ad ad

कारोबार


‘सरकार चालु खर्च घटाउन र पुँजीगत खर्च बढाउन तयार भएन, बजेटमै ढाँटियो’

‘सरकार चालु खर्च घटाउन र पुँजीगत खर्च बढाउन तयार भएन, बजेटमै ढाँटियो’

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १४:५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सरकार आफैंले चालु खर्च कटौती गर्ने प्रतिवद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको बताए।

त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याए। 

उनले बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी गरे। 

‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्ब छ। आगामी आर्थिक वर्षको चालु खर्च ११ खर्व ४१ अर्ब प्रस्ताव गरिएको छ। अर्थात् चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी छ’, उनले भने, ‘यसरी चालु खर्च घटाउने दाबीलाई बजेट स्वयमले खण्डन गरेको छ। भन्दा चालु खर्च घटाउने भन्ने र गर्दा खर्च बढाएर बजेट प्रस्तुत भएको छ।’ 

उनले त्यसैगरी चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको बताए। 

‘आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ’, पौडेलले भने, ‘यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउछु भनेर घटाउने यो बजेटको चरित्र छ। बजेटमा जे बोलिएको छ। बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ।’

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिरसमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .