ad ad

कारोबार


लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

नेपालखबर
साउन ११, २०८० बिहिबार १९:२९, काठमाडौँ

पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्।

तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ। पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ। तर लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन्।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताए।

उनले भने भने, ‘भेडा,बाख्रामा पनि लम्पी स्किन रोग लागेको तथ्यांक छैन। यो रोग लागेको पशुको दूध उमालेर खान सकिन्छ। तर, उमाल्ने सन्दर्भमा कुनै स्वस्थ पशुको दूधपनि उमालेर खानुपर्छ। बिरामी पशुको उपचारमा एन्टीबायोटिकको प्रयोग भएको हुनसक्छ। यदी एन्टीबायोटिक प्रयोग गरिराखिएको छ भने त्यो एन्टीबायोटिक कुन एन्टीबायोटिक प्रयोगमा आएको हो, त्यसको निश्चित समयपछि खानु उपयुक्त हुन्छ। ढुक्कसँग दूध उमालेर खान सकिन्छ। यो संक्रमण देखिएको बेला पशुको उपचारमा प्रयोग भएका औषधिमा भने ख्याल गर्नुपर्ने हुन्छ। लम्पी स्किन रोग विशेषगरी गाई, भैंसी र चौँरीमा देखिने गरेको छ।’

उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए। उनले आज सम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए।

डा. ढकालले भने, ‘लम्पी स्किन रोग जुनोटीक रोग होइन। यो पशुबाट मान्छेमा सर्ने रोग होइन। कतै पशुबाट मान्छेमा पनि सर्ने रोग हो की भन्ने प्रश्न पनि उठिरहेको छ। मान्छेलाई रोग लाग्छ की लाग्दैन भन्ने जिज्ञासा आउन सक्छ। आजसम्मको कुनैपनि अध्ययनले यो रोग मान्छेमा सरेको छैन नै भन्छ। यो पशुकै रोग हो। र, अन्य प्रजातीका पशुहरुमा पनि लागेको देखिएको छैन।’

लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चाैँरीमा देखिने गरेको छ। डा.ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए।

यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दूध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ। यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ।

डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिए। २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ। कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा.ढकालले लम्पी स्किन एक किसिको भाइरसले लाग्ने संक्रामक रोग भएको बताए। उनले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताए।

यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ। अहिले लम्पी स्किन भाइरसबिरुद्धको खोप स्थानीय पालीकामा उपलब्ध रहेको डा. ढकालले बताए। संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उनले एउटा पशुले गर्दा हजारौं पशुहरु संक्रमित हुनसक्ने बताए।

महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहने बताए। बिरामी पशुलाई चरनमा लैजान नहुने उनको सुझाव छ। जैविक सुरक्षाको पालना गर्नुपर्ने भन्दै उनले पछिल्लो समय संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दै गएको जानकारी दिए। देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।

डा.ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताए। यो रोग मौसमसँग पनि जोडिएको छ। वर्षायाममा किराहरुको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरु बताउँछन्।

संक्रमण भइहाले तत्कालै नजिकैको पशु कार्यालय, स्थानीय निकाय, पशु प्राविधिकहरुसँग सम्पर्क गर्न सकिने र यो रोग लागेपछि पशुको मृत्युको कारण ज्वरो रहेको विज्ञहरुको सुझाव छ। लम्पी स्किनबिरुद्ध अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको पशु सेवा विभागले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .