साउनको तुलनामा भदौमा रेमिट्यान्स आप्रवाह वृद्धि भएको छ। साउन महिनामा भन्दा भदौमा २ अर्ब रुपैयाँ रेमिट्यान्स बढेको हो। साउनमा ९२ अर्ब रुपैयाँ २१ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा भदौमा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत आर्थिक वर्षका साउन र भदौ महिना र चालू आर्थिक वर्षका साउन र भदौ महिनाको तुलना गर्ने हो भने विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई रु १८७ अर्ब ४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।
चालू आर्थिक वर्षको दुई महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशत वृद्धि भई १,०३,८९८ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशत वृद्धि भई ३९,१८९ पुगेको छ।
Shares
प्रतिक्रिया