गुल्मीको रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफल भएको छ ।
आज बिहान ११: १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२:०० अवतरण भएको थियो।
यसअघि पनि २०७५ जेठ २५ गते तारा एअरले नै टेष्ट फ्लाइट गरेको थियो। उक्त वायुयानलाई तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले उडान गरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक व्यक्तित्व, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहेका थिए ।

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेछ।
नियमित उडानका लागि भने कम्तीमा २ देखि ३ साता लाग्नेछ। यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।
दुर्गम उडान नियमित गर्न परेको समस्या
दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा सधैँ यी क्षेत्रका उडानहरु अनियमित हुने गरेका छन्।
हवाइ इन्धन अत्यधिक महंगो हुनु, दुईतर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्किनुपर्ने अवस्था तथा राज्यको तर्फबाट कुनै पनि किसिमको सहुलियत नहुँदा यी क्षेत्रका उडान महँगो पर्न गएकोले यात्रु तथा वायुसेवा दुवैलाई आर्थिक भार पर्न गएको एयरलाइन्सले जनाएकाे छ।

दुर्गम क्षेत्रमा बनेका कतिपय विमानस्थलहरु पनि पूर्णरुपले भौतिक पूर्वाधारयुक्त छैनन, ती विमानस्थलमा हुनुपर्ने आवश्यक नेभिगेसन उपकरण, यात्रु टर्मिनल भवन तथा तारबार नहुँदा सुरक्षा जोखिम बढेको छ भने विमानस्थल तथा इनरुटको मौसमको जानकारी दिने आधुनिक उपकरण नहुँदा उडानका लागि पर्याप्त जानकारीको अभावमा जोखिमपूर्ण उडान गर्नुपर्ने अवस्था छ।
राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाउने हो भने यो क्षेत्रको उडान सदाको लागि बन्द हुने अवस्था रहन्छ।


Shares

प्रतिक्रिया