भारतको ३ गन्तव्यमा नेपाल एयरलाइन्सको जहाजले सिधा उडान भर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले ३ वटै गन्तव्यमा उडान सुरु गर्न सहमति भएको बताएका छन्।
क्षेत्रीले हप्ताको ५६ वटासम्म उडान हुने गरी सहमति भएको बताए।
‘नेपाल एयरलाइन्सले हप्तामा २८ वटा उडान गर्न पाउँछ’, क्षेत्रीले भने, ‘भारतका विभिन्न एयरलाइन्सले २८ उडान गर्न पाउँछन्।’
हाल काठमाडौं दिल्ली मात्रै उडान भइरहेकोमा अब मुम्बई र बैग्लोरमा उडान हुने भएको हो। कोभिडअघि यी गन्तव्यमा सिधा उडान भए पनि कोभिडको कारण नियमित उडान हुनसकेको थिएन।
हवाइ उडान कम हुँदा दुईतर्फी भाडा ५० हजार रुपैयाँसम्म पुगेको थियो। भारतले उडान थप गर्ने विषयमा सकारात्मक भए पनि तेस्रो देशका नागरिक भने यात्रा गर्न नपाउने जनाएको छ।
‘एयर बबल कायमै रहेको छ। उडान मात्रै थप भएको हो’, क्षेत्रीले भने, ‘भारतको एयर इन्डियाले उडान गरिरहेकोमा अन्य एयरलायन्सले पनि उडान गर्न पाउँछन्।’
नेपाल एयरलाइन्सले अबको दुई हप्तापछि ३ गन्तव्यमा नियमित उडान गर्ने जनाएको छ।
Shares
प्रतिक्रिया