नेपाल मत्स्य व्यवसायी संघले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ।
चितवनमा वार्षिक चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुई हजार ६०० मेट्रिक टन माछा जिल्लामै खपत हुने गरेको संघले जनाएको छ।
जिल्लामा वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए। यस वर्ष उत्पादन बढेर छ हजार ६५३ मेट्रिक टन माछा उत्पादन हुने अनुमान संघले गरेको छ। जिल्लामा एक हजार ३०७ व्यावसायिक माछा खेती गर्ने किसान छन्। जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन्।
चितवनमा उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ हो। जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै अध्यक्ष सुवेदीले यसलाई रोक्नका लागि स्थानीय निकायसँग माग गरिएको बताए। अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ।
राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो । व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताए। ‘राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैँले घोषणा गर्नुपरेको हो,’ उनले भने।
नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ।
नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीले बताए। देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछा बेच्दै आएका छन्। रासस
Shares

प्रतिक्रिया