ad ad

कारोबार


अन्डा उत्पादक  व्यवसायी पलायन हुने अवस्थामा

अन्डा उत्पादक  व्यवसायी पलायन हुने अवस्थामा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ९:६, चितवन

बजार अस्थिर भएपछि अन्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन्। अन्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन्।

आत्मनिर्भर रहेको अन्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कातर्फ उपभोक्ताले सुलभ मूल्यमा अन्डा उपभोग गर्न पाएका छैनन्। सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अन्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन।

अन्डा बजारका यावत् समस्या समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माण गरेर काम सुरु गरेका हन्। उनीहरूले ३० हजारभन्दा बढी अन्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म सङ्गठित भएर ‘नेपाल लेयर्स कुखुरापालक सङ्घ’ गठन गरेका हुन्।

लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकतर व्यवसायी धरासायी अवस्थामा पुगेका छन्। कतिपयको बैंकमा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ।

नवगठित सङ्घका अध्यक्ष विनोद पोखरेल अस्थिर बजारका कारण अधिकतर व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी दिए। नवलपरासीमा चार लाख लेयर्स कुखुरा पालिरहेका दाउन्ने कर्पोरेशनका कार्यकारी निर्देशकसमेत रहेका उनले समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताए। 

दैनिक दुई लाख ३१ हजार अन्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाइरहेको जनाउँदै उनले अहिलेको लागत मूल्यमा अन्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान बेहाेर्नुपरेको बताए। सङ्घले छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अन्डाको खपत बढाउने कुरामा लाग्ने उनको भनाइ छ।

बैंकको चर्को ब्याजदरलाई घटाउन पहल गर्ने उनी बताउँछन्। उनले भने, ‘अब हामीले समयमै पहलकदमी गरेनौँ भने हामी व्यवसायी विस्थापित मात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ।’

एक प्रतिशत भन्सार मूल्य तिरिरहेको भटमास पिनाको भन्सार मूल्य नौ प्रतिशत हुँदा लागत मूल्य बढेको उनको भनाइ छ। 

सङ्घका संरक्षक एवं नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट हाल अन्डाको ८० प्रतिशत उत्पादन गर्ने व्यवसायी सङ्घमा रहेको जनाउँदै लागत मूल्य घटाएर उत्पादन बढाइ बजारीकरण गर्न सङ्घ लाग्ने बताए।

महासङ्घसँग सहकार्य गरेर खपत बढाउने काममा लाग्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको जनाउँदै उनले सङ्गठित भएर व्यवसाय बचाउनुपर्नेमा जोड दिए। 

सङ्घका महासचिव शोभाकान्त ढकाल करिब–करिब यो व्यवसाय समाप्त हुने अवस्थामा पुगेपछि सङ्गठित भएको बताउँछन्। स्याङ्जा जिल्लामा खिलुङ कालिका फार्ममा दुई लाख ५० हजार कुखुरा पालिरहेका ढकालले दैनिक एक लाख ७० हजार अन्डा बजारमा बिक्री गरिरहेका छन्। उनका भनाइमा अहिले अन्डामा लागत मूल्य प्रतिगोटा रु १५ छ भने बिक्री मूल्य रु १० मात्रै छ। एउटै अन्डामा रु ५ देखि ६ सम्म नोक्सान बेहाेर्दा व्यवसायी विस्थापन हुने अवस्थामा पुगेको उनी गुनासो गर्छन्।

दानाको कच्चा पदार्थको मूल्य र बैंकको ब्याज घटाउन नसकेमा व्यवसायी नटिक्ने उनको भनाइ छ। उनले भने, ‘सरकारले व्यवसायीको मर्का बुझेको छैन। हामी आफैँ सङ्गठित भएर समस्या समाधानतर्फ लागेका छौँ।’

बिजु ग्रुपबाट सञ्चालित दुम्किबास पोल्ट्री फार्मका अप्रेसनल म्यानेजर एवं सङ्घका सदस्य सञ्जिव खनाल अन्डाको लागत मूल्यभन्दा अन्डाको बिक्री मूल्य कम भएपछि बजारलाई व्यवस्थित गर्न सङ्गठित हुनुपरेको बताउँछन्। 

उनले भने, ‘१५ वर्षअघिको अन्डाको मूल्य अहिले पनि उही छ, लागत मूल्य धेरै बढिसक्यो।’

७८ प्रतिशत अन्डाको लागत दानामा निर्भर हुने भन्दै उनले यसको मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनामा लगाइएको भन्सारका कारण दानाको मूल्य आकाशिएको बताए।

एक वर्षयता लगातार रूपमा नोक्सान बेहाेरिहनुपरेको उनको भनाइ छ। हाल चार लाख लेयर्स कुखुराबाट दैनिक दुई लाख १० हजार अन्डा उत्पादन भइरहेको छ।  

ठूला व्यवसायी सङ्गठित भएर लाग्नुपर्ने अवस्था आएको सङ्घका सचिव मदन पोखरेल बताउँछन्। 

उनले भने, ‘अब व्यवसायी र सरकार सहकार्य गर्न नसके नेपालको पोल्ट्री व्यवसाय समाप्त हुन्छ।’

नेपालको पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी छ। यसको झण्डै आधा लेयर्स कुखुरापालनमा छ। अहिले दैनिक ४५ लाख हाराहारी अन्डा उत्पादन भइरहेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .