कारोबार


१०० किलो सुन छिरेको विमानस्थलमा हङकङबाट ५० ग्राम ल्याउने यात्रुलाई पनि हुन थाल्यो केरकार

१०० किलो सुन छिरेको विमानस्थलमा हङकङबाट ५० ग्राम ल्याउने यात्रुलाई पनि हुन थाल्यो केरकार

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १८:९, काठमाडौँ

गत बुधबार १०० किलो सुन समातिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ५० ग्रामसम्म गहना लगाएर आउने यात्रुलाई दुःख दिएको अरोप लागेको छ। 

हङकङबाट हवाई कार्गोमार्फत करोडौंको अवैध सुन भित्रिएको घटनापछि हवाई यात्रुलाई दुःख दिन थालेको गुनासो आएको हो। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पहेँलो धातु, सुन जस्तो देखिने माल वस्तुको विवरणमा पुर्जी थमाइदिएको यात्रुहरुले बताएका छन्। 

हिमालयन ट्राभल्स हङकङले मंगलबारदेखि हङकङबाट नेपाल जाने यात्रुलाई भन्सार चेकजाँचमा बढी दुःख दिएको जनाएको छ। 

‘अधिकांश यात्रुले साथमा लगेका गहनाहरु नेपाल एयरपोर्टमा भन्सार तिर्ने वा नतिर्ने शर्तमा जफत गरिएको गुनासो आएको छ,’ हिमालयन ट्राभल्सले भनेको छ, ‘बटारिएको सुनको बाला, नबटारिएको सादा बाला नयाँ तथा पुराना, पथ्थर नजोडिएका र फूलबुट्टा नकुँदिएका औंठी लगायत गहना जफत भएका छन्।’  

अघिल्लो हप्ता हङकङबाट रेडी ट्रेड प्रालिले ब्रेक सुको नामका सुन ल्याएको भन्दै राजश्व अनुसन्धान विभागले सामान जफत गरेको छ। 

उक्त सामान करिब एक क्वीन्टल सुन हुनसक्ने आशंका गरिएको छ। अहिलेसम्म परिमाण सार्वजनिक गरिएको छैन।

करिब १०० केजी सुन विमानस्थल भन्सार कार्यलयले नदेख्ने तर यात्रुले ल्याएको ५० ग्राम सुन समात्ने भन्दै सर्वसाधारणले अक्रोश पोखेका छन्। 

हङकङबाट नेपाल यात्रा गरेकी कल्पाना पुन काउछाले छोरा मान्छेलाई बढी कडाई गरिएको बताइन्। 

‘पुरुष यात्रुलाई २५ ग्राम, महलिालाई ५० ग्राम रे!,’ उनी भन्छिन्,‘खै नयाँ नियम हो की कमचारीले त्यही भने।’

पुनले सुनमा मात्रै नभइ लजेगमा पनि दुःख दिन थालेको सुनाइन्।

‘नयाँ लुगा एउटै लगेजमा देखे पनि दुःख दिने?’, उनले भनिन्। 

यात्रु रामबाबु कार्कीले भन्सार महसुल तिरेर मात्रै समान ल्याएको बताउँछन्। 

‘१०० किलो सुन छिराउन दिने, विदेशमा पसिनाले कमाएको १–२ तोला सुनमा आँदा लगाउने?’, भन्दै यात्रुहरुले आक्रोश पोखेका छन्। 

कृष्णप्रसाद गुरुङ केही दिनअघि हङकङबाट नेपाल आएका हुन्। उनले पनि सोझासिधा जनतालाई कर्मचारीले दुःख दिने गरेको सुनाए।

‘अखिरमा सिधासाधा जनता मारमा पर्ने दुःख दिन्छ सरकार,’ गुरुङ भन्छन्, ‘मैले पनि एउटा बेरुवा औंठी लगाएर आएको थिएँ, धेरै दुःख दिए।’

सुनका गहना लगाएर हङकङदेखि नेपाल आउँदा दुःख पाएको उनले बताएका छन्। 

पुरुषले २५ र महिलाले ५० ग्राम गहना मात्रै ल्याउन पाउँछन् : भन्सार
आर्थिक ऐन २०८० ले पुरुष र महिलालाई सुनको गहना ल्याउन पाउने व्यवस्थामा कडाई गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

एयरपोर्टका कर्मचारीको मनपरी गरेको नभइ मापदण्डकै आधारमा बढी ल्याउनेलाई राजस्व तिर्न आग्रह गरेको कार्यालयले जनाएको छ। 

‘पहिले महिला र पुरुष दुवैले ५० ग्रामसम्मको गहना ल्याउन पाउने व्यवस्था थियो,’ त्रिभुवन भन्सार कार्यालयका उपसचिव नारद गौतमले भने, ‘अहिले पुरुषले २५ र महिलाले ५० ग्रामको गहना ल्याउन पाउने व्यवस्था छ। 

गौतमले प्रचार प्रसार कम हुँदा पुरुषले पनि ५० ग्रामसम्म गहना ल्याउने गरेको स्वीकारे।

‘भन्सारका कर्मचारीले कानुनी मापदण्डकै आधारमा ल्याउन दिने हो,’ उनले भने, ‘नेपाल आउने यात्रुले पनि कति लैजान पाउने, अपडेट भएर आउनुपर्छ।’

भन्सार विभागले सुनका गहना पुरुष र महिलाका लागि फरक फरक परिमाण ल्याउने व्यवस्था रहेको जनाएको छ। 

पुरुषले २५ ग्रामसम्म र महिलाले ५० ग्रामसम्म ल्याउन पाउने जानकारी विभागले दिएको छ। 

यात्रुले थप १०० ग्राम सुनका गहना साथमा ल्याउँदा प्रचलित दर बमोजिम महसुल लाग्ने उल्लेख गरेको छ। 

भन्सार विभागका अनुसार १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। त्यस भन्दा पनि थप १०० ग्राम सुनका गहनामा प्रचलित दरमा थप ३ प्रतिशत महसुल लाग्ने व्यवस्था रहेको छ।

‘तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरेका वस्तुलाई गहनाको रुपमा मान्यता दिइने छैन,’ विभागले भनेको छ।

गहना बाहेकको सुनमा ५० ग्रामसम्म प्रचलित दर बमोजिम महसुल लाग्ने र त्यसभन्दा थप ५० ग्रमसम्ममा प्रचलित दरमा थप ३ प्रतिशत महसुल लाग्ने व्यवस्था छ। 

भन्सार विभागका निर्देशक पुण्यविक्राम खड्काले पुरुषलाई २५ र महिलालाई ५० ग्राम ल्याउन पाउने व्यवस्था अनुसार नै कडाई गरिएको बताए। उनले यात्रुलाई अनावश्यक दुःख दिने नियत नरहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .