ad ad

कारोबार


डीसी चार्जर उद्घाटनसँगै विद्युत् खपत बढाउन यातायातमा प्राधिकरणको ‘इन्ट्री’

डीसी चार्जर उद्घाटनसँगै विद्युत् खपत बढाउन यातायातमा प्राधिकरणको ‘इन्ट्री’

वसन्त अर्याल
भदौ १४, २०७९ मंगलबार १६:२, काठमाडौँ

सरकारले विद्युत् खपत बढाउन चार्जिङ स्टेसन निर्माण गर्न प्राथमिकता दिन थालेको छ। 

नेपालमा धमाधम विद्युतीय गाडी भित्रिन थालेसँगै प्राधिकरणले चार्जिङ स्टेसनतर्फ ध्यान बढाएको हो। 

विद्युत् खपत बढाउन उद्योग र घरायसी प्रयोजनमा ध्यान दिएको प्राधिकरण अब यातायाततर्फ लागेको छ।

हालै विद्युत् प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच छुट्टाछुट्टै चार्जिङ स्टेसन निर्माण गरेको लागि सम्झौता गरेको छ। नेपाली सेनासँग छलफल भइरहेको जनाएको छ। 

प्राधिकरणले आफ्नै परिसरमा निर्माण गरेको १२० किलोवाटको डीसी चार्जर ऊर्जा जलस्रोतमन्त्री पम्फा भुसालले उद्घाटन गराएको छ। मंगलबार मन्त्री भुसालले चार्जिङ स्टेसन उद्घाटन गर्दै अहिलेभन्दा १० गुणा सस्तो पर्ने दाबी गरेकी छन्। 

उनले नेपालमा चार्जिङ स्टेसन निर्माणसँगै पेट्रोलियम पदार्थको लागि बाहिर जाने ठूलो रकम रोकिने समेत बताइन्। उनले उद्योग र घरायसी प्रयोजनको लागि विद्युत खपत भइरहेकोमा अब यातायात क्षेत्रले पनि विद्युत् खपत बढाउने बताइन्। 

उनले विद्युत् प्राधिकरणसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग एमओयू र नेपाली सेनालाई चार्जिङ स्टेसनसँगै विद्युत् खपत बढाउन आग्रह गरिएको छ। 

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रत्नपार्कको चार्जिङ स्टेसनमा निजी व्यक्तिले पनि गाडी चार्ज गर्नसक्ने बताए। 

घिसिङले विद्युत् खपत प्रवर्द्धन गर्न विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख सहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसन स्थापना गर्ने बताए। 

नेपाल विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ। २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन्। 

चिनियाँ ब्रान्ड स्टार चार्ज नेपालमा सबै ठाउँमा स्थापना हुने भएका छन्। टेन्डर अनुसार काम गरिरहेको नेपालमा दीगो ग्रुपका कायकारी अध्यक्ष राजन रायमाझीले २ महिनाभित्रै ५१ वटा चार्जिङ स्टेसन निर्माण हुने जानकारी दिए। 

हालसम्म सबै चार्जिङ स्टेसन बनिसक्नुपर्ने भए पनि कोभिडको कारण चीनमा उद्योग बन्दहुँदा स्थापनामा ढिलाइ भएको बताए। 

‘चार्जर, तारतान्ने, टन्सफर्मरसहित १ वटा स्टेसन निर्माणमा प्राधिकरणको अनुमान १ करोड २० लाख रुपैयाँ रहेको थियो’, रायमाझीले भने, ‘हामीले एउटा स्टेसन ८० लाखमा निर्माण गरेका हौँ।’

यस्ता बन्दै छन् चार्जिङ स्टेसन 
प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनमा एकै पटक ३ वटा गाडी चार्ज गर्न सकिन्छ। जसमा ६० किलोवाटका २ वटा डिसी चार्जर रहेका छन् भने २२ किलोवाटको १ वटा एसी चार्जर रहेको छ। 

चार्जिङ स्टेसन ३ किलोवाट, ६ किलोवाट, ११ किलोवाटका समेत हुने गरेका छन्। प्राधिकरणले बनाउँदै गरेको चार्जिङ स्टेशन हालसम्मै ठुलो रहेको जनाएको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसि गनले गाडीहरु चार्ज गर्न सकिन्छ। कुन गाडी कति समयमा चार्ज हुन्छ भन्ने गाडीको ब्याट्री क्षमता अनुसार फरक पर्छ। 

नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टामा फुल चार्ज हुन सक्छ। 

रायमाझीका अनुसार काठमाडौंबाट सिन्धुलीजाँदा आधा चार्जिङले पुग्छ भने सिन्धुलीबाट काठमाडौं आउँदा ७५ प्रतिशत ब्याट्री खपत हुन्छ। ओरालोमा गाडी गुड्दा नै ब्याट्री चार्ज हुँदा कम पावर लाग्ने रायमाझी बताउँछन्। 

प्रतिकिलोमिटर औसत ७० पैसा, चार्जको भुक्तानी कसरी गर्ने ?
नेपाल विद्युत प्रधिकरणले करहरुमा औसत ७० पैसा लाग्ने जनाएको छ। त्यस्तै एसयुभीको ८०, माइक्रो बसमा ९० पैस र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने जनाएको छ। 

प्राधिकरणले चार्जिङ स्टेसनमा शुल्क समय अनुसार फरक फरक लिने बताएको छ। जसअनुसार ३३ केभी भोल्टेजमा पिक समय साँझ ५ देखि ११ बजेसम्म ८ रुपैयाँ ४० पैसा प्रतियुनिट, अफ पिक आवर राती ११ बजेदेखि विहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा लाग्छ। विहान ५ बजेदेखी साँझ ५ बजेसम्म ६ रुपैयाँ लाग्छ। 

त्यस्तै तल्लो भोल्टेज २३०÷४०० केभीमा पिक आवरमा ८ रुपैयाँ ७० पैसा, अफ पिकमा ५ रुपैयाँ ५ पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा लाग्छ। 

चार्ज गर्दा लाग्ने शुल्क भुक्तानीको लागि नेपाल विद्युत प्राधिरकणले भुक्तानी प्रणालीको विकास गरिसकेको छ। प्राधिकरणले नेश्नल सर्भिस प्रोभाइडर (एनएसपी) प्रणालीको विकास गरिसकको छ। एनएसपी मार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन्। 

चार्जको रकम भुक्तानीकोलागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिन्छ। पेमेन्ट गेटवे मार्फत मोबाइल एपमा पैसा राख्न सकिन्छ। 

निजी क्षेत्रले २० प्रतिशत बढी लिएर स्टेसन राख्न पाउँछन्
प्राधिकरणले निजी क्षेत्र आफैँ चार्जिङ स्टेसन राख्न पाउने बताएको छ। निजी क्षेत्रले राखेको चार्जिङ स्टेसमा प्राधिकरणले उपलब्ध गराएको रकमको २० प्रतिशत बढी शुल्क लिने पाउने छन्। 

कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले २० प्रतिशतसम्म शुल्क लिनेगरी चार्जिङ स्टेसन निर्माण भइरहेको बताए। हाल निर्माण भएका चार्जिङ स्टेसनले १५ रुपैयाँसम्म लिने गरेपनि अब नियन्त्रण गर्दै जाने बताए। 

‘प्राधिकरणले मात्रै सबै ठाउँमा चार्जिङ स्टेसन बनाउन सक्दैन,’ घिसिङले भने,‘निजी क्षेत्रले २० प्रतिशत बढी शुल्क लिएर चार्जिङ स्टेसन राख्न पाउँछन्। अहिले १५ रुपैयाँसम्म लिएका छन्। अब पाउँदैनन्।’

उनले विद्युत प्राधिकरणले सस्तो मूल्यमा विद्युत उपलब्ध गराएकाले चार्जिङ स्टेसन निर्माण गर्नेले बढी शुल्क लिन नपाउने बताए। 

त्यस्तै विद्युतीय बस सञ्चालन गर्नेले डिजेलबाट चल्ने भन्दा कम भाडा असुल गर्नुपर्ने बताएका छन्। सञ्चालन खर्च कम हुँदा भाडापनि कम हुनुपर्ने घिसिङको तर्क रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .