ad ad

कारोबार


संकटमा पुगेको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको सहकार्य आवश्यक

संकटमा पुगेको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको सहकार्य आवश्यक

नेपालखबर
साउन १९, २०८० शुक्रबार १२:५९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य माग गरिरहेको बताएका छन्।

अध्यक्ष ढकालले महासंघको नेतृत्व लिएर १०० दिनमा गरेका कामको विषयमा पत्रकारहरुलाई जानकारी दिँदै यस्तो बताएका हुन्।

उनले संकटमा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने कठिन समयमा मुलुकले निजी क्षेत्रको सहकार्य  खोजेको बताए। उनले विगत लामो समयदेखि आफूले निजी क्षेत्रका मुद्दाहरु एउटै भएकाले सहकार्य आवश्यकता रहेको बताए।

उनले मुलुकमा धेरै क्षेत्र विभाजित भइरहेका बेला निजी क्षेत्रका छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स एकै ठाउँ आउनु सुखद् पक्ष भएको उल्लेख गरे।

उनले पछिल्लो समय निजी क्षेत्रका माग र प्रतिक्रिया संयुक्त रुपमा दिँदा निजी क्षेत्र एकताको सन्देश गएको समेत बताए। उनले बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रका सुझाव एउटै रहेको बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रले माग गरेको जग्गासम्बन्धी व्यवस्था, वातावरणीय मूल्यांकनसम्बन्धी सहजता, खानीजन्य वस्तुको उत्खनन तथा निर्यात जस्ता दीर्घकालीन महत्वका विषय समेटिए पनि तत्कालको समस्या समाधान हुन नसकेको बताए।

उनले विगतमा आयात निरुत्साहित गर्ने र चालु पुँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको भन्दै यसले वाह्य क्षेत्र सन्तुलित बनाए पनि मुलुकभित्र अर्थतन्त्र मन्दीमा गएको बताए। उनले मौद्रिक नीतिमा निजी क्षेत्रको ठूलो अपेक्षा भएपनि नीतिले यसलाई सम्बोधन गर्न नसकेको बताए।

अध्यक्ष ढकालले कर्जा बिस्तार उच्च रुपमा भएर पनि आर्थिक वृद्धि हुन नसक्नुको कारण अध्ययन गर्न आवश्यक भएको बताए। उनले बढी ऋण प्रवाह भएकै कारणले समस्या भएको भन्दै यसलाई हठात रुपमा रोक्नुपर्छ भनेर भन्नु गलत भएको उल्लेख गरे।

उनले ऋण लिने मान्छेमात्रै दोषी कसरी भए भन्दै प्रश्न गरे। उनले बैंक वित्तीय संस्थाले ऋण दिदाँ केन्द्रीय बैंकले किन त्यतिबेलै अनुगमन नगरको भन्दै प्रश्न गरे। उनले सरकारले पुँजीगत खर्च गर्नसक्दा समस्या भएको बताए।

उनले सरकारले पुँजीगत खर्च गर्ने तथा अन्य समस्याका कारण विभिन्न समस्या उत्पन्न गर्ने  अनि दबाबमा निजी क्षेत्रलाई मात्र पार्न नमिल्ने बताए। उनले निजी क्षेत्र समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको भनेर थप मानमर्दन गर्न नमिल्ने बताए। उनले यस्ता विषयमा केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराए।

उनले भने, ‘कर्जा बिस्तार भएर पनि आर्थिक वृद्धि किन भएन अध्ययन गर्नुपर्ने विषय रह्यो। त्यसैले अहिले नै बढी ऋण प्रवाह भएकै कारणले समस्या भएको हो र यसलाई हठात रोक्नुपर्छ भनेर पनि कसरी भन्न सकियो? अर्को विषय के यसमा ऋण लिने मान्छेमात्रै दोषी हो त? बैंक वित्तीय संस्थाले पनि त ऋण दिएकै हुन्। केन्द्रीय बैंकले किन त्यतिबेलै सजग बनाएन। अनुगमन किन गरेन। सरकारले किन पुँजीगत खर्च गर्न सक्दैन? समस्या सबैका कारणबाट सिर्जना भएको हो। अनि यसको दबाबमा निजी क्षेत्रलाई मात्र पार्न मिल्छ? यसै त समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको भनेर थप मानमर्दन गर्न मिल्छ? अहिले आएर एकैपटक ब्रेक लगाउन मिल्छ? यसले दुर्घटना हुन्छ। म केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै,अध्यक्ष ढकालले महासंघले विधान संशोधन प्रक्रियालाई पनि अगाडि बढाएको बताए। उनले यसअघि नै तयार भएको मस्यौदामा नै थप छलफल गरी अगाडि बढाउने योजना रहेको बताए। उनले विधान संशोधनका लागि सुझाव संकलन गर्न पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको बताए।

अध्यक्ष ढकालले आफ्नो क्षेत्रबाट सुझाव लिएर आएपछि पदाधिकारी समितिको बैठकमा छलफल हुने बताए। उनले पदाधिकारीहरुले नै अपनत्व लिएर छलफल गरी अगाडि बढाउँदा कार्यान्वयनमा लग्न सहज हुने भन्दै यसपटक अध्यक्षको नेतृत्वमा नै पदाधिकारीले संशोधनको जिम्मा लिने बताए।

उनले महासंघलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न कदमहरु चालिएको बताए। उनले महासंघका समिति र फोरमको महत्व बढ्नुका साथै प्रभावकारी काम गर्ने प्रतिवद्धता पनि जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .