ad ad

कारोबार


समस्याग्रस्त दुई सहकारीको फाइल सीआईबीले अनुसन्धान गर्ने

समितिलाई सम्पत्ति र कर्जा लगानी विवरण नदिने चलनले अनुसन्धानमा समस्या
समस्याग्रस्त दुई सहकारीको फाइल सीआईबीले अनुसन्धान गर्ने

फाइल तस्बिर


केशर बोगटी
माघ २४, २०७९ मंगलबार ७:३१, काठमाडौँ

सरकारले समस्याग्रस्त घोषणा गरेका दुई सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइने भएको छ। 

भेगास बचत तथा ऋण सहकारी र कञ्जुमर बचत तथा ऋण सहकारीको फाइल सीआईबीमा पठाउन लागिएको हो। 

सरकारले भेगास बचत तथा ऋण सहकारी र कञ्जुमर बचत तथा ऋण सहकारीलाई २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो।

सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ असार १८ गते दुवै सहकारीलाई समस्याग्रस्त घोषित गरेको थियो। 

समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र सदस्यको बचत फिर्ता गर्ने काम सहकारी व्यवस्थापनको कार्यालयले गर्ने गरेको छ। 

हाल समस्याग्रस्त १२ सहकारीहरूको सम्पत्ति व्यवस्थापन र सदस्यको बचत फिर्ता गर्ने काम सहकारी व्यवस्थापनको कार्यालयले गरिरहेको छ। 

समस्याग्रस्त घोषणा गरिएको ४ वर्षसम्म सहकारीका सम्पत्ति, कर्जा लगानीका डेटा नभेटिएपछि सहकारीको फाइल सीआईबीमा पठाउन लागिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले जानकारी दिए। 

‘समस्याग्रस्त भेगास र कञ्जुमर सहकारीको चल/अचल सम्पत्ति, कर्जा लगानीलगायतका कुनै पनि विवरण फेला पार्न नसकेकाले फाइल खोजिदिन सीआईबीलाई गुहार्नलागेका छौँ’, उनले भने। 

हालसम्म दुवै सहकारीको कुनै विवरण फेला नपरेको पौडेलको भनाइ छ। 

‘सहकारी समस्याग्रस्त घोषणा गर्नुपहिले उसको चल/अचल सम्पत्ति रोक्का गरिनुपर्छ’, उनले भने, ‘तर यी दुई सहकारीको सम्पत्ति, कर्जा लगानी रहेको कुनै फाइल दिइएको छैन र भेटेका पनि छैनौँ।’

सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा उसको सम्पत्ति र कर्जा लगानी विवरण उपलब्ध गराए समितिलाई काम गर्न सजिले हुने पौडेल बताउँछन्। 

‘दुवै सहकारीको प्रतिवेदन बनाउँदै छौँ’, उनले थपे, ‘फाइल थन्काएर राख्नुभन्दा सीआईबीमा पठाउन लागेका हौँ।’

सहकारीले मूल्य मान्यताविपरीत रहेर धेरै नाफा कमाउने उद्देश्यका साथ लगानी  गर्दा पछिल्लो समय समस्या बढ्दै गएको जानकार बताउँछन्। 

सहकारीको दायराभित्र रहेर काम गर्ने सहकारी भने समस्या नदेखिएको पौडलको भनाइ छ। 

‘सरकारको सहकारी समस्याग्रस्त घोषणा प्रक्रिया छैन’, उनले भने, ‘सरकारले समस्याग्रस्त ठाडो भरमा गर्ने भएकाले पछि काम गर्न असजिलो हुन्छ।’

उनका अनुसार सरकारले सहकारीका सञ्चालक, कागजपत्र, ऋणीका फाइल कहाँ छन्, ती फाइल सिज गरेर सहकारी व्यवस्थापन समितिमा पठाउनुपर्छ।

‘समस्याग्रस्त घोषणा गर्दै सुसज्जित भएर आउँदा मात्र बचतकर्ताको पैसा फिर्ता गर्न सकिन्छ’, पौडेलले भने। 

भेगास बचत तथा ऋण सहकारीका १९ जना बचतकर्ताले ३ करोड ५४ लाख मागदाबीसहित उजुरी दिएका छन्। 

त्यसैगरी कञ्जुमर बचत तथा ऋण सहकारीका ५९ बचतकर्ताले ८ करोड ६७ लाख रुपैयाँको मागदाबी गरेका छन्। सहकारी समस्याग्रस्त भएको ४ वर्षसम्म दुवै सहकारीको कागजात फेला परेको छैन। 

सहकारी विभागले समस्याग्रस्त घोषणा गर्दा सहकारीमा सञ्चालक र उनीहरुको सम्पत्ति रोक्का नगर्दा बचतकताले बचत फिर्ता पाउने छाँटकाँट देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .