ad ad

कारोबार


रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासीको रहर अधुरै

रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासीको रहर अधुरै

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ५:४२,

विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झन्छिन्।

जनकपुरधाममा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राखेकी ६० वर्षीया पानोवती २०५८ सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर गएकी छैनन्। वि.सं. २०५८ को बाढीले आफ्नै बस्ती नजिकको विजलपुरा स्टेशनबाट जनकपुर जाने रेल मार्गमा पर्ने बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएसँगै पानोवतीको मेला हेर्न जाने क्रम टुटेको हो।

'हमसभ रेल चैढ्क मेला भर जनकपुर जायत छली, रेल चैढ्क जाएआवमे खुबे मन लगैत छल' (हामी रेल चढेर जनकपुर मेला हेर्न जाने गर्थ्याैँ, रेल चढेर जानआउन खुबै रमाइलो लाग्थ्यो) १८ वर्षपहिलेका कुरा सम्झदै पानोवतीले भनिन्, 'ओइस एम्भर आश जोहीक रहल छि, जे कहिया रेल चलत' (त्यसयता रेल कहिले फेरि चल्ला भनेर पर्खेकी छु)।

पानोवतीजस्तै रेल चल्न छाडेपछि विवाहपञ्चमी मेला हेर्न नगएका महोत्तरीको भङ्गाहा, लोहारपट्टि र बलवा नगरपालिका क्षेत्रमा बाक्लै भेटिन्छन्। पछिल्लोपटक गत वर्षकै विवाहपञ्चमी मेलासम्म धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चल्छ भनिँदा अबचै कुर्थाबाटै रेल चढेर जाने आस पालेका महोत्तरीका पूर्वउत्तरवत्र्री क्षेत्रका सर्वसाधारणले यसपालीको विवाहपञ्चमी उत्सवमा पनि त्यो आस पूरा गर्न नपाइएको गुनासो गरेका छन्।

'रेल विभागके हाकिमसब आब जल्दिए रेल चलत कहिरहल सेहो दु साल भगेल, मुदा ओ वातेमें रहीगेल' (रेल विभागका हाकिमले दुई वर्षअघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो) लोहारपट्टि नगरपालिकाको खुट्टापिपराढी बस्तीका सामाजिक कार्यकर्ता नागेन्द्र चौधरीले भने, 'आब वात पतिएवाक अवस्था नई रहल, रेल चलत तभीए बुझब, जे आब चलल' अब कुरा पत्याउने अवस्था रहेन, रेल सञ्चालन भएपछि बुझौला, ए अब चलेछ)।

पछिल्लोपटक महोत्तरीको बर्दिवासदेखि जयनगरसम्मको ६९ किलोमिटर दूरीको निर्माणाधीन रेलमार्गको प्रथमखण्ड धनुषाको कुर्थादेखि जयनगरसम्म गत वर्षकै विवाह पञ्चमीताका रेल सञ्चालनमा आउने त्यतिखेरका रेल विभागका अधिकारीले बताएका थिए। तर, एक वर्षपछि यस वर्षको विवाहपञ्चमी ताका पनि रेल सञ्चालनमा आउनसकेन।

यतिखेर रेल विभागका अधिकारीले पुसभित्रै प्रथमखण्डमा रेल चल्ने बताएका छन्। प्रथमखण्डको रेल्वे लिक गत वर्ष नै तयार भएको भए पनि रेल सेट नहुँदा ढिलाइ भएको बताउँदै अहिले रेल विभागका अधिकारीले अब रेलसेट निर्माण र रेलसञ्चालन विनियमावली तयार हुने क्रममा रहेकाले चाँडै सेवा सञ्चालन हुने बताएका हुन्।

'रेलसेट (रेलको इञ्जिन र यात्रु बस्ने डिब्बा) निर्माण भएका छन्, ती भारतबाट ल्याइने क्रममा छन्, यता दक्ष जनशक्ति आपूर्ति र रेल सञ्चालनका अन्यपक्ष व्यवस्थापनका लागि विनियमावली पनि तयार हुँदै छ', रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, 'अहिलेको गतिमा काम अघि बढ्दै गए पुसको अन्त्यसम्म प्रथमखण्डमा रेल सेवा सञ्चालन हुनेछ।' प्रथमखण्डको लिक गत वर्ष नै निर्माण भइसके पनि यसपालिको बर्खाको बाढीले जयनगर नजिक भत्काएको लिक पनि बनिसकेकाले अब प्रथमखण्डमा रेल सञ्चालन हुन धेरै दिन पर्खन नपर्ने चित्रकारको भनाइ छ।

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुनासाथै महोत्तरीको लोहारपट्टी, भङ्गाहा र बलवा नगरपालिका तथा पिपरा गाउँपालिकाका कृषिउपज सोझै भारतीय बजारमा पुर्याउन सकिने यहाँका किसानले आश सँगालेका छन्। 'हामीकहाँ मौसमी र बेमौसमी तरकारीको फसल लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान छौँ', लोहारपट्टि नगरपालिकाको तपनपुर बस्तीका किसान रामेश्वर यादवले भने, 'रेल सेवा सुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पुर्याउन सकिनेछ, हाम्रो दुग्ध उत्पादनले पनि बजार पाउनेछ।'

किसान राजेश्वरको आसजस्तै रेल सञ्चालन हुनासाथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टिका प्रमुख शैलेन्द्र यादवको भनाइ छ। 'हाम्रो नगरका त सबैजसो बस्ती कुर्था वरिपरि नै छन्', प्रमुख यादवले भने, “भङ्गाहा र बलवा नगरपालिकाका समेत आठ/दश बस्ती नजिकै छन्, रेल सञ्चालनमा आउनासाथ यहाँको कृषिउपजले राम्रो बजार पाउनेछ।'

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमि दूरीमा आउने पुसभित्रै रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेशनसम्म) को निर्माण कामले तीव्रता लिने रेल विभागका अधिकारीको भनाइ छ। विभागका प्रवक्ता चित्रकारले दोस्रो खण्डमा यसै वर्ष (२०७६ भित्रै) रेलसेवा सञ्चालन हुने बताउनु भए पनि यसखण्डमा अझै लिक ओछ्याउने कामभने थालिएको छैन । १७ किमि दूरीको दोस्रो खण्डमा माटो उठाउने र पलपुलेसा निर्माणको काम सम्पन्न भएको हुँदा अब लिक ओछ्याइने काम तीव्र गतिमा अघि बढ्ने चित्रकारको भनाइ छ।

यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीभित्र भने काम शुरु गरिने कुनै छाट नै देखिएको छैन । पछिल्लोपटक यसखण्डको भङ्गाहा र बर्दिवास नगरपालिका ६ र ७ (साविक किसाननगर गाविस) को जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न पुराना जग्गाधनीलाई सूचना गरिएपनि धनुषाको मिथिला नगरपालिका ९ र १० (साविक बेङ्गाडावर गाविस) र बर्दिवास–१, २ र १४ को मुआब्जा अझै निर्धारण हुन नसक्दा तेस्रो खण्डको काम अझै अन्यौलमै छ ।

यी ठाउँको मुआब्जा विवाद नटुङ्गिए समयमै कामसक्न अप्ठ्यारो हुने विभागका अधिकारीले पनि स्वीकार गरेका छन् । नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा यस भेगका सर्वसाधारणको रेल चढ्ने आश ‘आकाशको फल’ झैँ भएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह बताउँछन्।

विसं १९९४ मा शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमि रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमिमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियाे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .