ad ad

कारोबार


ई–सिममा ग्राहकको चासो : कस्तो मोबाइलमा चल्छ?

ई–सिममा ग्राहकको चासो : कस्तो मोबाइलमा चल्छ?

वसन्त अर्याल
असोज ५, २०७९ बुधबार १३:१०, काठमाडौँ

भदौ ३१ गते ई–सिम लञ्च गरेको नेपाल टेलिकमले ग्राहकको चासो बढेसँगै थप कार्यालयबाट वितरण सुरु गरेको छ। 

मंगलबारबाट काठमाडौंका ९ वटा कार्यालयले सिम वितरण गर्नथालेका हुन्। 

सुन्धारास्थित टेलिकमको ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम ४ गतेबाट नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, पुल्चोक र छाउनीबाट पाइनथालेको हो। 

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेजस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। 

यसलाई ‘इम्बेडेड सिम’ पनि भनिन्छ। जुन मोबाइलभित्रै जडान भएको हुन्छ। यसबाट फोन गर्ने र डाटा चलाउनेलगायत सेवा प्रयोग गर्न सकिन्छ। 

हाल प्लाष्टिकका कार्डमा चिप जडान गरी मोबाइलमा प्रयोग गरिँदै आएको छ। 

टेलिकमले वितरण सुरु गरेका ई–सिमलाई डिजिटल रुपमा प्रयोग गर्न सकिन्छ। यसका लागि मोबाइलमा छुट्टै सिम राख्ने ठाउँ चाहिँदैन।

मोबाइल उत्पादक कम्पनीले इम्बेडेड सिम नै जडान गरेका हुन्छन्। ई–सिम प्रयोग कम्प्युटर डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ।  

विश्वका विभिन्न देशमा ई–सिम पहिलेदेखि नै सञ्चालनमा आएको थियो। ई–सिम प्रयोगकर्ताले सफ्टवेयर डाउनलोड गरी एक्टिभ गर्नुपर्छ। हाल विभिन्न कम्पनीले ई–सिम प्रयोग गर्न सक्ने गरी मोबाइलको डिजाइन गरेका छन्। एकै पटक २ वटा सिम प्रयोग गरेजस्तो २ वटा प्रयोग गर्न सकिन्छ।

ई–सिम अनलाइनबाटै पनि खरिद गर्न सकिन्छ। विदेशमा ई–सिम भौतिक रुपमा राख्न नपर्ने हुँदा सिम प्रयोगका लागि कार्यालय धाउनुपर्दैन। तर नेपालमा भने नेपाल टेलिकमले आफ्ना कार्यालयमा उपस्थित गराएर मात्रै ई–सिम एक्टिभेट गराउँदै आएको छ। 

‘हाम्रोमा एउटाको नाममा सिम हुन्छ अर्कोले प्रयोग गर्दै आएका छन्’, नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले भने, ‘ई–सिमको लागि ग्राहकको विवरण सही हुनुपर्छ। अहिले विवरण संकलनको लागि नै कार्यालयबाट ई–सिम वितरण गरिएको हो।’

उनले भविष्यमा घरमै बसेर पनि ई–सिम लिन सकिने बताए। 

सहप्रवक्ता लोहियाले मंगलबारबाट ९ वटै काउन्टरमा ग्राहक पुग्नथालेको जानकारी दिएका छन्। टेलिकमले ई–सिम सार्वजनिक गरेसँगै ग्राहकले कार्यालय धाउन थालेका छन्। 

नेपाल टेलिकमले ई–सिम लञ्च गरेसँगै केही प्रयोगकर्ताले त्यसको प्रयोग सुरु गरिसकेका छन्। ई–सिम चल्ने मोबाइलमा नयाँ नेटवर्क थप्न र हटाउन सक्छन्।  

कस्तो मोबाइलमा चल्छ ई–सिम?
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ। 

त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान टेलिकमले आग्रह गरेको छ। 

यसका लागि आफ्नो मोबाइलबाट स्टारह्यास०६ह्यास डायल गर्नुपर्छ। यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ। तर आईएमईआई मात्रै देखायो भने ई–सिम चल्दैन। 

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिने लोहिया बताउँछन्। आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ। 

नेपाल टेलिकमका केही सेवाग्राहीले ई–सिम प्रयोग गर्न खोज्दा पुरानो सिमले पनि काम नगरेको गुनासो आउन थालेका छन्। उनीहरुले नयाँ नम्बर लिनुपर्ने अवस्था आएको छ। लोहिया भने केही मोबाइलमा समस्या आएको स्वीकार गरे।

‘विदेशमा ई–सिम लक गरेको हुनसक्छ। त्यस्तोमा नचल्न सक्छ’, सहप्रवक्ता लोहियाले भने, ‘गुगल पिक्सेलका मोबाइलमा नेटवर्क लक भएको हुँदा नचल्ने समस्या हुनसक्छ।’

यी कम्पनी र मोडलमा चल्छ ई–सिम
सामान्यतया पछिल्लो समय सार्वजनिक भएका आईफोनका एक्सआरमाथिका सिरिज, सामसङका ग्यालेक्सी एस २० सिरिजका सिम, गुगल पिक्सल २ माथिका सिरिज, हुवावे पी ४० प्रो लगायतका मोबाइलमा ई–सिम चल्छ। 

पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग मौज्दात रहेको जनाएको छ। नेपाल टेलिकमले मोन्टी युके ग्लोबर लिमिटेडसँग ई–सिम प्लाटफर्म विकासको लागि सम्झौता गरेको थियो।

पोस्टपेड र प्रिपेड सिम निःशुल्क परिवर्तन गर्नसक्ने 
नेपाल टेलिकमको भौतिक सिम प्रयोग गरिरहेका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सक्नेछन्।    

नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ। नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने केही समयपछि उपलब्ध गराउने टेलिकमले जनाएको छ।  

ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ। 

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्नेछ। 

विदेश भम्रणमा जाँदा समेत ग्राहकले भौतिक रुपमा नयाँ सिम परिवर्तन गर्नुपर्दैन। त्यहाँको नेटवर्क लिंक गरे मोबाइल चल्छ। ई–सिम सानो डिभाइसमा साना डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ। 

छिमेकी मुलुक भारतमा एयरटेलले २०१९ मा यो ई–सिमको सुरुवात गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .