनि निराश भयो। 

त्यसपछि गत वर्ष निजी क्षेत्रको विरोधका बाबजुद जारी भएको चालु पुँजी मार्गदर्शनमा संशोधन हुने भयो। हामी खुसी भयौँ। संशोधन भएर पनि आयो। निजी क्षेत्रको आंशिक माग संशोधन पनि भयो। तर त्यही दिन एकीकृत निर्देशनमा संशोधन भएर आयो। त्यसमा के भनियो भने एउटा साझेदार निष्क्रिय कर्जाको सूचीमा पर्‍यो भने अर्को पनि पर्‍यो। बक्यौता किस्ता तिरे पनि वाच लिस्टबाट हट्न ६ महिना लाग्छ। अब के भन्ने? 

निजी क्षेत्रलाई किन सहुलियत नदिइएको भनेर सोध्यौँ भने अहिले नै कूल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत कर्जा गैसक्यो। तर पनि आर्थिक वृद्धि भएन। त्यही भएर नदिएको भन्ने जवाफ आउँछ। हो ९० प्रतिशत कर्जा प्रवाह भएर पनि किन वृद्धि भएन अध्ययन गरौँ न। यत्तिकै दोष जति उद्यमी व्यवसायीलाई दिएर उम्किन मिल्छ? 

सहज हुँदा बैंक वित्तीय संस्थाले पनि कर्जा दिएकै हुन्। केन्द्रीय बैंकले पनि त्यो ऋण अनुगमन गरिरहेकै हो। अनि दोषजति उद्यमी व्यवसायीलाई मात्र लगाउनु राम्रो भएन। यसरी सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेरै निकालौँ भन्ने मेरो भनाइ हो।  
त्यो ९० प्रतिशतभित्र कति उत्पादनमूलक क्षेत्रमा र कति अन्यत्र गएको छ हेरौँ। आर्थिक वृद्धिका लागि के कर्जामात्रै आवश्यक हुन्छ वा अन्य पनि। सरकारले खर्च गर्नुपर्छ कि पर्दैन? 

म अर्थशास्त्रीज्यूहरूलाई पनि भन्न चाहन्छु। यहाँहरूले निजी क्षेत्र भन्नेबित्तिकै घरजग्गा, सेयर र व्यापार मात्रै लगानी गरेका छन् भनेर लेख्ने बोल्ने गर्नुभएको छ। के यी क्षेत्र चाहिँदैनन र? संसारभर नै पुँजी परिचालनको माध्यम सेयर बजार हो। फेरि अन्यत्र भएको लगानी पनि त हामीले हेर्नुपर्छ। 

लगानीका अवसर नभएपछि कर्जाको केही रकम जग्गा र सेयरमा गएको होला। यहाँहरूले के बुझिदिनुपर्‍यो भने अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिँदै गएको छ। बैंक वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर बिस्तारै बैंकहरूको खराब कर्जा (एनपीए) बढ्दै गएको छ। 

अहिले बिजुली उत्पादन भएको छ तर बेच्न पाइएको छैन। उत्पादनमूलक उद्योग सञ्चालन गर्न झन् कठिन छ। त्यसैकारण व्यापारमा रुचि हुन्छ। तैपनि हामी काम गरिरहेका छौँ।

समस्या यथावत् नै रहेका बेला डेडिकेटेड फिडर र टंकलाइनको विषय आयो। अध्ययन न सबैले रकम बुझाउन सूचना जारी भयो। हामी फेरि सम्माननीय प्रधानमन्त्रीज्यू! कहाँ गयौँ। यहाँले तत्काल लाइन नकाट्न निर्देशन दिएपछि केही राहत भएको छ। 

सम्माननीय प्रधानमन्त्रीज्यू! यहाँले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ। हामी निकै आभारी छौँ र धन्यवाद पनि दिन चाहन्छौँ।

हामीले यहाँकै उपस्थितिमा चीनमा पनि नेपाल चीन लगानी सम्मेलन गर्‍याैँ। सीसीपीआईटीले सम्मानसाथ नेपालसँग सहकार्य गर्ने गरी कार्यक्रम आयोजना गर्‍यो। लगानीका लागि रुचि पनि देखाएका छन्। तर हामी उहाँहरूलाई बोलाएर के अफर गर्ने।

हाम्रा मूलभूत समस्या अझै समाधान भएका छैनन्। लगानीकर्ताले निकै सकस भोग्नु परिरहेको छ। 

सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यू, श्रीमान् मुख्य सचिवज्यू, यहाँ उपस्थित विद्वत् वर्गसहित विकास साझेदार अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि म भन्न चाहन्छु- के निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ?

नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी व्यवसायीको संस्था हो। त्यसैले हामीले सरकार र सरकारका निकायलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति, व्यवसायी या संस्था विशेषको होइन। तर पनि कतिपय निर्णय व्यक्ति र संस्था हेरेर गर्ने गरिएको पनि छ, जुन दुर्भाग्यपूर्ण छ। 

विकास साझेदारहरूसंग पनि समदूरी आवश्यक छ। अर्थतन्त्र सञ्चालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, अप्ठेरोका लागि होइन। 

अहिले विदेशी दात्री निकायको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको छ। यदि हाम्रा सबै सूचक ठीकठाक छन् र मिल्छ भने त्यो ऋण तिरिदिए पनि हुन्छ। 

निजी क्षेत्र चलायमान हुन नसक्दा राजस्व घटिरहेको विदितै छ। सरकारी खर्च चलाउन आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालिएको छ। उच्च मूल्यवृद्धि छ।

हामी चाहन्छौँ- एउटा पारदर्शी र निजी क्षेत्र मैत्री प्रणालीको विकास होस्। साना उद्यमी जसको पहुँच छैन। उहाँहरूलाई सहयोग बढी चाहिन्छ  उहाँहरूले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ। त्यसतर्फ हामी सबै प्रयास गरौँ। 

किनभने अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन। सेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ। 

हामीले समयमा सही नीति लिन सकेनौँ। अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन। 

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ। बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रुपैयाँ लगानी गर्नसक्ने रकम छ। आपूर्ति अधिक हुँदा ब्याज घटनुपर्ने हो र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो। त्यसो हुन सकेको छैन। 

विदेशी विनिमय सञ्चिति सम्भवतः हालसम्मकै उच्च छ। भारतसँग स्थिर विनिमयदरका कारण कुनै ठूलो विनियम जोखिम पनि छैन। 
रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ। यसले न बजारमा माग बढाएको छ न औपचारिक रूपमा आयात नै उच्च भएको छ। यी र यस्ता विरोधाभासपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ।

यो मूलतः सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घटेको छ भने बजार भाउ निरन्तर बढिरहेको छ। यसलाई अहिले पनि हल गरेनौँ भने जोखिम गहिरिँदै जानेछ। 

अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ। अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन। 

त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी देखिएको छ। उक्त आयोगको अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यू नै रहने र निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रूपमा समावेश हुनुपर्नेछ। आयोगमा अर्थ तथा उद्योग मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका उच्च नेतृत्व रहनु सान्दर्भिक हुनेछ। 

यस्तो आयोग बनाउँदा खर्च बढ्ने हुँदा आयोगका पदाधिकारीहरू अवैतनिक रूपमा नियुक्त हुनाका साथै मितव्ययी रूपमा कामगर्ने गरी कार्यविधि निर्माण गर्न सकिन्छ। यसको सञ्चालनका लागि आवश्यक मात्रामा निजी क्षेत्रले पनि योगदान दिन सक्नेछ। 

हामी सबै पक्ष मिलेर काम गर्‍याैँ भने सबै समस्याको समाधान सम्भाव छ। नेपालको निजी क्षेत्र दरिलो छ। नेपालको निजी क्षेत्र कोभिडलगत्तै झण्डै ६ प्रतिशतको आर्थिक वृद्धि दिनसक्ने क्षमताको हो। त्यसैले निजी क्षेत्रको मनोबल बढाउने विषयमा सरकार सकारात्मक हुनुपर्छ। हामीले निजी क्षेत्रको मर्यादाक्रमको विषय पनि उठाएका छाैँ। सम्माननीय प्रधानमन्त्रीज्यू, मुख्य सचिवज्यू, सकारात्मक हुँदाहुँदै पनि काम हुन सकेको छैन। 

यी र यस्ता कैयौँ विषयप्रति सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरू, श्रीमान् मुख्य सचिवज्यू तथा सचिवज्यूहरूले नै सार्वजनिक रूपमै प्रतिबद्धता गर्नुभएको भए पनि कार्यान्वयनमा नआउँदा हामीलाई दु:ख लाग्नु स्वाभाविकै हो। यहाँसम्म कि कतिपय अवस्थामा त मन्त्रिपरिषद्का निर्णय नै कार्यान्वयन हुन नसकेको अनुभव पनि हामीसँग छ। सम्माननीय प्रधानमन्त्री ज्यू, यस्ता कार्यन्वयनमा हुने ढिलासुस्ती हटाउनपर्छ भन्ने हाम्रो भनाइ हो। 

त्यसैले पनि अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एक ठाउँमा आएर सामूहिक रूपमा अहिलेको अवस्थाबाट बाहिर आउन पहल गरौँ। निजी क्षेत्रका तर्फबाट महासंघले यसको सुरुवात गरेको छ। सुधारका लागि सबै पक्षको सहकार्य जरुरी हुन्छ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले आर्थिक बहसमा व्यक्त गरेको विचार)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .