ad ad

कारोबार


सहकारीमा स्वनियमन नारामा मात्रै सीमित, प्रधानमन्त्रीले दिए व्यवहारमै लागू गर्न निर्देशन

सहकारीमा स्वनियमन नारामा मात्रै सीमित, प्रधानमन्त्रीले दिए व्यवहारमै लागू गर्न निर्देशन

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत २३, २०७९ बिहिबार १७:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । 

सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताए। 

सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निश्कर्ष निकाल्नु पर्ने धारणा राखे। 

‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्, यस चुनौतीपूर्ण अवस्थाबाट बाहिर निस्कन यो महासम्मेलनले उचित निष्कर्ष निकाल्नु पर्छ, सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्नु पर्छ’, प्रधानमन्त्री दाहालले भने। 

वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको बताउँदै बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने हामी सबैको दायित्व भएको बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन महासम्मेलन कोशेढुंगा सावित बताए । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताए । 

उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताए । 

उनले तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नुपर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुनेछ । 

‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ । विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ । 

सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तब्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ’, अध्यक्ष कडेलले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए । 

गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सिमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए । 

सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । 

‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गरेका थिए ।

आजबाट सुरु भएको महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्। महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .