ad ad

कारोबार


‘अर्थतन्त्र मन्दीतर्फ छ, सरकार र केन्द्रीय बैंकको सम्वेदनशीलता आवश्यक’

‘अर्थतन्त्र मन्दीतर्फ छ, सरकार र केन्द्रीय बैंकको सम्वेदनशीलता आवश्यक’

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:४९, काठमाडौँ

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्बित गरेको उद्योग वाणिज्य महासंघले बताएको छ।

कार्यालयका अनुसार यस वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यससँगै पछिल्ला तीन त्रैमासिकमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघले बताएको हो। 
 

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत हो।’

महासंघले एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।

तर सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेको महासंघको दाबी छ। 

यस अवस्थामा सरकार र नेपाल राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता थप महसुस भएको छ।

अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने महासंघले बताएको छ।  उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेको हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौती गरी पुँजीगत खर्च बढाउन महासंघले आग्रह गरेको छ।

यसैगरी निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने महासंघको सुझाव छ।

केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्ने र पुराना ऋणीहरुले सावाँब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब चार प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरणको सुविधा दिइनुपर्ने महासंघले बताएको छ।

नौ महिनायता लगातार सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ।

निजी क्षेत्रले निर्बाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत सँगसँगै प्रभावित भइरहेकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिँदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रीय बैंकको सम्वेदनशीलताका लागि महासंघले जोडदार माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .