ad ad

कारोबार


राजस्वमा सुधार नभएपछि ४ महिनामै भन्सार महानिर्देशक बुढाले मागे सरुवा

राजस्वमा सुधार नभएपछि ४ महिनामै भन्सार महानिर्देशक बुढाले मागे सरुवा

नेपालखबर
चैत २७, २०७९ सोमबार १७:६, काठमाडौँ

मंसिर अन्तिम साता भन्सार विभाग महानिर्देशकको जिम्मेवारी पाएका चक्रबहादुर बुढाले सरुवा मागेका छन्।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भन्सार विभागको जिम्मेवारीभन्दा बाहिर आउन चाहेको बताएका हुन्। 

चक्र बुढाको भन्सार विभाग आगमनसँगै सरकारले प्रतिबन्धित वस्तुको आयात खुल्ला गरेको थियो। त्यस्तै वस्तु आयातमा राखिएको नगद मार्जिनको व्यवस्था समेत हटाइएको थियो। 

तर वस्तु आयातलाई सहजीकरण गरिए पनि राजस्व बढ्नसकेको छैन। 

वस्तु आयातबाट गत वर्ष फागुन मसान्तसम्म ३ खर्ब ३३ अर्ब राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा झण्डै १ खर्ब कममात्र उठेको छ। यो वर्ष २ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको हो। 

चालू आर्थिक वर्षमा अर्थात् बुढा महानिर्देशक भएपछिको आयाततर्फको राजस्व मंसिर महिनासम्म १ खर्ब ५४ अर्ब संकलन भएको थियो। 

पुससम्म १ खर्ब ८२ अर्ब, माघसम्म २ खर्ब १२ अर्ब र फागुन महिनासम्ममा २ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। 

गत वर्षको सोही अवधिमा भने अहिलेभन्दा राजस्व संकलन धेरै थियो। 

गत आर्थिक वर्षको मंसिरसम्ममा २ खर्ब १७ अर्ब, पुससम्म २ खर्ब ५७ अर्ब, माघसम्म २ खर्ब ९३ अर्ब र फागुनसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। 

तथ्याङ्कअनुसार भन्सारतर्फको राजस्व सुधार नै नभएपछि महानिर्देशक बुढाले अहिले मन्त्रालयमा सरुवा मागिरहेका छन्। मन्त्रालय स्रोतका अनुसार उनले मन्त्रालयकै अन्य कुनै स्थान वा अन्य कतै जाने इच्छा देखाएका हुन्। 

भन्सारतर्फको राजस्व संकलनप्रति अहिलेका अर्थमन्त्री प्रकाशशरण महत पनि खुसी छैनन्। सँगसँगै बुढाको सक्रियता पनि नपुगेको अर्थमन्त्री महतको बुझाइ छ। 

आयातनिर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन अर्थमन्त्रीको निर्देशन
यसैबीच सोमबार अर्थमन्त्री महतले भन्सार नाकाबाट क्रमशः राजस्व कम हुँदै जानुको कारण माग गरेका छन्। 

भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयातनिर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन भनेका हुन्। 

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको हो, सोको वास्तविक तथ्याङ्क अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे।

उनले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार राजस्व घटेको छ। त्यो भन्सार नाकामा आयातको प्रगति के छ। त्यसको मूल्याङ्कन मलाई चाहिन्छ। कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए। जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ। कुन वस्तुको आयात कम भएर गयो कि अर्को नाकाबाट भएर गयो। त्यसको विवरण मलाई चाहियो।’ 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजस्व धेरै कम भएको बताए। 

‘त्यहाँ पनि राजस्व चुहावट भएको भन्ने व्यापक खबर छ। सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले यहाँहरुले गम्भीरताका साथ लिनुहोला’, उनले थपे, ‘मेरो लागि अन्य कुनै मूल्याङ्कनको आधारहरु छैनन्।’ 

अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने प्रमुख स्थान भन्सार विभाग भएको अर्थमन्त्री महतले बताए। उनले अर्थतन्त्रमा नतिजामुखी काम देखाउनको लागि सक्षम नेतृत्व आवश्यक रहेको पनि बताए। 

भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै मन्त्री महतले त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्यक रहेको बताए। 

उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए।

उनले भन्सारमा हुने चुहावट रोक्न राजस्व सचिव, भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताए। उनले राजस्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गरे। 

सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको उनको भनाइ छ। सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुनेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .