कारोबार


सेल्सबेरीका ‘मिटरब्याजी’ प्रधानांग : जसले व्यवसायी अग्रवाललाई जेल पुर्‍याए

सेल्सबेरीका ‘मिटरब्याजी’ प्रधानांग : जसले व्यवसायी अग्रवाललाई जेल पुर्‍याए

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:१२, काठमाडौँ

चर्चित मदिरा व्यवसायी दाजुभाइ हुन् अमित र अभिषेक अग्रवाल। करोडौँ ऋण टाउकोमा बोकेका उनीहरु अहिले बैंकहरुलाई ऋण तिर्न लागिपरेका छन्। 

उनीहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० करोड, एभरेष्ट बैंकको २० करोड, मेगा बैंकको २४ करोड, ग्लोबल आईएमई बैंकको ७ करोड रुपैयाँ ऋण तिर्नु छ। व्यवहार सल्टाउन बैंकले थालेका धितो लिलामी प्रक्रियामा सहयोग गरिरहेका छन्। 

ग्रिनलाई सेन्टर प्रालि नामक चर्चित मदिरा बिक्री केन्द्रलगायतका व्यवसायमा संलग्न उनीहरुको व्यापार डुबेपछि बैंकहरुले धितो लिलामी प्रक्रिया अपनाएका थिए।

बैंकको ऋण सल्टिने प्रक्रियामा जाँदा उनीहरुको कुल ऋण अझै सकिएको छैन। केही व्यवसायी र उच्च ओहोदाका व्यक्तिहरुबाट लिएको चर्को ब्याजदर (मिटर ब्याज) को ऋण बाँकी नै छ। 

गत पुसमा अमित पक्राउ परे। उनी बैंकको ऋण तिर्न नसकेर भन्दा पनि मिटर ब्याजमा लिएको ऋणका कारण जेल जानुपरेको थियो। चर्को ब्याज असुल्ने गरी ऋण दिएकाहरुले उनलाई ठूलो दबाब दिइरहेका थिए। यही सिलसिलामा उनले खातामा नभएको पैसाको पनि चेक दिए।  

पैसा नभएको खाताको चेक काटेपछि चेक बाउन्स भयो। त्यसपछि प्रहरीमा चेक बाउन्सको उजुरी पर्यो। व्यवसायीद्वय सञ्जय अधिकारी र टंक शमशेरले उनीविरुद्ध उजुरी दिएका थिए। त्यही आधारमा उनलाई प्रहरीले गत पुसमा पक्राउ गरेको थियो।

उजुरीमा व्यवसायी अधिकारीको ५० लाख रुपैयाँको चेक नसाटिएको र टंक शमशेरको १ करोड ५० लाख बराबरको चेकहरु बाउन्स भएको उल्लेख छ। त्यस्तै अन्य धेरै व्यक्तिहरुको समेत उनले पैसा तिर्नुपर्ने देखिएको छ। उनले नै १ अर्ब हाराहरीमा ऋण रहेको स्वीकार गरेका थिए। 

सेल्सबेरीका ‘मिटरब्याजी’ प्रधानांग
अमित अग्रवाल तथा अभिषेक अग्रवाललाई मिटर ब्याजमा धेरै पैसा लगाउने मुख्य व्यक्ति नै सेल्सबेरीका सञ्चालक सुशील प्रधानांग रहेको खुलासा भएको छ। 

प्रधानांगसँग अग्रवाल परिवारले केही हिसाब मिलान गरेको र केही अझै बाँकी रहेको देखिएको हो। 

प्रधानांगले दिएको मिटरब्याजको पैसाको हिसाबकिताब भने सागर डिस्टिलरी कम्पनीको सेयर हस्तान्तरणसँग जोडिएको पाइएको छ। 

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार अमित अग्रवाल, अभिषेक अग्रवाल र उनीहरुका बुबा ओमप्रकाश अग्रवालको नाममा रहेको सागर डिस्टिलरीको सेयर सेल्सबेरीका सञ्चालक सुशील प्रधानांगको नाममा हस्तान्तरण भएको छ। 

कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको कागजातअनुसार २०७८ वैशाख ५ मा अग्रवाल घरानाको २९ दशमलव ३० प्रतिशत सेयर पनि प्रधानांगको नाममा हस्तान्तरण भएको छ। यो सेयरको केही अंश प्रधानांगको मिटर ब्याजको ऋण घटाउनमा जोडिएको देखिएको छ। 

प्रधानांगले मिटरब्याजको पैसा असुल गर्न ठूलो दबाब दिएपछि करिब डेढ वर्षअघि मदिरा उद्योगको सेयर नै अग्रवाल परिवारले गुमाउनुपरेको कम्पनी रजिष्ट्रारको कार्यालयको कागजातले देखाएको छ।  

पुख्र्यौली व्यवसाय मदिरा बिक्री वितरण मात्रै नगरेर आफ्नो व्यवसायको दायरा फराकिलो बनाउन अग्रवाल परिवार चाहन्थ्यो। 

दुई छोरो अमित र अभिशेक एक डिस्टिलरी कम्पनी नै सञ्चालन गर्न चाहन्थे। सोहीअनुसार उनीहरुले सागर डिस्टिलरी नामक कम्पनी खडा गरिसकेका थिए। 

नवलपरासीमा उनीहरुले आफैँ लगानी गरेर उद्योग स्थापना गर्न चाहन्थे तर मदिरा उद्योगको लाइसेन्स नेपालमा भन्नेबित्तिकै पाइँदैन। उद्योग विभागमा आवेदन दिएको लामो समयको पर्खाइपछि मदिरा उत्पादनको लाइसेन्स पाएका थिए। 

२०७२ असोजमा महेश बस्नेत उद्योगमन्त्री रहँदा मदिरा उद्योगको लाइसेन्स वितरण भएको थियो। त्यसबेला अग्रवाल परिवारले पनि सागर डिस्टिलरीको लाइसेन्स पाएको थियो।

ऋण थप्दाथप्दै फसेको थियो अग्रवाल परिवार 
यसअनुसार उनीहरुले ठूलो लगानी समेत गरिसकेका थिए। तर यता अग्रवाल परिवारको समग्र व्यवसाय भने केही कमजोर भइरहेको थियो। त्यही समयमा बैंक र विभिन्न व्यक्तिसँग अग्रवाल परिवारले ऋण थप्न थाल्यो।  

व्यक्तिगत ऋण त्यो पनि चर्को ब्याजमा लगाउने प्रमुख व्यक्ति थिए, प्रधानांग। अग्रवाल परिवारको ड्रिम प्रोजेक्ट रहेको यस उद्योगको सेयर नै सुशील प्रधानांगले मिटरब्याजरमा लगाएको रकम र त्यसको चौगुणा रकम हिसाब गरेर हडपेको प्रष्ट हुन्छ।  

तर प्रधानांगले अग्रवाल परिवारबाट लिएको सेयर भने आफूसँग धेरै समय राखेको देखिँदैन। कम्पनी रजिष्ट्रारको कार्यालयअनुसार सेयर ब्रोकर सन्दिप जलानलाई बेचिसकेको देखिन्छ। अग्रवाल परिवारबाट लिएको सेयर बिक्री गरिसकेको र सो सेयर सन्दिप जलानको नाममा हस्तान्तरण भइसकेको कम्पनी रजिष्ट्रारको कागजातले देखाउँछ। 

प्रधानांगतिरै अमितको संकेत 
मिटरब्याजीहरुले धम्की नै जारी गर्न थालेपछि पुस २२ पछि अमित सम्पर्कविहीन थिए।

अमित अग्रवाल स्वयंले भारत पसेको स्वीकार गरेका थिए। पुस अन्तिममा अर्थात् पक्राउ पर्नुअघि उनले पत्रकार सम्मेलन नै गरेर आफू पैसा दिनुपर्नेहरुको ठूलो दबाब आएपछि भारत गएको बताएका थिए। 

पत्रकार सम्मेलनमा २० करोड रुपैयाँ आफ्नो व्यवसायको बजारबाट उठाउन बाँकी रहेको बताएका थिए। अग्रवाल परिवारले आफूसँग रहेको सम्पत्ति बेचेर तिर्ने उनको भनाइ थियो। अहिलेसम्म बैंकबाट आधा र त्यसभन्दा धेरै साथीभाइबाट लिएको ऋण रहेको उनले नै स्वीकारिसकेका छन्। 

उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘गैरकानुनी काम गरेको छैन भने किन डराउने? आउनुस् हामी सहयोग गर्छाैँ भनेर सबै साथीभाइ, प्रहरी, प्रशासनले भनेपछि नेपाल फर्किएको हुँ।’

सम्झौता गरेर साथीभाइबाट लिएको ऋण नउठेपछि टर्चर भएको र पैसा छिटो मागेपछि आत्तिएर आफू भारत गएको उनले सम्मेलनमा बताएका थिए। प्रधानांगसँग सेयर दिँदा पनि बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने दबाब आइरहेको उनको संकेत थियो। 

को हुन् प्रधानाङ्ग?
पोखराका रैथाने प्रधानाङ्ग होटल र रिटेलर व्यवसायमा आबद्ध छन्। प्रधानाङ्ग पुराना व्यवसायी हुन्। सन् १९९२ मा सेल्सवे कम्पनी स्थापना गरेका थिए। हाल परिवार नै व्यवसायमा जोडेका छन्। 

कपडाको व्यवसाय, रेष्टुरेन्टबाट करिअर सुरु गरेका उनका सेल्सबेरी र सेल्सवे ब्रान्डहरूअन्तर्गत विश्वसनीय खुद्रा बिक्रेताहरू नेपालमा २१ वटा आउटलेट सञ्चालनमा छन्।

उनी होटल, अटोमोबाइल डिस्ट्रिब्युसन, सपिङ मल र व्यवसायमा पनि संलग्न रहँदै आएका छन्। त्यसका अलावा निर्माण व्यवसायमा उनले हात हालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .