कारोबार


एनआईसी एसिया युनियन पे भर्चुअल कार्डः वस्तु र सेवा खरिदको भुक्तानीमा नयाँ फड्को

एनआईसी एसिया युनियन पे भर्चुअल कार्डः वस्तु र सेवा खरिदको भुक्तानीमा नयाँ फड्को

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ७:५८,

एनआईसी एसिया बैंक लिमिटेडले युनियनपे इन्टरनेशनलको सहकार्यमा एनआईसी एसिया युनियनपे भर्चुअल कार्डको प्रयोग सुरु गरेको छ। वस्तु तथा सेवा खरिदको भुक्तानीलाई अझै सहज बनाउने गरी बैंकले सोमबारदेखि भर्चुअल कार्ड सुरु गरेको हो।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियनपे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियनपे भर्चुअल कार्ड सुरु गरिएको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए।

युनियनपे इन्टरनेशनल र एनआईसी एसिया बैंकका उच्च पदाधिकारीहरुको उपस्थितिमा दुवै संस्थाले भर्चुअल कार्ड सुरु गरेको घोषणा गरेका थिए। नेपालमा डिजिटल भुक्तानी प्रणालीमा यसलाई नयाँ फड्कोका रुपमा लिइएको छ।

भर्चुअल कार्डको सुरुवातसँगै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग यसलाई एकीकृत गरी छिट्टै ग्राहकसामु लैजाने योजना बनाएको पाण्डेले बताए। उनले भने, ‘यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढीकरण हुने बैंकको विश्वास छ।’

भ्रमण वर्षमा पर्यटकलाई सहज हुने
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई झुक्तानी सेवामा सहज हुनेछ। भर्चुअल कार्ड प्रयोग गरी नेपाल घुम्ने पर्यटकले वस्तु तथा सेवा खरिदको भुक्तानी सहज गर्नसक्ने हुँदा यसले पर्यटकको आवश्यकता परिपूर्ति गर्ने बैंकले जनाएको छ।

कस्तो कम्पनी हो युनियन पे?
युनियनपे इन्टरनेशनल डिजिटल भुक्तानीको क्षेत्रमा अग्रणी चिनियाँ कम्पनी हो। यसले विश्वभरका १ सय ७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा विस्तार गर्नुका साथै आठ अर्बभन्दा बढी कार्ड जारी गरिसकेकोे छ। यो कम्पनीले गत साउन पहिलो साता मात्रै नेपाल राष्ट्र बैंकबाट नेपालमा डिजिटल भुक्तानी सेवा सञ्चालनको अनुमति पाएको हो। नेपालमा यस्तो अनुमति पाउने पहिलो अन्तर्राष्ट्रिय कम्पनी पनि हो युनियन पे।

राष्ट्र बैंकले कम्पनीलाई पेमेन्ट तथा सेटलमेन्ट कानुनअनुसार अनुमति दिएको थियो। यसअघि नेपालमा अवैध रुपमा मोबाइल पेमेन्ट एपहरुमार्फत कारोबार भइरहेकोमा राष्ट्र बैंकले गत जेठ पहिलो साता विदेशी मोबाइल पेमेन्ट एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। सो सँगै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले इच्छुक कम्पनीहरुलाई कानुनी रुपमा प्रक्रिया पूरा गरेर आए अनुमति दिने बताएपछि युनियन पेले सोहीअनुसार प्रक्रियागत रुपमा राष्ट्र बैंकबाट अनुमति लिएको थियो।

युनियन पेले नेपालमा बजार प्रवद्र्धनको काम गर्ने जनाएको छ। उसले चालू वर्षभित्रै नेपालमा सबै क्षेत्रमा कारोबार पुर्याउने यसअघि नै घोषणा गरिसकेको छ। हाल युनिपेको क्युआर कोड २० हजारभन्दा धेरै कारोबारस्थलमा स्वीकार्य रहेको छ। नेपालमा केएफसी, पिज्जाहट, नर्थफेस जस्ता अन्तर्राष्ट्रिय ब्रान्डदेखि इसेवा, क्युएफएक्स, नबिल बैंकले समेत कम्पनीको कोडबाट कारोबार गरिरहेका छन्।

वस्तु तथा सेवाकाे कारोबार बढ्ने अपेक्षा

सोमबारदेखि एनआईसीसँग सहकार्य गरेपछि यसको कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ। एनआईसी एसिया बैंकले पनि पछिल्ला वर्षमा तीव्र रुपमा शाखा विस्तार गरिरहेको छ। मुलुकभर यस बैंकले ३ सय १० शाखा कार्यालयहरु, ३ सय ८२ एटीएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका मात्रै करिब १८ लाख ग्राहक रहेका छन्।

भर्चुअल कार्डको सुरुवातले १८ लाख ग्राहकलाई भुक्तानी सेवामा थप सहज बनाउने अपेक्षा बैंकले गरेको छ। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको उल्लेख गरेको छ।

पछिल्लो समय बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad