ad ad

कारोबार


तिहारमा १० करोडको फूल कारोबार हुने, व्यवसायी भन्छन्– १५ लाख सयपत्री माला बिक्छ

तिहारमा १० करोडको फूल कारोबार हुने, व्यवसायी भन्छन्– १५ लाख सयपत्री माला बिक्छ

लक्ष्मी पूजाको दिन बिहीबार काठमाडौँको नयाँ सडकमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण। सबै तस्बिर : रासस


यज्ञराज जोशी
कात्तिक १८, २०७८ बिहिबार १६:४०, काठमाडौँ

यसपालि तिहारको पाँच दिनमा १० करोडको फूल कारोबार हुने अनुमान नेपाल फ्लोरिकल्चर एसोसिएसनले गरेको छ। 

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस अवधिमा साढे १८ लाख माला खपत हुने अनुमान गरिएको छ। तिहारमा मुख्यतः सयपत्री, मखमली र गोदावरी फूलको बढी माग हुने गरेको छ। 

‘मखमली र गोदावरी फूलका ३ लाख तथा सयपत्री फूलका १५ लाख थान माला बिक्री हुने अनुमान गरेका छौँ’, तामाङले भने, ‘१५ मध्ये १३ लाख माला आन्तरिक उत्पादन तथा २ लाख ५० आयातित माला बजारमा बिक्री हुने अनुमान छ।’

यसपल्ट तिहार सुरु हुनु १५ दिनअघि नै व्यापारीहरुले भारतबाट माला भित्र्याएर कोल्ड स्टोरमा राखेका कारण अहिले ती मालाहरुको बजारमा बढी खपत भइरहेको तामाङको भनाइ छ। 

‘भारत सरकारले फूल कृषकलाई मल, बीउमा ८० प्रतिशतसम्म अनुदान दिन्छ। सोही कारण उनीहरुको उत्पादन लागत कम र फूल सस्तो पर्छ’, तामाङले भने, ‘बिहीबार बिहानसम्म पनि बजारमा भारतबाट ल्याइएका सस्तो फूलहरुकै खपत बढी भइरहेको छ। त्यो सकिएपछि स्वदेशी फूलहरुको माग बढ्नेछ।’

भारतबाट कति फूल भित्रियो एकीन तथ्यांक भने एसोसिएसनसँग छैन। आफूहरु तथ्यांक संकलन गरिरहेको उनले बताए। फूलको सबैभन्दा बढी माग लक्ष्मी पूजाको दिनदेखि भाइटीकासम्म हुने भएकाले बिहीबार नेपाली नेपाली फूलहरु पनि उपभोक्ताको घरघरमा पुग्ने उनको विश्वास छ। 

बजारमा अहिले भारतीय सयपत्री फूल ५० रुपैयाँ र नेपाली फूलको माला ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ। उक्त मूल्यमा बिक्री नगरेको कृषको लागत नै उठ्ने अवस्था नरहने अध्यक्ष तामाङको भनाइ छ। 

नेपालमा ९० प्रतिशत फूलहरुको आन्तरिक उत्पादनबाटै धानिएको र १० प्रतिशत फूलको माग विदेशीबाट आयात गर्नुपर्ने एसोसिएसनका अध्यक्ष तामाङले बताए। 

‘फूलमा समग्रमा ९० प्रतिशत आत्मनिर्भर छौँ। सिजनल रुपमा माग बढी हुने समय जस्तैः तिहार, भ्यालेन्टाइनमा १० प्रतिशत फूलहरु आयात गर्नुपर्ने हुन्छ’, तामाङले बताए। 

अघिल्लो वर्षको तिहारमा र यस वर्षको तिहारमा फूलको कारोबार उस्ताउस्तै देखिएको उनले बताए। 

नेपालमा ७ सय बढी पुष्प व्यवसायमा आवद्ध कृषकहरु एसोसिएसनमा आबद्ध छन्। त्यसबाट संगठित नभएका पनि थुप्रै किसानहरु रहेको तामाङले बताए। नेपालमा उत्पादन हुने फूलमा ६० प्रतिशत काठमाडौं उपत्यका र ४० प्रतिशत प्रदेशहरुमा खपत हुने गरेको उनले बताए।  

कोरोना महामारीले फूल व्यवसायमा १ अर्बको क्षति भएको तामाङ बताउँछन्। एसोसिएसनको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ भन्दा अघि वार्षिक २ अर्ब बढीको फूल कारोबार हुन्थ्यो। तर कोरोना कहर सुरु भएसँग २०७६–७७ मा कारोबार घटेर २ अर्बमा पुगेको थियो। २०७७–७८ मा भने १ अर्ब ६३ करोडमात्रै कारोबार भएको तामाङले बताए। 

उनले व्यवस्थित बजार नभएकाले सोचेजस्तो व्यवसाय हुन सकिरहेको बताए। तरकारी बजारजस्तो फूल बजार पनि बनाइदिए उपभोक्ताले नर्सरी नर्सरी चहार्नुपर्ने समस्या नहुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .