ad ad

कारोबार


भ्याक्सिन लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हटाउन माग

भ्याक्सिन लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हटाउन माग

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २२:२, काठमाडौँ

नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पीसीआर रिपोर्ट निगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ। 

परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पीसीआर निगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो।  

पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरुत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ।

परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। 

यसैगरी नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। 

पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए। 

समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताइन्। उनले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।

यसैगरी परिषदकी राष्ट्रिय परिषद सदस्य छायाँ शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवद्र्धनका लागि परिसंघले पहल अघि बढाउनुपर्ने उल्लेख गरिन्। 

परिसंघले गठन गरेको यस समितिमा छायाँ शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .