ad ad

कारोबार


७ वर्षयता अलपत्र जोरपाटी–साँखु सडकमा कालोपत्रे सुरु

७ वर्षयता अलपत्र जोरपाटी–साँखु सडकमा कालोपत्रे सुरु

जोरपाटी सडक। (फाइल तस्बिर)


नेपालखबर
पुस १, २०७९ शुक्रबार १७:५५, काठमाडौँ

जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे निर्माण सुरु भएको छ। 

समयमै काम नभएको भन्दै स्थानीयले आन्दोलन गरेपछि जोरपाटी थली खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको हो। 

सरकारले ठेक्का लगाएको ७ वर्ष बितिसक्दा पनि कालोपत्रे हुनसकेको थिएन। सुरुमा मुआब्जाको कारण निर्माण रोकिए पनि सरकारले जति खाली छ त्यहाँ कालोपत्रे गर्ने निर्णयपछि पनि कालोपत्रे हुनसकेको थिएन। 

मुआब्जाकै कारण कलंकी–थानकोट सडकखण्ड पनि रोकिएको थियो। तर जुन ठाउँ खाली छ त्यहाँ कालोपत्रे गरिएको छ। चाबहिल–साँखुखण्डको भने विभिन्न कारण कालोपत्रे हुन नसकेको हो। 

सडकखण्डको घर मात्रै नभई जग्गा विवाद ठूलो रहेको छ। सरकारले सडक निर्माण गर्दा घर र जग्गा दुवै सकिने भए मात्रै मुआब्जा दिने बताउँदै आएको छ। तर स्थानीयबासीले घरको क्षतिपूर्ति तथा जग्गाको मुआब्जा दिनुपर्ने भन्दै अदालतमा मुद्दा हालेका छन्। 

सडक विस्तार आयोजनाले बुधबारबाट कालोपत्रे सुरु भएको जानकारी दिएको छ। 

‘निर्माणको काम त भइरहेकै थियो। कालोपत्रे हुनसकेको थिएन’, आयोजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘बुधबारबाट खाली भएको ठाउँमा कालोपत्रे सुरु भएको छ।’

उनले अब विवाद नभएको ठाउँमा मात्रै कालोपत्रे हुने बताए। उक्त सडक खण्डका केही मुद्दा विचाराधीन छन् भने केहीमा मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न अदालतले आदेश दिएको छ। 

१ हप्ताअघिबाट स्थानीयले बाटो कालोपत्रे छिटो गर्न माग गर्दै आन्दोलन थालेका थिए। स्थानीयले बाटो नै अवरोध समेत गरे। उक्त क्षेत्रबाट नवनिर्वाचित सांसद सोबिता गौतमले समेत सडक विस्तार आयोजना प्रमुखलाई भेटी छिटो कालोपत्रेको काम सुरु गर्न दबाब दिएकी थिइन्। 

कालोपत्रे सुरु भएपछि सांसद गौतमले खुसी व्यक्त गरेकी छन्। 

‘जोरपाटी–थली–साँखु सडक खण्डअन्तर्गत पर्ने लामो समयदेखि चासोको विषय रहेको जोरपाटी–थली सडक कालोपत्रे हुन सुरु भएको छ’, सोबिताले भनिन्, ‘नेपालभर यस्ता समयमा कालोपत्रे हुन नसकेका धेरै बाटोहरु छन्। वर्षाैँदेखि सडकको धूलो खाएर श्वासप्रश्वासको रोगी भएका आम सर्वसाधारणको एक–एक थोपा आँशुको दोष कसले लिन्छ?’

उनले सडक विभाग र निर्माण व्यवसायीका अप्ठ्याराका विषयमा समेत राजनीति हुने गरेको बताइन्। सांसद गौतमले सडक कालोपत्रे सुरु कुनै एक व्यक्तिको पहलमा मात्र नभएको बताइन्। 

काठमाडौं उपत्यका सडक विस्तार योजनाका सिनियर डिभिजन इन्जिनियर कृष्णनाथ ओझा, इन्जिनियर आनन्द जोशीसँग कार्य प्रगतिबारे छलफल गर्दै सांसद सोबिता गौतम।

१२ किलोमिटर सडक, ७ वर्षसम्म पनि सकिएन
२०७२ मा चाबहिलदेखि साँखुसम्म करिब १२ किलोमिटर सडक ठेक्का लगाइएको थियो। ५ खण्डमा ठेक्का लगाएकोमा २ वटा खण्ड करिब सकिएका छन्। ३ वटा खण्डको काम भने बाँकी छ। 

चाबहिलबाट बागमती पुलसम्मको ३.६ किमि खण्डमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिले र सलम्बुटारदेखि साँखुसम्मको एक किमि सडकमा लामा/समानान्तर जेभीले ठेक्का पाएको थियो। यी खण्डको काम करिब सम्पन्न भएको छ। 

‘विवाद भएका ठाउँमा छाडेर कालोपत्रे भएका हुन्। यी खण्डमा पनि विस्तारको काम हुनसकेको छैन’, उनले भने। 

३ वटा खण्डको काम धिमा गतिमा भइरहेको छ। दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमि दूरीमा बज्रगुरु/च्याङमिला/खानी जेभीको ठेक्का छ। 

थलीबाट डाँछी तीन किमि दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभीले काम गरिरहेको छ। डाँछीबाट सलम्बुटार वनको बीचको २.४ किमि सडकसम्म बिटी/सुनकोशी/वर्ल्डवाइड जेभीले काम गरिरहेको छ।  

सडक विस्तार आयोजनाका अनुसार उक्त सडकखण्डको घर मात्रै नभई जग्गा विवाद ठूलो रहेको छ। सरकारले सडक निर्माण गर्दा घर र जग्गा दुवै सकिने भए मात्रै मुआब्जा दिने उल्लेख गरेको छ। 

तर स्थानीयबासीले घरको क्षतिपूर्ति तथा जग्गाको मुआब्जा दिनुपर्ने भन्दै अदालतमा मुद्दा हालेका छन्।  

आयोजना प्रमुख ओझाले सडक कालोपत्रे कहिले सकिने भन्न सकिने अवस्थामा नरहेको बताए। आवश्यक परे अझै म्याद थप हुनसक्ने बताए। उनले विवाद रहेको ठाउँमा कालोपत्रे नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .