ad ad

कारोबार


यसकारण ट्रम्पको व्यापारयुद्धले खुसी छन् अमेरिकी किसान

यसकारण ट्रम्पको व्यापारयुद्धले खुसी छन् अमेरिकी किसान

पामेला पार्कर
मंसिर १२, २०७६ बिहिबार १०:२४,

२५ वर्षपछि अमेरिकी लसुन उत्पादक किसानहरुको मुहारमा खुसी छाउनथालेको छ। चिनियाँ आयातले क्रमशः टाढिँदै गएको बजारमा हिस्सेदारी बढ्दै गएपछि उनीहरुको अनुहारमा उत्साह छाएको हो।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएयता डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमाथि लगाएको अतिरिक्त करका कारण अमेरिकी लसुन उत्पादक किसानले यस्तो सफलता पाएका हुन्। यो वर्षमात्रै ट्रम्पले चिनियाँ लसुनविरुद्ध दोस्रो चरणको अतिरिक्त कर थोपरेका छन्, यसले अमेरिकी बजारमा अमेरिकामै उत्पादित लसुनले राम्रै भाउ पाएको छ ।

‘यो एकदमै झूटो हो कि व्यापार युद्धका कोही विजेता छैनन्’, क्यालिफोर्नियामा रहेको लसुन उत्पादक कम्पनी क्रिस्टोफर र्‍यान्चका कार्यकारी उपप्रमुख केन क्रिस्टोफर भन्छन्, ‘जब राष्ट्रपति ट्रम्पले आयातित लसुनविरुद्ध कर लगाइदिए, हामी स्वतः बजारमा प्रतिस्पर्धी बन्न सक्यौँ ।’

Garlic US 123

अमेरिकी लसुन उत्पादक किसानले सन् १९९० देखि नै फलफूल र तरकारी चीनबाट अत्यधिक आएकोले स्वदेशी उत्पादनलाई असर गरेको बताउँदै आएका थिए । चिनियाँ वस्तु बजारमा अत्यन्त सस्तो हुँदा त्यसको प्रभाव हरकुनै ठाउँमा पर्ने गर्छ । अमेरिकामा पनि यही भएको थियो ।

सन् १९९४ मा अमेरिकी सरकारले स्वदेशी किसानले उठाएको मुद्दाबारे अनुसन्धान नै गरेको थियो । यसमा चिनियाँ कम्पनीहरु दोषी पनि भए । तर केही समयपछि पुनः चिनियाँ वस्तुले बजार कब्जा गर्नथाले । सस्ता चिनियाँ लसुन बजारमा पुनः ओइरिन थाले । सोही कारण तत्कालीन समयमा १२ वटा अमेरिकी व्यावसायिक लसुन फार्महरुमध्ये मात्र तीनवटा ठूला फार्म मात्रै अस्तित्वमा रहन सफल भए ।

आज बाँकी रहेका लसुन उद्योगीहरु ट्रम्पले लगाएको करको असर राम्रैसँग देखिनथालेको बताउँछन् । अमेरिकाले चिनियाँ लसुनमा सन् २०१८ सेप्टेम्बरमा १० प्रतिशत कर लगाएर सुरु गरेको थियो । सन् १९९० देखिकै कम्पनी हो क्रिस्टोफर । आज यो कम्पनीले १० करोड पाउन्ड अर्थात् करिब ४ करोड ५० लाख किलो लसुन वर्षेनी उत्पादन गर्छ । यसमध्ये एक तिहाइ अमेरिकामै खपत हुन्छ ।

चिनियाँ वस्तुमाथि कर सुरु भएयता पारिवारिक स्वामित्वका व्यवसायहरु तंग्रिनथालेको क्रिस्टोफर बताउँछन्।

‘हामी हरेक वर्ष ६ देखि २३ प्रतिशतसम्मको वृद्धिदर देखिरहेका छौँ’, क्रिस्टोफर भन्छन्, ‘यो त्यति धेरै जस्तो त लाग्दैत तर बिक्रीका हिसाबले तलको रेखा हेर्ने हो भने यो ज्यादै हो ।’ करको प्रभाव बुझ्न बीबीसीले अमेरिकी कृषि विभागले मापन गरेको दैनिक मूल्य समेत हेरेको थियो ।

garlic in US

सन् २०१८ अगस्टमा बोस्टनमा बेचिएको १३ किलोको लसुन बक्सको मूल्य २५ देखि ३० डलरको बीचमा रहेको थियो । यसको तुलनामा क्यालिफोर्नियामा उत्पादित लसुनको उही बक्सको मूल्य ६८ डलर रहेको थियो । तर कर लगाएयता चिनियाँ लसुन बक्सको मूल्य ५२ देखि ५५ डलरसम्म पुगेको छ भने क्यालिफोर्नियामा उत्पादित लसुनको मूल्य अहिले ७० देखि ७४ डलर रहेको छ । यद्यपि चिनियाँ लसुन नै सस्तो छ तर दुई लसुनको मूल्यान्तर भने खुम्चिँदै गएको छ ।

चौथो पुस्ताका क्यालिफोर्नियाका लसुन कृषक ज्याक भेसेले भने पछिल्लो समयको अमेरिकी लसुन बजारमा उपलब्ध गराउन पाएनन् । उनको परिवारले भेसे एण्ड कम्पनी नै एक वर्षअघि चिनियाँ लसुनका कारण बन्द गरेको छ । फाइदा नदेखेपछि उनीहरुले कम्पनी बन्द गरेका हुन् ।

कम्पनी बन्द गर्नुपर्दा निकै गाह्रो भएको उनी बताउँछन् । उनीअघिका तीन पुस्ताले लसुन खेती गरेका थिए । करिब १ सय वर्षसम्म उनको परिवारले लसुनसँगै अन्य तरकारीको खेती गरेको थियो । तर अहिले उनको परिवार लसुन व्यवसायबाट उम्किन बाध्य भएको छ ।

अमेरिकी वाणिज्य विभागका पूर्वउपसचिव फ्रान्क लेभिन सन् १९९४ मा लेभी सुरु गरिए पनि चिनियाँ आयातकर्ताले तीव्र गतिमा आयात गर्दा प्रभावहीन बनेको बताउँछन् । नियन्त्रणको लागि प्रयास गरे पनि चिनियाँहरुले अरु अरु उपाय लगाएर लसुन ल्याउन सफल भएको उनको भनाइ छ ।

यता क्रिस्टोफर भने कर लगाउँदा लसुनको आयातमै प्रभाव परेकाले पनि स्वदेशी उद्योगका लागि अवसर सृजना भएको बताउँछन् । सोही कारण यसलाई ‘गेमचेन्जर’को संज्ञा दिन्छन् । अमेरिकी मिडियाले करको विरोध गरिरहेका बेला क्रिस्टोफर भने राष्ट्रपति ट्रम्पको उक्त कदममा खुसी मनाइरहेका छन् । अमेरिकाले २ खर्ब अमेरिकी डलरका चिनियाँ वस्तुमा कर लगाएको छ । बीबीसीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .