कारोबार


अर्धवार्षिक क्लोजिङले बैंकले ऋण दिएनन्, ब्याज महंगिँदा लगानीकर्ता पनि बैंक गएनन्

एक हप्तामा ८० करोड मात्रै लगानी
अर्धवार्षिक क्लोजिङले बैंकले ऋण दिएनन्, ब्याज महंगिँदा लगानीकर्ता पनि बैंक गएनन्

नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:१०, काठमाडौँ

पुसको पहिलो हप्ता बैंक तथा वित्तीय संस्थाको लगानी निराशाजनक देखिएको छ। 

वाणिज्य बैंकहरुले एक हप्तामा जम्मा ८० करोड रुपैयाँ मात्रै लगानी गरेका हुन्। सोही एक हप्तामा २६ वटा वाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

नेपाल बैंकर्स संघले दिएको तथ्याङ्कअनुसार बैंकहरुमा निक्षेप थपिने क्रम बढेको भए पनि कर्जा विस्तार हुनसकेको छैन।

पुस ८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी सो अवधिसम्ममा कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुले मंसिर महिनामा मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। मंसिर महिनामा पनि बैंकहरुले २ अर्ब २ करोड रुपैयाँ मात्र लगानी गरेको संघले जनाएको छ। 

मंसिर महिनामा औसत कर्जा निक्षेप अनुपात ८६ दशमलव ४ प्रतिशत रहेकोमा पुसको पहिलो सातामा झनै घटेर ८६ दशमलव ०६ प्रतिशतमा पुगेको संघले उपलब्ध गराएको  तथ्याङ्कले देखाएको छ। 

उच्च ब्याजदरका कारण कर्जाको माग नहुनु तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले निक्षेपमा सुधार बढोत्तरी आएको हो।

एक वाणिज्य बैंकका सीईओले नेपालखबरसँग भने, ‘पछिल्लो समय बैंकको लगानी विस्तारमा एक प्रकारको ठप्पजस्तै छ। त्यसो हुनुमा स्वाभाविक कारणहरु छन्।’
उनका अनुसार पछिल्लो समय बैंकको ब्याजदर वृद्धि भएको छ। त्यसकारण ऋणीहरु ऋण माग्न नै बैंक आउने गरेका छैनन्। यो नै मुख्य कारण हो। 

त्यसको अलावा पुस महिना बैंक आफैँले लगानी गर्ने टाइम पनि होइन अर्धवार्षिक क्लोजिङको समय हो। त्यो पहिलो हप्ता नै त हुँदैन तर पनि निक्षेप कर्जा अनुपात मिलाउनको लागि पनि यो धेरै बैंकहरुले कर्जा प्रवाह रोकिरहेको उनले बताए। 

यता निक्षेप वृद्धिचाहिँ धेरै भएको छ। एक हप्ता अवधिमै २० अर्ब २६ वटा वाणिज्य बैंकमा थपिएको छ। पुस १ गतेसम्म ४६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहकोमा ८ गतेसम्म आइपुग्दा ४६ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यसरी वृद्धि हुनुमा मुद्दती निक्षेपमा निक्षेपकर्ता आकर्षित भएको उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .