ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित

नेपालखबर
पुस २९, २०७८ बिहिबार १७:४३, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। 

साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस सेयर ३० प्रतिशत)सहितको आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। 

साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँबराबरको बोनस सेयर सेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। 

यसपछि बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ। साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ।

बैंक सञ्चालक  समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए। 

उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणास्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकको सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्घ रहिरहने बताए।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअलमाध्यमबाट सेयरधनीहरुको साधारण सभामा उपस्थिति रहेकोे थियो ।

साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गरेका थिए। यसको जवाफ बैंक सञ्चालक  समितिका अध्यक्ष डा.बलराम पाठकले दिएका थिए। 

सो साधारण सभामा बैंक सञ्चालक  समितिका सदस्यहरु केदारनाथ शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेलको उपस्थिति रहेको थियो। 

साधारण सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए। बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .