ad ad

कारोबार


खाडी मुलुकमा नेपाली कृषि उत्पादनको माग बढ्दो

खाडी मुलुकमा नेपाली कृषि उत्पादनको माग बढ्दो

नेपालखबर
भदौ २५, २०८० सोमबार १३:६, काठमाडौँ

खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भएपनि नेपाली व्यवसायीहरु सचेत हुन नसकेको बताएका छन्।

उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन्। उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए।

ललितपुरमा भएको राजदूतहरुसँग व्यवसायीहरुको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवसायीहरुलाई सचेत बनाउन आवश्यक रहेको बताए। उनले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उनले व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए।

उनले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताए। उनले राजदूतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताए।

उनले भने, ‘हामीले कुन कुन वस्तुमा के के सुविधा पाएका छौँ, त्यो लिस्ट हामीलाई पठाइदिनुहोला, त्यो लिस्ट उहाँहरुलाई पनि सुनाउनु होला। एग्जिबिशनमा जानुहुन्छ, सफ्टाको फ्रेमवर्क प्रयोग गर्नु न भन्दा सर कहाँ प्रयोग गर्ने? कसरी ल्याउने भन्नुहुन्छ, व्यवसायी। हाम्रा व्यवसायी सचेत हुन सक्नुभएको छैन। हाम्रा कमजोरी छन्, त्यो सुधार्नुपर्छ। हाम्रा सुविधा नहुँदा नहुँदै पनि राजदूतले गर्ने ठाउँ धेरै हुन्छ। व्यवसायीहरु पनि क्षणिक आउनुहुन्छ।’

कार्यक्रममा बोल्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताए। उनले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पारे। उनले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भएपनि केही छुट दिलाउन सकिने बताए।

उनले भने, ‘तपाईहरु त्यो देशलाई प्रयोग हुने यो प्रोडक्ट छ भन्नुस्, हामी सम्बन्धित देशका मान्छेसँग समन्वय गर्न तयार छौँ । हामी सम्बन्धित देशका चेम्बर अफ कमर्स लगायतसँग सम्पर्क गराइदिन तयार छौँ, तर एउटा कुरा एम्बेसीले गर्न सक्दैन, स्टल ल्याइदिनुस्, फ्रि अफ कस्ट उपलब्ध गराइदिनुहोस् भन्नेकुरा सरकारले बजेट कम दिएको छ, हामीले सक्दैनौँ। तपाईहरुले समस्या बताउनुस्। त्यहाँस्थित समस्या भए हामी समाधान गर्न तयार छौँ।’

त्यस्तै युएईका लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको बताए। उनलृ नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताए। उनले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए। उनले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताए। उनले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताए।

कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन्। नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए।

उनले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गरे। उनले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दूतावासले यसमा पहल गर्न आग्रह गरे। युएईमा राँगाको सुकुटी धेरै माग आएको बताए। राजदूतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गरे।

कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताए। उनले दूतावासमा चिया, कफी लगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए।

उनले राजदूतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .