कारोबार


ललितपुर महानगरको ५ वर्ष : साढे २३ अर्ब बजेट, अलपत्र योजना

ललितपुर महानगरको ५ वर्ष : साढे २३ अर्ब बजेट, अलपत्र योजना

निवर्तमान मेयर चिरिबाबु, उनी यो निर्वाचनमा पनि मेयरकै प्रत्याशी हुन्।


वसन्त अर्याल
बैशाख १९, २०७९ सोमबार ७:५८, काठमाडौँ

ललितपुर महानगरपालिकाले बितेको ५ वर्षमा २३ अर्ब ४७ करोडको बजेट ल्याए पनि देखिने काम भने गर्न सकेन। 

महानगरले साइकल लेन, पोखरी पुनर्निर्माण, ४ वटा मुख्य सडकमा स्मार्ट बत्ती, वडा कार्यालयको स्थापनामा मात्रै ध्यान दिएको देखिएको हो। 

महानगरले २०७२ सालको भूकम्पले भताभुंग सम्पदा पुनर्निर्माणको काम गरिरहेको छ।

२०७४ सालमा महानगर प्रमुखमा निर्वाचित चिरिबाबु महर्जन भने आफ्नो घोषणापत्रको ९० प्रतिशत प्रतिबद्धता पूरा गरेको बताउँछन्। उनी दोस्रो कार्यकालको लागि यसपटकको निर्वाचनमा पनि गठबन्धनका साझा उम्मेदवार बनेका छन्।  

तर यो अवधिमा मुख्य संरचना केही बन्नसकेका छैनन्। मठमन्दिर पुनर्निर्माण हुनै बाँकी छन् भने यो अवधिमा नयाँ भौतिक संरचना निर्माण नै सुरु हुन सकेनन्। 

अलपत्र योजना
महानगरले ५ वर्षमा फ्लाई ओभरदेखि ढल निकास निर्माण गर्ने योजना ल्याएको थियो। बजार व्यवस्थापनका लागि कम्प्लेक्स, पार्किङ व्यवस्थाको लागि भर्टिकल पार्किङ, लगनखेल, दूध, फूल र मासुमा आत्मनिर्भर बनाउने भनेको थियो। तर महानगरका यी योजनाहरु अलपत्र छन्। 

खानेपानीको लागि बोरिङदेखि मकवानपुरबाट ल्याउने योजना समेत बनाएको महानगरले हालसम्म केही गर्नसकेको छैन। 

मालपोत, बहाल कर, व्यवसाय कर, आयस्रोत प्रमाणित आदिबाट उठ्ने करहरु वडाबाटै संकलन गर्ने नीति महानगरले लिएको थियो। करदाताहरुको सुविधालाई मध्यनजर गर्दै घरदैलोमै गई कर संकलन गर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो। तर कर तिर्न लाइन लाग्नुपर्ने अवस्था छ।  

महालेखा परीक्षकको कार्यालयले ललितपुर महानगरले कार्यान्वयनयोग्य आयोजनालाई विस्तृत अध्ययन नगरी योजनामा राख्दा धेरै आयोजना अगाडि बढ्न नसकेको उल्लेख गरेको छ। 

‘खानेपानी, फोहोर व्यवस्थापन, दैनिक प्रशासनिक कार्यमा धेरै सुधार भएको देखिँदैन’, महानगरको खोकनाका स्थानीय सुनिल महर्जनले भने, ‘तर मुख्य सडकमा हरियाली, सडक कालोपत्रेलगायतका केही कामले सन्तुष्ट छु।’

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले विभिन्न औपचारिक कार्यक्रममा ९० प्रतिशत आफ्ना प्रतिबद्धता पूरा गरेको दाबी गर्दै आएका छन्।  

आफ्नो प्रगतिमा साइकल लेनको सबैभन्दा बढी प्रचार गर्छन्। उनले साँघुरा सडकमा कलर लगाएर लेन त बनाए तर गाडी र मोटरसाइकल पार्किङले त्यसको उपयोग नै हुनसकेको छैन। 

कुपण्डोलदेखि पुल्चोकसम्म र चक्रपथको विभिन्न स्थानहरुमा फ्लाईओभर र इन्टरसेक्सन फ्लाई ओभर डीपीआरमै सीमित भएको छ। चिरिबाबुले फ्लाई ओभर बनाउने भनिएपछि ६ अर्ब बढी लागत देखिएकाले अध्ययन गरिए पनि सम्भावना नभएको बताउने गरेका छन्।  

कागजमै सीमित महानगरका योजना 
वि.सं. १९७५ सालमा ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भई वि.सं. २००९ सालमा ललितपुर नगरपालिका स्थापना भएको थियो। २०५२ सालमा ललिपुर उप–महानगरपालिका र २०७३ मा ललितपुर महानगरपालिकाको रुपमा कायम भएको हो।   

महानगरले आव २०७४/०७५ मा वडाहरुको आफ्नै भवन निर्माणलाई पहिलो प्राथमिकता दियो। महानगरभित्र हटाउने र पुनर्स्थापना गर्नुपर्ने विद्युत् खम्बा, खानेपानी पाइपलगायत युटिलिटी (उपयोगिता)का सबै काम एकैपटक गर्ने नीति लियो। 

नगरक्षेत्रका ४ मिटरभन्दा बढी चौडा सडकको मात्रै पिच गर्ने र त्यसभन्दा कमका सडकहरुमा ब्लक वा ढुंगा छाप्ने नीति बनायो। महानगरले नयाँ ढल निकास योजना सञ्चालन गर्दा खुल्ला रुपमा वा नदीमा ढल निकास नगर्ने गरी ट्रिटमेन्ट प्लान्टसहित इनलेट र आउटलेटको व्यवस्था गर्ने उल्लेख गरेको छ। 

महानगरभित्रको ढल व्यवस्थापन गर्न लगनखेल, मंगलबजार, दरबार स्क्वायर, शंखपुल हुँदै यू.एन पार्कसम्मको ढलको विस्तृत सर्वेक्षण गरी निर्माण कार्यलाई अगाडि बढाइने, ढोलाहिटीदेखि सातदोबाटो चक्रपथसम्म करिब ३ किमि ढल निर्माण गर्ने योजना अघि सारेको थियो। 

धापाखेल २३ देखि गोदावरी १२ जोड्ने सडकलाई १४ मिटर कायम गर्न पहल गर्ने, भवन निर्माण गर्दा नक्सापास प्रक्रियामा विद्युतीय माध्यमबाट गर्ने, धापगालस्थित तरकारी बजार नगर विकास कोषसँग ऋण लिई चिस्यान केन्द्रसहितको आधुनिक तरकारी बजार कम्प्लेक्स, जाउलाखेल, कुमारीपाटी, लगनखेलमा बजार व्यवस्थापनका लागि कम्प्लेक्स निर्माण गर्ने योजना अघि सा¥यो। 

सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा आधुनिक पार्क, खेलमैदान र बसपार्क निर्माण गर्ने योजना नीति बनायो। 

‘सबैका लागि पिउने पानी तथा पूर्ण सरसफाइका लागि आवश्यक कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको थियो। मकवानपुरको सिस्नेरीबाट ललितपुर महानगरपालिकामा खानेपानी ल्याउन महालक्ष्मी र गोदावरी नगरपालिकाको समन्वयमा सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्यो। 

९ देखि १२ सम्म निःशुल्क शिक्षा, महानगरपालिका क्षेत्रलाई फाइन आर्टस् सिटी घोषणा, महानगरभित्र २५.५ प्रतिशत कृषियोग्य भूमि रहेको छ। कृषिमा आश्रित १४ प्रतिशत जनसंख्यालाई मध्यनजर गरी कृषि सूचना केन्द्र अद्यावधिक गर्ने नीति बनाएको थियो। जुन कागजमा सीमित छन्। 

फोहोरमैला उत्पादनको स्रोतमै उपयुक्त व्यवस्थापन गरी फोहोरमैला वर्गीकरण, कम्पोष्टिङ पुनः प्रशोधन तथा पुनः प्रयोगसम्बन्धी व्यवस्था र वैकल्पिक ल्यान्डफिल साइटको लागि सम्भाव्यता अध्ययन गरिने नीति बनाएको थियो।  

पार्किङ व्यवस्थापन गर्न भर्टिकल पार्किङ र वडा नं ४, जावलाखेल तथा लगनखेलको चउरमुनि अन्डरग्राउन्ड पार्किङ सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्यो। तर सडकमा बाहेक अरु पार्किङको कुनै व्यवस्था गर्नसकेको छैन। 

के–के भए प्रगति? 
स्थानीय तहको मुख्य योजना जनजीविकासँग सम्बन्धित हुनुपर्छ। तर महानगरले नीति र योजनामा ‘ठूला गफ’ राखे पनि कार्यान्वयन हुन सकेनन्। महानगरले ५ वर्षमा नगरपालिका प्राङ्गणमा राष्ट्रिय विभूति अरनिकोको शालिक निर्माण, विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, सडकको पेटीमा वृक्षरोपणका काम गरेको छ। 

पुल्चोकदेखि थापाथली वाग्मती पुलसम्म फ्लाई ओभर निर्माणका साथै चक्रपथको चारस्थानमा इन्टरसेक्सन फ्लाईओभर निर्माणका अध्ययन, धापागालस्थित जीर्ण अवस्थामा रहेको तरकारी बजार नगर विकास कोषसँग ऋणीलाई आधुनिक तरकारी बजार चिस्यान केन्द्रसहितको कम्प्लेक्स निर्माण गर्न डिटेल डिजाइन टुंगो लगाएको छ। 

पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर पुनर्निर्माण, महानगरपालिका प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना, सबैजसो वडाको आफ्नै भवन, लगनखेलबाट ट्रंकलाइन निर्माणका काम भएका छन्।  
ललितपुर महानगरलाई साइकलमैत्री सहर निर्माणको अभियानअन्तर्गत ३२.५ किलोमिटर साइकल लेन बनाएको छ। 

२० पूर्ण चण्डी पोखरीको पुनर्निर्माण, लगनखेलस्थित न्हूँ पोखरीको पुनर्निर्माण भएको छ। सप्तताल पोखरी र लगनखेलस्थित राजदलगण परिसरमा करिब ३० रोपनी क्षेत्रफलमा पोखरीहरुको डीपीआर निर्माण गरी पुनर्निर्माणका काम भइरहेका छन्। महानगर वल्र्ड क्राफ्ट सिटी घोषणा भएको थियो। 

कुन वर्ष कति बजेट? 
आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब ५५ करोड रुपैयाँको बजेट ल्याएको थियो। जसमा सशर्त अनुदान, सामाजिक सुरक्षालगायत गरी महानगरबाट बाँडफाँट नहुने १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। 

महानगरले १ अर्ब ९३ करोड रुपैयाँ चालू खर्च र पुँजीगत खर्चमा ३ अर्ब ६२ करोड छुट्याएको छ। पुँजीगत खर्चमा नगरस्तरीय गौरवका कार्यक्रममा १५ करोड, सहरी सडक २५ करोड, अधूरो क्रमागत योजनाको लागि ६१ करोड, वडा विकास कार्यक्रममा ७९ करोड, क्षेत्रगत विकास कार्यक्रमअन्तर्गत ९२ करोड, अनुदान र ऋण २२ करोड र नगरस्तरीय योजनाको लागि ६० करोड बजेट विनियोजन गरेको थियो। 

कोभिड महामारीलगायतको कारण आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ७९ करोड रुपैयाँको बजेट ल्याएको थियो। जुन अघिल्लो वर्षको तुलनामा कम हो। 

आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो। आन्तरिक स्रोत परिचालनबाट २ अर्ब ७४ करोड, नेपाल सरकारबाट प्राप्त १ अर्ब २ करोड, प्रदेश सरकारबाट १२ करोड, साझेदारी कार्यक्रम ३८ करोड, अन्य अनुदान ४३ करोड रहेको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा ललितपुर महानगर चालू खर्च १ अर्ब १५ करोड रुपैयाँ र पुँजीगत खर्च १ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। उक्त वर्ष ५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको थियो। 

ललितपुर महानगरले आर्थिक वर्ष २०७५/०७६ मा ४ अर्ब ६० करोड रुपैयाँ बजेट प्रस्ताव गरेको थियो। जसमा प्रशासनिक खर्च १ अर्ब ६ करोड, सामाजिक सुरक्षा भत्ता ३० करोड, आर्थिक विकासको लागि ८५ करोड र पूर्वाधार विकासका लागि १ अर्ब ६७ करोड खर्च गर्न बजेट ल्याएको थियो।  उक्त वर्ष २ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेको थियो। उक्त वर्ष १ अर्ब ८२ करोड रुपैयाँ बाँकी मौज्दात रहयो। 

महानगरले पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको थियो। 

यो पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .