ad ad

कारोबार


४८ अर्ब ऋण भएको निगमले कसरी किन्छ ३ वटा नयाँ जहाज?

४८ अर्ब ऋण भएको निगमले कसरी किन्छ ३ वटा नयाँ जहाज?

नेपाल वायुसेवा निगमका साना जहाज (फाइल तस्बिर)


वसन्त अर्याल
बैशाख ७, २०८० बिहिबार १४:४९, काठमाडौँ

४८ अर्ब रुपैयाँ ऋण भएको नेपाल वायुसेवा निगमले ३ साना जहाज खरिद गर्ने निर्णय गरेको छ।

कोभिड महामारीको कारण २ वर्ष ब्याज र किस्ता समेत तिर्न नसकेको निगमले २ वटा जहाज खरिद गर्ने तयारी थालेको हो। 

वायुसेवा निगमले साना ‘स्टोल’ (सर्ट टेकअफ एन्ड ल्यान्डिङ)को लागि जहाज खरिद गर्ने निर्णय गरिसकेको छ। दुर्गमका साना विमानस्थलमा १६, १९, २५ र ३० सिटे जहाज हुन्छन्।  

नेपाल वायुसेवा निगमले ऋण नभई आन्तरिक स्रोतबाटै जहाज खरिद गर्ने जनाएको छ। 

नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चय कोषबीच २०७० असारमा २ वटा न्यारोबडी खरिदका लागि नेपाल सरकारको जमानीमा ९ अर्ब ९८ करोड रुपैयाँ ऋण लिएको थियो। निगमले २०७४ जेठमा एउटा वाइडबडी खरिदको लागि ११ अर्ब ९९ करोड रुपैयाँ ऋण लिएको थियो। 

त्यस्तै निगम र नागरिक लगानी कोषबीच २०७४ जेठमै नेपाल सरकारको जमानीमा १२ अर्ब रुपैयाँ ऋण सम्झौता भएको थियो।

कर्मचारी सञ्चय कोष, लगानी कोषसहित सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ, ब्याज र जरिवानासहितको ऋण दायित्व करिब ४८ अर्ब रुपैयाँ पुगेको छ। 

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वायुसेवा निगमले आफैँ साना जहाज खरिद गर्नसक्ने बताए। उनले साना जहाज खरिद गर्नको लागि कसैसँग ऋण माग गर्नु नपर्ने बताए। 

‘कोभिड महामारीको कारण केही अप्ठ्यारो परेको थियो। अहिले सहज हुँदै गइरहेको छ’, पौडेलले भने, ‘गत वर्ष सञ्चालन मुनाफा १ अर्बमाथि रहेको छ। ऋणको ब्याजसहित किस्ता पनि तिरेका छौँ।’

निगमको अहिलेको आम्दानीले साना जहाज खरिद गर्न सकिने उनी बताउँछन्। 

टेन्डर गरेर निगमले सिधै कम्पनीसँग खरिद गर्ने
नेपाल वायुसेवा निगमले उत्पादक कम्पनीसँगै सिधै जहाज खरिद गर्ने भएको छ। एजेन्टलाई बीचमा राख्दा बढी कमिसनको खेल हुने भन्दै निगमले उत्पादक कम्पनीसँग खरिद गर्ने दाबी गरेको छ।  

नेपालमा सबैभन्दा चर्चित १९ सिटे क्यानेडियन कम्पनीको ट्विनअटर जहाज छ। नेपाल वायुसेवा निगम र तारा एयरले ट्विनअटर जहाज सञ्चालन गरिरहेका छन्। बुद्ध एयरले समेत दुर्गम क्षेत्रको लागि ट्विनअटर जहाज खरिद गर्ने योजना अघि सारेको छ। 

समिट एयरले चेक रिपब्लिक मुख्य कार्यालय रहेको एयरक्राफ्ट इन्डस्ट्रिस (लेट)का उत्पादन सञ्चालन भइरहेका छन्। यी पनि १९ सिटे जहाज नै हुन्। 

सीता एयरले जर्मनको डोरिनर–२२८ जहाज सञ्चालन गरिरहेको छ। यसको पनि १९ वटा नै सिट छन्। 

‘कुन कम्पनीको जहाज खरिद गर्ने खुलाएका छैनौँ। टेन्डर आह्वान गर्दा नेपालको लागि उपयुक्त हुने जहाज ल्याउँछौँ’, पौडेलले भने, ‘प्रतिस्पर्धाबाटै पारदर्शी रुपमा जहाज खरिद गर्छौँ।’

निगमले टेन्डर आह्वानको लागि प्रक्रिया सुरु गरेको जनाएको छ। दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाइ कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्नसक्ने ३ वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाएको निगमको दाबी छ। 

निगमले १० वर्षे व्यावसायिक योजनाअनुरुप २०२२ मा आन्तरिकतर्फ ३ र २०२३ मा २ वटा दुर्गममा उडान गर्न जहाज खरिद गर्ने योजना बनाएको थियो।

जहाज किन्न उपसमिति गठन
निगमले जहाज खरिदको लागि ७ सदस्यीय उपसमिति गठन गरिसकेको छ। 

छिटो जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ।

उपसमितिले निगमको सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको र कार्य अघि बढाइसकेको छ।

नेपाल एयरलाइन्ससँग दुर्गममा उडान गर्ने ३ वटा ट्विनअटर जहाज रहेका छन्। तर २ वटा मात्रै सञ्चालनमा छन्। एउटा जहाज २०१२ देखि ग्राउन्डेड छ। डीएचसी–६/३०० सिरिजको जहाज सञ्चालन गरिरहेको छ। 

नियमित सञ्चालनमा रहेका २ वटा ट्विनअटर जहाज पनि ग्राउन्डेड हुने चल्ने भइरहन्छन्। यी सिरिजका जहाज ‘म्यानुअल्ली’ सञ्चालन हुन्छन्।

निगमले नयाँ खरिद गर्ने खोजेका जहाज डीएचसी–६/४०० सिरिजको जहाज नेभिगेसनलगायत आधुनिक फिचरहरु हुन्छन्। 

‘ट्विनअटरको डीएचसी–६/४०० खरिद गर्दा उपयुक्त हुन्छ’, निगमका एक अधिकारीले भने, ‘अटोमेटेडसहित आधुनिक फिचर्स हुँदा जहाज उडानमा  सुरक्षा चुनौती कम हुन्छ।’

४ वर्षमा नाफा, १४ वर्षमा सबै लगानी उठाउने
नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गरी ४ वर्षमै नाफामा लैजान सक्ने व्यावसायिक योजना बनाएको छ।

३ जहाज खरिद गर्न करिब साढे २ अर्ब रुपैयाँ लागत हुन्छ। ५ वर्षअघि नै निगमले ६ वटा जहाज खरिद गर्नको लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको थियो। अहिले ३ वटा आफैँ खरिद गर्ने जनाएको छ। 

‘४ वर्षमा किस्ता तिरेर नाफामा लैजान सकिन्छ’, निगमका ती अधिकारी भन्छन्, ‘१४ वर्षमा सबै लगानी उठाउने व्यावसायिक योजना छ।’

निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ।

मुख्यतः मुगु, डोल्पासहित सुदूरपश्चिमका पहाडी जिल्लामा बढी माग भइरहेको छ। नयाँ जहाज दुर्गमसहित बढी यात्रु हुने लुक्ला विमानस्थलमा समेत उडान गर्ने योजना छ। 

‘नेपालगन्जबाट हुम्ला, जुम्ला, डोल्पा, बाजुरा मागअनुसारको उडान हुनैसकेको छैन’, प्रवक्ता पौडेल भन्छन्, ‘सुदूरपश्चिमका पहाडी जिल्ला र पूर्वका पहाडी जिल्लामा उडान गर्न सकिन्छ।’

नेपालको आन्तरिक उडानमा बुद्ध एयरको ५६ प्रतिशत बजार हिस्सा र नेपाल एयरलाइन्सको १ प्रतिशत मात्रै हिस्सा छ। निगमले हप्तामा १५ गन्तव्यमा २५ वटा उडान गरिरहेको छ। 

निगमका प्रवक्ता पौडेलले नयाँ जहाज खरिद गर्दा पर्यटन प्रवर्द्धन हुने र निगमको उपस्थितिले बजार सन्तुलित भई हवाइ भाडादर केही हदसम्म घट्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .