ad ad

कारोबार


४ वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा मुनि, दोस्रो बजार जानेलाई अवसर

नबिल, एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डबीच प्रतिस्पर्धा, कुन बैंकको कति छ मूल्य?
४ वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा मुनि, दोस्रो बजार जानेलाई अवसर

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १५:३४, काठमाडौँ

पछिल्लो समय वाणिज्य बैंकहरु मर्ज भई २० मा सीमित भएका छन्। यही फागुन १२ गते हिमालयन र सिभिल बैंकले एकीकृत कारोबार सुरु गर्दै छन्। 

यता सनराइज र लक्ष्मी बैंकले पनि मर्ज हुन प्रारम्भिक सम्झौता (एमओयु) गरिसकेका छन्। यी चार बैंक मर्जपछि वाणिज्य बैंक १८ मा झर्नेछन्। संख्या घट्दै जाँदा समेत वाणिज्य बैंकको सेयरमूल्य निरन्तर घट्दै गइरहेको छ। 

फागुन १० गतेसम्म चार वाणिज्य बैंकको सेयरमूल्य २०० रुपैयाँभन्दा तल नै छ। पछिल्लो बजार कारोबारअनुसार प्रभु बैंकको सेयरमूल्य १८९ रुपैयाँ, सनराइज बैंकको १८९ रुपैयाँ, सिटिजन्स बैंकको १८६ रुपैयाँ र लक्ष्मी बैंकको सेयरमूल्य १९० रुपैयाँ छ। 

अन्य अधिकांश वाणिज्य बैंकहरुको सेयरमूल्य पनि २०० देखि ३०० रुपैयाँ प्रतिकित्ता हाराहारीमा छ। 

तीन वाणिज्य बैंकबीच प्रतिस्पर्धा 
एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकको सेयरमूल्य ५०० रुपैयाँमाथि छ। विदेशी लगानीका स्ट्यान्डर्ड र एभरेष्ट बैंकको सेयरमूल्य ५०० रुपैयाँमाथि नै छ। 

केही महिनाअघि नेप्सेमा नबिल बैंक अघि थियो। नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी बैंक ठूलो भएसँगै एनआईसीको माथि र नबिल बैंकको सेयरमूल्य तल आएको हो। 

हाल नबिल बैंकको सेयरमूल्य ६६२ रुपैयाँ, एभरेष्टको ५१३ रुपैयाँ र स्ट्यान्डर्डको ५१० रुपैयाँ छ। पछिल्लो समय बजार घट्दै जाँदा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य भने झन् उकालो लागिरहेको छ। 

वाणिज्य बैंकहरु मर्जरमा गएर ठूलो भइरहेको अवस्थामा करिब १०/१० अर्ब चुक्ता पुँजी भएका एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर बढ्नथालेको हो। 

एनआईसी एसिया बैंकको सेयरमूल्य सबैभन्दा धेरै 
वाणिज्य बैंकहरुमध्ये एनआईसी एसिया बैंकको सेयरमूल्य सबैभन्दा धेरै छ। एनआईसी एसियाको प्रतिकित्ता सेयरमूल्य ८१५ रुपैयाँ छ। 

वाणिज्य बैंकहरुमध्येको एनआईसी एसिया बैंकको सेयरमूल्य सर्वाधिक हो। बैंकले गत दुई वर्ष सेयरधनीलाई लाभांश नदिँदा पनि बैंकको सेयरमूल्य भने सबैभन्दा धेरै छ। 

बैंकले आर्थिक वर्ष २०७७/०७८ मा १५.७८ प्रतिशत लाभांश घोषणा गरेको थियो। बैंकले पुँजी कोष नपुर्याएका कारण राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। 

२०७८/०७९ मा पनि बैंकको पुँजी कोष नपुग्दा लाभांश वितरण गर्न पाएन। दुई वर्ष निरन्तर लाभांश नपाए पनि बैंकका लगानीकर्ता भने आत्तिएका छैनन्। 

लगानीकर्ता अर्को वर्षको लागि प्रतीक्षारत देखिँदा बैंकको सेयरमूल्य नघटेको देखिएको छ। 

राष्ट्र बैंकका अनुसार प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत पुर्याए पनि लाभांश बाँड्न बैंकहरूले पुँजी कोष अनुपात १२ प्रतिशतमा अनिवार्य पुर्याउनैपर्छ। 

तर, एनआईसी एसिया बैंकको २०७७/०७८ मा बैंकको पुँजी अनुपात (सीसीएआर) ८.९३ प्रतिशत मात्रै रहेको थियो। 

सो आर्थिक वर्षका बीचको अवधिमा पनि बैंकले यस्तो अनुपात ८ प्रतिशतभन्दा माथि पुर्याउनसकेको थिएन। आर्थिक वर्ष २०७८/७९ को असोजमा यस्तो अनुपात ७.३० प्रतिशतमा रहेकोमा सोही वर्षको पुसमा ७.८० र चैतमा ८.४ प्रतिशत रहेको थियो। 

अन्तिम त्रैमासिकको असारमा भने थोरै बढेर ८.९३ प्रतिशतमा पुगे पनि लाभांश वितरण गर्नसक्ने सीमामा भने नपुगेको हो।

१० वाणिज्य बैंकको सेयरमूल्य ३०० भन्दा कम 
दश वाणिज्य बैंकको सेयरमूल्य २ सयदेखि ३०० रुपैयाँको हाराहारीमा छ। 

ग्लोबल आईएमई, नेपाल बैंक, सिभिल, सानिमा, कृषि विकास बैंक, प्राइम कमर्सियल, हिमालयन, माछापुच्छ्रे, सिद्धार्थ र एनएमबी बैंकको सेयरमूल्य २०० रुपैयाँ हाराहारीमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .