राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, कैलालीमा उद्घाटन गरेको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार कार्यालय उद्घाटन गरेका हुन्।
उक्त अवसरमा मुख्यमन्त्री भट्टले सरकारको लगानीमा सञ्चालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभए पनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताए। उनले सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान व्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि सेवासहितको नाफा र नाफासहितको सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता व्यक्त गरे। समृद्ध नेपाल सुखी नेपालीकोे नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताउंदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भूमिका निर्वाह गर्ने बताए।
बैकको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आनन्द सुवेदी, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेत, परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया