झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन्।
यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फार्मका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए।
‘चार दिनयता माछा मरिरहेका छन्’, गौतमले भने, ‘कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो।’
गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ। करिब आधा किलो तौल भएको माछा उनले केही दिन अघिदेखि मात्र बिक्री गर्न थालेका थिए। ‘सोमबार आठ/दश वटा माछा मरेको भेट्यौँ’ उनले भने, ‘त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ।’
पोखरीमा १० हजार माछाको भुरा हालेको उनको भनाइ छ। पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू तीन लाखभन्दा बढी घाटा हुने उनले बताए। पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उनले बताए। मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उनले बताए।
सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताए।
पोखरीमा विष हालिएको विषयमा उनले प्रहरी चौकी पथरियामा समेत निवेदन दिएका छन्। निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताए।
‘माछा मरेको छ’, उनले भने, ‘अनुसन्धान गर्दैछौँ।’
Shares
प्रतिक्रिया