कारोबार


शासकको सन्कीपनले मुलुक संकटमा पर्छ, थिंकट्यांकका सुझाव मनन गरौँ : स्वर्णिम वाग्ले

शासकको सन्कीपनले मुलुक संकटमा पर्छ, थिंकट्यांकका सुझाव मनन गरौँ : स्वर्णिम वाग्ले

नेपालखबर
असोज ९, २०७९ आइतबार १८:१६, काठमाडौँ

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन्। 

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानीनोक्शानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए। उनले श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए। 

पूर्व उपाध्यक्ष वाग्लेले श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए। उनले नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे। उनले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए। उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यकता औँल्याए। पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुचलायमान भइरहनुपर्ने आवश्यकता रहेको भन्दै विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताए। 

उनले भने, ‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरुले। त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ। यस्ता कुराहरु पनि थिङ्क ट्याङ्कहरुले बोल्दिनुपर्छ। मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंका जस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ। मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण जिरो। कस्ताकस्ता निर्णयहरु गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरुमा पनि थिङ्क ट्याङ्कहरुको कमी भएको देखियो।’ 

त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भूमिका खेलेको उनको भनाइ छ। 

‘जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुकिदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो। त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो’, उनले थपे। 

यस्तो निर्णयमा कुनैपनि थिङ्क ट्याङ्कहरुको गहिरो पृष्ठपोषण भएर वहस भएन। यस्ता नीति निर्माण गर्दा पारदर्शी बनाउनुपर्ने उनले बताए। 

‘विश्वसनीयता र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरुको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ’, उनले भने, ‘थिङ्क ट्याङ्कहरु पनि इन आइसोलेसन रहने होइन। पश्चिमा मुलुकहरुबाट हामीले सिक्न जरुरी छ। विश्वविद्यालय भित्र थिङ्क ट्याङ्कहरुलाई सस्टेन गर्ने, पब्लिक फण्डिङबाट सस्टेन गर्ने हो।’

पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .