कारोबार


छोरीको सहयोगमा ५८ वर्ष पुरानो होटल अन्नपूर्णलाई पुनर्जीवन दिँदै सिर्जना

छोरीको सहयोगमा ५८ वर्ष पुरानो होटल अन्नपूर्णलाई पुनर्जीवन दिँदै सिर्जना

५८ वर्ष पुरानो होटल अन्नपूर्णकी सञ्चालक तथा कार्यकारी निर्देशक सिर्जना राणा (तस्बिर : सरोज बैजु)


सम्झना घिमिरे
असार २२, २०८० शुक्रबार ५:५२, काठमाडौँ

५८ वर्षअघि नेपालमा होटलहरु विरलै पाइन्थे। होटलमा खाना खानु वा घुम्न जाँदा होटलमा बास बस्नु विलासिताको मानक थियो। गाउँगाउँमा त केही दशक अघिसम्म पनि कतै जानुपर्दा सामलतुमल, भाँडाकुँडा र ओढ्नेओछ्याउने आफैँ बोकेर हिँड्ने चलन थियो।

काठमाडौँमा भने अलिअलि विदेशी संस्कृति छिर्न थालेको थियो। दरबारमार्गमा पबहरु खुलिसकेका थिए। तर, गतिलो होटल अझै खुलेको थिएन। 

दरबारका विदेशी पाहुना आउँथे। तर, तिनलाई राख्ने राम्रो होटल थिएन। बरु, नारायणहिटी दरबारनजिकै ती पाहुनालाई राख्न एउटा अपार्टमेन्ट बनाइएको थियो।

सन् १९६५ मा तत्कालीन अधिराजकुमारी हेलेन शाह विदेशीको बढ्दो आवागमनबाट उत्साहित थिइन्। त्यही भएर हुनसक्छ, दरबारका पाहुनाका लागि निर्माण गरिएको अपार्टमेन्टलाई उनले होटलको रुपमा विकास गरिन्।

१९६५ मा सुरु गरिएको होटलको नाम राखियो– अन्नपूर्ण होटल। जुन नेपालकै पुरानो तारे होटल बन्न पुग्यो।

नेपालको पहिलो पाँचतारे होटलले २०८० सालसम्म आइपुग्दा ५८ वर्ष पूरा गरिसकेको छ। अहिले पाँचतारे होटल नै दुई दर्जन पुगिसकेका छन्। गएको दुई वर्षमा नेपालमा दर्जन बढी विदेशी चेन होटल खुलिसकेका छन्। नाम चलेका विदेशी ब्रान्डहरु नेपाल भित्रिन तछाँडमछाँड गरिरहेको अवस्थामा ऐतिहासिक होटल अन्नपूर्ण भने गएको तीन वर्षदेखि बन्द छ।

कुनैबेला सेवा दिनै भ्याइनभ्याइ हुनेगरी भीड लाग्ने सेवाग्राहीहरु अहिले घण्टौँसम्म पनि देखिँदैनन्। नजिकैको क्यासिनोमा फाट्टफुट्ट आउजाउ देखिए पनि होटल पूरै सुनसान देखिन्छ।

धमाधम नयाँ होटल निर्माण भइरहेका बेला दरबारमार्गमै रहेको पहिलो होटल सुनसान हुनुले धेरैको मनमा एउटै प्रश्न उठाएको छ– होटल किन बन्द छ? के अब सञ्चालनमा नआउने हो?

ऋण, कर्मचारी विवाद लगायतका समस्याले थिचिएपछि २०७६ सालमा बन्द भएको अन्नपूर्ण त्यसयता पूर्ण सञ्चालनमा छैन। कोभिड संक्रमण सकिएर देशमा पुनः होटल व्यवसाय जुरमुराउँदा पनि यति लामो इतिहास बोकेको यो होटल बन्द हुनुले धेरैलाई आश्चर्यमा पार्नु स्वाभाविक हो।

‘ऐतिहासिक भनेर मात्रै होटल नचल्ने रहेछ’
होटलकी सञ्चालक तथा कार्यकारी निर्देशक सिर्जना राणा अन्नपूर्ण पुरानै शैलीमा चलाउन नसकेपछि बन्द गर्नु परेको बताउँछिन्।

‘सुनसान देख्दा आफैँलाई दुःख लाग्छ। आशा गरौँ, यो समय छिटै सकिन्छ,’ उनी भन्छिन्। 

सन् २०२० लाई सरकारले भ्रमणवर्षको रुपमा मनाउने धुमधाम तयारी गर्दै गर्दा राणा पनि सेवा बढाउन व्यस्त थिइन्। ऋणको भारीबाट भ्रमण वर्षले मुक्त गर्ने आशा थियो उनलाई। तर भ्रमणवर्षको सुरुवात नहुँदै विश्वव्यापीरुपमा कोरोना संक्रमण बढ्यो। नेपालले पनि संक्रमण हुनसक्ने भन्दै भ्रमणवर्ष रोकेर देशैभर लकडाउन गर्यो। आर्थिक अवस्था सुध्रेला भन्ने आशामा बसेका होटलका अध्यक्ष कपिल शमशेर राणा र सिर्जनाले सोही वर्ष घोषणा गरे, ‘होटल बन्द।’

कोभिड महामारी, ऋणको चंगुल र कर्मचारी विवादमा फसेपछि सिर्जना र कपिल चाहन्थे, होटल सञ्चालनको सम्पूर्ण मोडालिटी नै परिर्वतन होस्।

‘हामीले नेपाललाई लिएर विदेशी पाँचतारे होटलहरुको क्रेज नियालिरहेका थियौँ,’ सिर्जना सम्झिन्छिन्, ‘अब पुरानै शैलीको होटलले व्यवसाय धान्न सक्दैन। त्यसैले केही नयाँ गर्ने सोच ममा थियो।’

पुरानो शैली विस्थापन गर्ने सिर्जनाको सोचलाई कोभिड संक्रमणले अवसर बनायो। सँगै थपियो कर्मचारी व्यवस्थापनको चुनौती पनि।

हुन त कोभिड संक्रमणको भयावह स्थितिबाट बाहिर निस्किएसँगै अलफ्ट, म्यारिअट, हायात प्लेस, सेराटन, क्राउन प्लाजा लगायतका नाम चलेका विदेशी चेन होटलहरु प्रवेश गरिरहेका छन्। सिर्जना र कपिललाई लाग्यो, यो लहरमा पनि प्रवेश नगर्ने हो भने आफैँमाथि खतरा आइपर्नेछ।

‘अब ऐतिहासिक मानकले मात्रै व्यवसाय धानिनेवाला छैन,’ सिर्जना सुनाउँछिन्।

कार्यकारी प्रमुखको कार्यभार सम्हालिरहेकी सिर्जना होटल एसोसिएसन अफ नेपाल (हान) की निर्वतमान अध्यक्ष हुन्। होटल व्यवसायीको नेतृत्व गरिसकेकी उनलाई लाग्छ– विदेशी ब्रान्ड नेपाल भित्रिएर आफूहरुलाई पनि सच्चिने मौका दिएको छ। 

त्यही भएर कोभिड संक्रमणकै समयमा आफ्नै व्यवसायलाई सच्याउन लागिपरिन् उनी। बोझ हुनेगरी आवश्यकताभन्दा बढी जनशक्ति राख्नु आफ्नो गल्ती भएको उनको ठम्याइ छ। 

‘हामीकहाँ चाहिनेभन्दा बढी जनशक्ति थियो। छाँटकाँट पनि गर्नुपर्ने थियो। कोभिडको समयमा नेपालमा विदेशी चेन होटल भित्रिन थालेपछि नेपाली पाँचतारेहरु कडा प्रतिस्पर्धामा उत्रनु पर्यो,’ उनले भनिन्, ‘नयाँ अनि अन्तराष्ट्रिय छवि बनाएका होटलहरु आएपछि हामीले पुरानै शैलीले होटल चलाउन सक्छौँ जस्तो लागेन। त्यसैले पनि परिवर्तन जरुरी थियो।’ 

सन २००४ बाट भारतीय व्यवस्थापक कम्पनी ताज अन्नपूर्णबाट अलग्गिएपछि होटल व्यवस्थापनका लागि थाइल्यान्डको दुसिट थानी समूह भित्रिएको थियो। तर सो कम्पनी काम सुरु नगर्दै पछि हट्यो। २०७४ सालमा आफैँ व्यवस्थापनमा कस्सिएकी सिर्जनाले त्यसपछि कर्मचारी कटौती मात्र नभएर संरचनाको फेरबदल र सेवास्तर परिवर्तन समेत गर्न थालिन्। जुन निकै चुनौतीपूर्ण थियो।

३ दशकदेखि होटलमा कार्यरत कर्मचारीलाई विदा गर्न उति सहज भने थिएन। झण्डै तीन सय कर्मचारी हटाउने उनको निर्णय विवादित बन्यो। आन्दोलन सुरु भयो।

‘जोखिम नै व्यवसाय हो। कि मैले परिवर्तनको जोखिम मोल्नु पथ्र्यो, कि पुरानै शैलीमा ऋणको भारी बोकेरै व्यवसाय सञ्चालन गर्नुपथ्र्यो,’ उनी भन्छिन्, ‘मैले पहिलो विकल्प रोजेँ।’

पहिलो विकल्प सहज थिएन। कर्मचारी आन्दोलन साम्य पार्न नै हम्मेहम्मे पर्यो। बजारमा फैलिएको हल्लाजस्तो पाउनुपर्ने पैसा नदिई कर्मचारी ननिकालेको, बरु नियम अनुसारको आर्थिक क्षतिपूर्ति भरणसहित कर्मचारी निकालेको सिर्जनाको भनाइ छ।

‘हामीले कर्मचारी कि पाल्न सक्नुपर्यो कि निकाल्न। मैले उनीहरुले पाउनुपर्ने पैसा भरण गरी निकाल्ने निर्णय गरेँ,’ उनी भन्छिन्।

२४ महिनाको संघर्षपछि कर्मचारी व्यवस्थापनको काम सकिएको छ। अहिले उनी भवन पुनर्संरचनाको काम गरिरहेकी छन्।

मुलुककै पुरानो अन्नपूर्ण होटल कुन मोडलमा विकास गर्ने भन्नेमा अझै अन्यौल रहे पनि बुटिक शैलीसँग मिल्दोजुल्दो हुने उनको भनाइ छ।

‘अब ठूलो भवन, महंगो सामान र तिनका साजसज्जा ग्राहकको रोजाइबाट विस्थापित हुन थालिसक्यो,’ उनी भन्छिन्, ‘हामीले होटललाई सांस्कृतिक शैली र नेचर फ्रेन्ड्ली बनाउने काम गरिरहेका छौँ। त्यसका लागि उद्यान, रुखहरु र सोही अनुसारको लक्जरियस् कोठाहरु निर्माण भइरहेका छन्।’ 

आंशिक सञ्चालनमा रहेको होटलले पुनर्संरचनाकै लागि होटलको ९० प्रतिशत हिस्सालाई बन्द गरेको छ भने पश्चिमतर्फ रहेको सानो क्षमताको पार्टी भेन्युलाई आंशिक सञ्चालनमा ल्याएको छ। सिर्जना अब सञ्चालनमा आउने अन्नपूर्ण होटल हरियाली, वातावरणमैत्री र परम्परागत शैलीको हुने बताउँछिन्। १ सय ३० वटा कोठाबाट २ सय ३० वटामा पुर्याउने योजना अनुरुप काम भइरहेको छ।

होटलमा आमाको परिवर्तनलाई साथ दिन अब उनकी छोरी केश्या पनि बेलायतबाट पढाइ सकेर आइसकेकी छिन्। सिर्जना नयाँ तरिकाबाट होटल सञ्चालनमा छोरीको भूमिका अहम् हुने धारणा राख्छिन्। 

भन्छिन्, ‘छोरी केश्या पारिवारिक व्यवसायलाई नै निरन्तरता दिन नेपाल आएकी छिन्। उनले होटललाई परिष्कृत गर्न मलाई सहयोग गर्नेछिन्।’

सिर्जना यही वर्षभित्रमा नै होटललाई पुनर्जीवन दिएर सञ्चालनमा ल्याउने तयारी गरिरहेकी छिन्।

‘सुखको दिन त ५४ वर्षसम्म आयो नि। अब झन् बढी प्रतिस्पर्धामा उत्रनलाई त हामीले यो चुनौतीसँग पौँठेजोरी गर्नु नै थियो। हामी संघर्ष गर्दै छौँ फेरि नयाँ स्वरुपमा स्थापित हुनलाई,’ उनी भन्छिन्।

उनलाई लाग्छ, अहिलेको समय एकदम चुनौतीपूर्ण छ। 

‘आशा छ, यो चुनौतीसँग लड्न सक्छु,’ सिर्जना भन्छिन्, ‘फेरि अन्नपूर्ण उठाउन सक्छु कि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .