ad ad

कारोबार


कस्ता छन् साझाले चिनियाँ कम्पनीसँग किन्नलागेका विद्युतीय बस?

कस्ता छन् साझाले चिनियाँ कम्पनीसँग किन्नलागेका विद्युतीय बस?

सीएचटीसी किनवेनका २८ सिटे बस।


वसन्त अर्याल
भदौ २०, २०७८ आइतबार १७:१८, काठमाडौँ

साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस चिनियाँ कम्पनी सीएचटीसी किनवेनसँग खरिद गर्ने भएको छ। 

साझाले २६ मार्चमा आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डरमा ९ वटा कम्पनीले आवेदन दिएकामा सीएचटीसी कम्पनी छनोट भएको हो।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बस खरिदको प्रक्रिया अगाडि बढेको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार पहिलो चरणमा तीनवटा विद्युतीय बस आइपुग्नेछन्। ४ महिनाभित्र ती विद्युतीय बस नेपाल आइपुग्नेछन्। 

साझा यातायातका अनुसार करबाहेक एउटा बस खरिदका लागि एक करोड ५ लाख पर्नेछ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस  एक करोड ५२ लाख लाग्नेछ। यो मूल्य भनेको साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कम हो। 

अध्यक्ष दीक्षितले नौवटा कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनीका विद्युतीय बस खरिद गर्न लागिएको बताए। 

‘नौवटा कम्पनीमा तीनवटा सर्ट लिस्टमा परेका थिए’, दीक्षितले भने, ‘बीवाईडी सर्ट लिस्टमा परे पनि उसको मूल्य धेरै हुँदा सीएचटीसी कम्पनी छनोट भएको हो।’

चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै दीक्षितले सरकारले त्यसका लागि सहयोग गर्नुपर्ने बताए। 

साझाले पहिलो चरणमा ६१ करोड लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ। सीएचटीसी किनवेन (नान्जिङ) अटोमोबाइल कम्पनी छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो।  

साझाले ४ महिनाभित्र तीनवटा बस नेपाल ल्याएर परीक्षण सुरु गर्नेछ।  सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ। बसमा १६१ किलोवाट पर आवरको बाट्री जडान गरिनेछ। जुन चार घण्टामा चार्ज हुनेछ।

नेपालमा यसअघि नै सीएचटीसीका बस दीगो नेपाल प्रालिले भित्र्याएको छ। कम्पनीले सीएचटीसीका २ वटा नेपाली सडकमा परीक्षण गुण एयरलाइन्सलाई बिक्री गरेको कम्पनीले जनाएको छ। 

साझाले खरिद गरेका विद्युतीय बसको सर्भिसिङ दीगो नेपालले नै गर्ने कम्पनीका सीईओ दीपक थापाले बताए। 

‘दीगोले बिक्री गर्दै आएको गाडी नै साझाले खरिद गर्ने भएको हो’, थापाले भने, ‘ड्राइभरसहित २७ सिटे बस साझाले खरिद गर्छ।’

थापाका अनुसार एकपटकको फुलचार्जमा बस ३५० किमिसम्म गुड्न सक्छन्। साझाले खरिद गर्ने बसमा चार्जर सीएचटीसीले नै उपलब्ध गराए पनि स्टेसन साझा आफैँले राख्नुपर्नेछ। 

‘साझा यातायातले आफ्नो पार्किङ क्षेत्रमा चार्जिङ स्टेसन राख्छ’, साझाका अध्यक्ष दीक्षितले भने, ‘सबै ठाउँमा साझा आफैँले गर्न सक्दैन। चार्जिङ स्टेसनको लागि सरकारले जग्गा छुट्याउनुपर्छ।’

सरकारले विद्युतीय बस खरिदको लागि भन्दै साझामा तीन अर्बको सेयर लगानी गरेको छ। साझाले ३०० वटा विद्युतीय हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ। 

दीगोको व्यापार : विद्युतीय कारदेखि माइक्रोसम्म
दीगोले ई८ विद्युतीय कार बिक्री गर्दै आएको छ। एकपटकको चार्जमा १५० किमि गुड्छ। ५ घण्टामा गाडी फुल चार्ज हुने कम्पनीले जनाएको छ। 

गाडीमा १४.८ किलोवाट आवर, १५ किलोवाटको मोटर रहेको गाडीमा ५ सिट रहेको छ। उक्त गाडीको ग्राउन्ड क्लियरेन्स १६०  एमएम छ। 
 
त्यस्तै दीगो ईएम ३ को विद्युतीय भ्यान नेपाल भित्र्याएको छ। कम्पनीले ५ सिट क्षमताको भ्यानमा २५० देखि ३५० सम्मको रेन्ज, ३० र ४० किलोवाट पावरको मोटर रहेको छ। 

विद्युतीय माइक्रोबसको रुपमा दीगो ई ६ उपलब्ध छ। एक पटकको चार्जमा २१० किमि गुड्ने गाडीमा २० जनाको बोक्नसक्ने क्षमता छ। 

ई ६ फास्ट चार्जरबाट २ घण्टामै फुल चार्ज हुन्छ। गाडीमा ७८ किलोवाट आवरको ब्याट्री, ११० किलोवाट पिक पावरको मोटर, ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। 

त्यसैगरी ११ सिटे (माइक्रो) दीगो डाँफे पनि बिक्री गर्दै आएको जनाएको छ। 

२५० किमि रेन्ज भएको डाँफेमा ४२ किलोवाट आवरको ब्याट्री, ६० किलोवाट आवरको ब्याट्री र ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ।

१ घण्टा ३० मिनेटमा डाँफे फुल चार्ज हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .