कारोबार


डिजेल गाडीकै हाराहारीमा आयात हुनथाले विद्युतीय सवारीसाधन

डिजेल गाडीकै हाराहारीमा आयात हुनथाले विद्युतीय सवारीसाधन

वसन्त अर्याल
मंसिर १०, २०७८ शुक्रबार ८:७, काठमाडौँ

नेपालमा डिजेल गाडी र विद्युतीय गाडी बराबरजसो भित्रिन थालेका छन्। विश्वबजारमै विद्युतीय गाडीको बजार बढ्दा नेपालमा पनि डिजेल गाडीकै हाराहारीमा भित्रिन थालेका हुन्। 

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कत्तिकसम्म २५ सय ससीसीम्मका डिजेल गाडी ७ सय १५ वटा आयात भएका छन्। यही अवधिमा २ सय किलोवाट मोटरका विद्युतीय गाडी ६ सय ७३ वटा आयात भएका छन्।

अटो व्यवसायीका अनुसार नेपालमा बुकिङ भएअनुसारको विद्युतीय गाडी आउँदा डिजेलका गाडीभन्दा बढी हुनेछन्। 

पछिल्लो ४ महिनामा डिजेल इन्जिनका १५ सय सीसीसम्म ३०४ वटा गाडी आयात भएका छन् भने १५ सयदेखि २५ सय सीसीसम्मका ४ सय ११ वटा गाडी आयात भएको विभागको तथ्यांकले देखाएको छ। 

यता विद्युतीय गाडीमा १०० किलोवाट विद्युतीय कार, जिप र भ्यान गरी २१० वटा आयात भएका छन् भने १०० भन्दा बढी २ सय किलोवाट मोटर भएका ४६३ वटा गाडी आयात भएका छन्। 

४ महिनामा २ अर्ब रुपैयाँको विद्युतीय गाडी आयात भएका छन्। मूल्यको हिसाबले डिजेलका गाडीभन्दा विद्युतीय गाडीको बढी पर्छ। २५ सय सीसीसम्मका डिजेल गाडी १ अर्ब ५ करोड रुपैयाँको मात्रै आयात भएका छन्। 

सरकारले डिजेल इन्जिनका गाडीमा बढी कर लगाउँदै आएको छ। विद्युतीय गाडीमा कम कर रहेको छ। ४ महिनाको तथ्यांकअनुसार डिजेलको गाडीबाट २ अर्ब ४७ करोड रुपैयाँ राजस्व सरकारले उठाएको छ। जबकि २ अर्बका विद्युतीय गाडी आयात गर्दा ५६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०७७÷०७८ मा भने डिजेल गाडीको तुलनामा विद्युतीय गाडी नगन्य मात्रामा आएका थिए। 

गत वर्ष २५ सय सीसीसम्मका १९ सय ३४ वटा गाडी आयात भएका छन्। जबकि विद्युतीय गाडी १२९ मात्रै नेपाल भित्रिएका थिए। 

व्यवसायीले गत वर्ष सरकारले विद्युतीय गाडीमा कर बढाउँदा आयातमा कमी आएको बताएका छन्। त्यसअघि आव २०७६÷०७७ मा ५ सय ७४ विद्युतीय सवारीसाधन आयात भएका थिए। उक्त वर्ष २५ सय सीसीसम्मका डिजेल इन्जिन गाडी २४ सय ५७ नेपाल भित्रिएको विभागले उल्लेख गरेको छ। 

‘डिजेल इन्जिनभन्दा ईभीको माग बढी’
अटो व्यवसायीले विद्युतीय गाडी डिजेलभन्दा पनि बढी आउने अवस्था रहेको बताएका छन्। व्यवसायीका अनुसार नेपालीको विद्युतीय गाडी माग  आयात गर्न समस्या रहेको बताएका छन्। 

नेपालमा विद्युतीय गाडीमा आक्रामक बजार विस्तार गरिरहेको टाटाले आफ्नो मागअनुसार ईभी नेक्सन ल्याउन नसकेको बताएको छ। 

‘टाटा नेक्सन इभी नेपालमा ६ सय बुकिङ पुग्न थालिसक्यो। हामीले डेलिभरी गर्नसकेका छैनौँ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने, ‘नेक्सन डिजेल अप्सनमा पनि छ तर हामीलाई नेक्सन ईभीको गाडी डेलिभरी गर्न हम्मे–हम्मे परिरहेको छ।’

सिप्रदीले नेपाली बजारको मागअनुसार भारतबाट गाडी आयात हुन नसकेको जनाएको छ।

‘भारतीय बजारमा पनि नेक्सन ईभीको डिमान्ड धेरै छ। त्यसमा पनि निलो कलरमा बढी छ’, ती अधिकारीले भने, ‘नेपालमा पनि निलो कलरमै नेक्सन ईभीको डिमान्ड बढी छ।’ 

हाल एकपटकमा ३०–३५ वटा गाडी मात्रै भारतबाट आयात भइरहेको टाटा नेपालले जनाएको छ। 

निसान नेपालका आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले बुकिङअनुसार डेलिभरी गर्न नसकेको जनाएको छ। 

‘हामीसँग ७० बढी निसान लिफ बुकिङ भएको छ तर डेलिभरी दिन सकिरहेका छैनौँ’, पायोनियर मोटोकर्पका डेपुटी जनरल मार्केटिङ ज्ञानेन्द्र बहादुर चन्दले भने, ‘निसान लिफ जापानबाटै आउने भएकाले डेलिभरीमा समय लाग्ने गरेको छ।’

चन्दले निसानका डिजेल इन्जिनभन्दा विद्युतीय गाडीको बिक्री बढ्नथालेको बताए। निसानले डिजेल इन्जिनमा पिकअप निभरा ल्याएको छ। 

विद्युत् मोटर र डिजेल इन्जिनमा कुन कम्पनीका कस्ता गाडी?
नेपालमा विद्युतीय गाडीमा सर्वाधिक लोकप्रिय अहिले टाटाको नेक्सन इभी रहेको छ। साउनमा नेपालमा सार्वजनिक भएको नेक्सन ईभी ६ सयभन्दा बढी बुकिङ भइसकेको कम्पनीले जनाएको छ। अन्य विद्युतीय गाडीको तुलनामा टाटा नेक्सन ईभीको मूल्य कम हुँदा बढी बिक्री भएको हो। 

टाटासँगै नेपालमा एमजीको एसजेट, हुन्डाईको कोना, कियाको निरो, निशानको लिफ, बीवाईडीको ई६, महिन्द्राको ईटुओ, दिगोको ई ८ नेपालमा बढी बिक्री हुने विद्युतीय कारमा पर्छन्।  

पछिल्लो समय डिजेल इन्जिनमा गाडी उत्पादन बन्द हुँदै गए पनि पेट्रोल इन्जिनभन्दा बढी पावरफुल मानिन्छ। बढी सीसी भएको गाडीमा डिजेल इन्जिन प्रयोग हुन्छ। तर पेट्रोलको तुलनामा डिजेल इन्जिनका गाडीले बढी प्रदूषण गर्ने मानिन्छ।

नेपालमा डिजेल इन्जिनका टाटाकै नेक्सन, हुन्डाई क्रेटा, सुजुकीको भिटारा ब्रेजा, फोर्डको इको स्पोर्टसलगायतका गाडी डिजेल इन्जिनमा पनि उपलब्ध छन्। पेट्रोल इन्जिनका यी मोडलको बिक्री नेपालमा सर्वाधिक भए पनि डिजेल इन्जिनमा कम रहेको व्यवसायी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad