कारोबार


सेयरबजारमा हरियो संकेत : ७ दिनमा २० अर्ब माथि पुग्यो कारोबार

सेयरबजारमा हरियो संकेत : ७ दिनमा २० अर्ब माथि पुग्यो कारोबार

नेपालखबर
साउन १३, २०७९ शुक्रबार २१:३२, काठमाडौँ

यो साता सेयरबजारले सकारात्मक संकेत दिएको छ। पछिल्लो साता त्यसअघिका साताभन्दा राम्रो सेयर कारोबार भएको हो। 

बजार परिसूचकमा आएको वृद्धि, बढ्दो कारोबार रकम, बिक्री कित्ता संख्यामा वृद्धि र किनबेच संख्यामा भएको वृद्धिले सेयरबजारमा शुभसंकेत गरेको तथ्यांकले देखाउँछ। 

खासगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछिको एक हप्तामा एक दिनमात्रै सेयरबजारमा गिरावट आएको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४–१२ को मार्जिन लेन्डिङ क्यापमा सामान्य हेरफेर गरेको छ। योसँगै न्यूनतम सीमा हटेको छ भने एउटै बैंकबाट पनि १२ करोडसम्म ऋण लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै बैंकहरु मर्जरमा जाँदा सेयर कारोबार रोक्का हुँदै आएकोमा त्यसलाई पनि फुकुवा गरिएको छ। 

मौद्रिक नीतिले गरेका पछिल्ला व्यवस्था सेयर लगानीकर्ताका प्रमुख माग रहँदै आएका थिए। यसले पनि लगानीकर्तामा उत्साह ल्याएको छ। 
छ दिन कारोबार हुने सेयरबजारमा मंगलबारबाहेक बाँकी कारोबार दिनमा सूचक बढेको छ। सेयर कारोबार रकम २० अर्ब माथि पुगेको छ।

आइतबार : २ अर्ब ७३ करोड 

सेयरबजारले अघिल्लो शुक्रबार राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई स्वागत गरेको थियो। गत आइतबार सेयरबजार परिसूचक नेप्से ६१.०५ अंकले बढेको थियो। सो दिन सेयरबजारमा कुल २१९ कम्पनीको कारोबार भएकोमा ६४ लाख बढी कित्ता सेयर बिक्री भएका थिए। ४२ हजार ९ सय ३० पटकको खरिदबिक्रीमा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको थियो।

आइतबार सबै उपसूचकहरु पनि बढेका थिए। त्यस दिन १० कम्पनीको सेयर १० वा सोही प्रतिशत हाराहारीले बढेको थियो भने लगानीकर्ताले २ प्रतिशतभन्दा कम मात्र गुमाएका थिए। 

सोमबार : ४ अर्ब १० करोड 
मौद्रिक नीतिपछिका दुई दिन लगातार बढ्ने क्रममा गत सोमबार पनि सेयरबजार हरियो भएको थियो। उक्त दिन ४ अर्बको सेयर कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से ५४.४५ अंकले बढेर २१ सय ३२ दशमलव ९६ विन्दुमा पुगेको थियो। धेरै समय २ हजार विन्दुवरपर नै घुमिरहेको सूचक २१ सय माथि पुगेको थियो।

सो दिन ९९ लाख कित्ता सेयर बिक्री भएकोमा २ सय १४ कम्पनीको सेयर दिनभरिमा ६४ हजार पटक किनबेच भएका थिए। जुन ४ अर्ब १० करोडको कारोबार थियो। उक्त दिन १३ वटै उपसूचक हरियो भएकामा १८ वटा कम्पनीको सेयर १० वा सोही प्रतिशत हाराहारीले बढेको थियो। लगानीकर्ताले त्यस दिन ५.८७ प्रतिशतसम्म गुमाएका थिए।

मंगलबार : ३ अर्ब 
लगातार बढेपछि तेस्रो दिन भने सेयरबजारमा ४४ अंकको गिरावट आयो। तेस्रो दिन नेप्से घटेर पुनः २ हजार विन्दुमा झर्यो। यद्यपि कारोबार रकम अघिल्लो दिनभन्दा कम भए पनि ३ अर्ब माथि नै रहन पुग्यो। २२२ कम्पनीको कारोबार भएको त्यो दिन ८७ लाख कित्ता सेयर बिक्री भएका थिए।

६० हजार पटकको खरिदबिक्रीमा १३ वटै उपसूचक राताम्य रहेका थिए। उक्त दिन कमाउने लगानीकर्ताले ९.३२ प्रतिशतसम्म र गुमाउनेले ६.८२ प्रतिशतसम्म गुमाएका थिए।

बुधबार : ३ अर्ब १६ करोड 
बुधबार फेरि सेयरबजार हरियो भयो। नेप्से २३.८३ अंकले र सेन्सिटिभ सूचक ४.५३ अंकले बढ्यो। उक्त दिन २२७ कम्पनीको ७५ लाख कित्ता सेयर बिक्री भएका थिए। दिनभरिमा ५० हजार २९७ पटक खरिदबिक्री हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको थियो। सो दिन कुल १३ मध्ये व्यापारबाहेक बाँकी समूहको सूचक हरियो हुनपुगेको थियो। बुधबार १५६ कम्पनीको सेयर बढेको थियो भने १८ वटाको घटेको र ६ वटा कम्पनीको सेयर उही मूल्यमा कारोबार भएको थियो। 

सो दिन जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत आम्दानी गरेका थिए। सो दिन कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले भने १० प्रतिशत गुमाउनुपरेको थियो। 

बिहीबार : ४ अर्ब ९७ करोड 
बिहीबार सेयरबजारमा लामो समययता झण्डै ५ अर्बको सेयर किनबेच भएको थियो। सूचक १५.४९ अंकले बढेको दिन लामो समयपछि कारोबार रकम बढेको हो। पछिल्ला दिनहरुमा ५ अर्बको पनि कारोबार हुनसकेको थिएन। नेप्से २१२७.४७ विन्दुमा पुगेको दिन सेयरबजारमा २२१ कम्पनीको कारोबार भएको थियो। लामो समयपछि बिक्री भएको सेयरको कित्ता संख्या समेत यस दिन १ करोड नाघेको थियो। ७२ हजार ४ सय ५० पटक भएको सेयर कारोबारमा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको खरिदबिक्री भएको थियो।

सो दिन १३ मध्ये अन्य, उत्पादन र निर्जीवन बीमाका सूचक रातो भए पनि बाँकी सूचक हरियो रहेका थिए। त्यस दिन कारोबार भएकामध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको थियो भने ४६ वटाको घटेको र १० वटाको उही मूल्य कायम भएको थियो। 

त्यस दिन विन्ध्यवासिनी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशत कमाएका थिए।यसबाहेक एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र समृद्धि फाइनान्सका सेयरधनीले पनि कमाए। बिहीबार सेयरधनीहरुले ३.९१ प्रतिशतसम्म गुमाएका थिए। राधी विद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, लक्ष्मी उन्नति कोष र महुली लघुवित्तका सेयरधनीले गुमाएका थिए। बिहीबार अरुण कावेली पावरको १७ करोड ९६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको थियो।

त्यसैगरी शिवम् सिमेन्टको १५ करोड ८६ लाख, माथिल्लो तामाकोशीको १४ करोड, अपि पावर कम्पनीको १३ करोड र नागरिक लगानी कोषको १३ करोडको कारोबार भएको थियो। यस दिन अपि पावर कम्पनीको २ हजार ८७ पटक सर्वाधिक कारोबार भएको थियो। 

शुक्रबार : २ अर्ब १९ करोड 
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयरबजार हरियो भएको थियो। सूचक १२.९२ अंकले बढेर कारोबार बन्द भएको थियो। योसँगै नेप्से २ हजार १ सय ४० दशमलव ३९ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक पनि आज ३.९१ अंकले बढेको छ। शुक्रबार दिउँसो १ बजेसम्म मात्र कारोबार हुन्छ। सो दिन २ सय १६ कम्पनीको सेयर किनबेच भएकामा ५१ लाख ११ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएको थियो। ३४ हजार पटकको खरिदबिक्रीपछि २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रुपैयाँको कारोबार भएको थियो। अन्तिम कारोबार दिन १०३ कम्पनीहरुको मूल्य बढ्दा ७१ कम्पनीको सेयर मूल्य घटेको थियो। त्यस्तै ९ कम्पनीको सेयर मूल्य उही कायम छ। 

उक्त दिन सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले कमाए। उनीहरुले क्रमशः १०/१० प्रतिशतले कमाएका थिए। लुम्बिनी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका थिए।

बुद्धभूमि नेपाल हाइड्रो, जोशी हाइड्रो, लिबर्टी इनर्जी, ग्लोबल आईएमई समुन्नत स्किम १ र ग्रिनलाइफ हाइड्रोपावरका लगानीकर्ताले भने शुक्रबार गुमाउनुपरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .