ad ad

कारोबार


‘थोरै पुँजीका लगानीकर्तालाई म्युचुअल फन्ड ठीक’, सेकेन्डरी मार्केटमा २९ अर्ब परिचालन

‘थोरै पुँजीका लगानीकर्तालाई म्युचुअल फन्ड ठीक’, सेकेन्डरी मार्केटमा २९ अर्ब परिचालन

नेपालखबर
असोज १, २०७८ शुक्रबार १८:२७, काठमाडौँ

सरोकारवालाहरुले सामूहिक लगानीकोष योजना (म्युचुअल) फण्डका इकाई कम पुँजी भएकाहरुको लागि प्रभावकारी हुने बताएका छन्। 

शुक्रबार मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको म्युचुअल फण्डको वारेमा बुझौ र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन्। 

कार्यक्रममा मर्चेन्ट बैंकर एसोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले कम पुँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्युचुअल फन्डमा लगानी प्रभावकारी हुने बताए। 

कम पुँजी भएका, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुअल फन्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ। 

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ। 

सूचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सही सूचना आजको आवश्यकता रहेको समेत ढकालको भनाइ छ। 

दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाव दिए। 

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फन्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाई नै दोहो¥याए। 

योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ। 

हाल नियामक निकायबाट १७ योजना व्यवस्थापकहरुलाई म्युचुअल फन्ड सञ्चालनका लागि अनुमति दिएको उनले बताए। 

दोस्रो बजारमा २५ वटा बन्दमुखी योजनाहरुको २९ अर्ब बराबरको पुँजी परिचालन रहेको जानकारी दिए। यीबाहेक चार खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए। 

म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाइ छ। 

म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आइरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्तासरह भएको प्रष्ट पारे। 

म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पुँजीको जिम्मा लिई थोरै भए पनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले ऊ झनै चनाखो भएर लगानी गर्नुपर्ने गिरीले बताए। 

एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए। 

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औँल्याए। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का अध्यक्ष मोदनाथ ढकालले पनि दीर्घकालीन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पु¥याउन आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .