अगद नेपाल भेन्चर प्रालिले म्याद सकिएका वस्तुमा रिलेबलिङ गरेको भेटिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा एक दर्जन वस्तुहरुको रिलेबलिङ गरेको भेटिएको हो।
बालाजुस्थित अगद नेपाल भेन्चर कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित उपभोग गर्ने म्याद समाप्त भएका पास्ता, सेबइ, कुकिज, चक्लेट, सोयाबिन, बिस्कुट लगायतका करिब एक दर्जन जति खाद्य वस्तुहरूमा उपभोग्य मिति तथा मूल्य सम्बन्धी नयाँ लेबल लगाइ विक्री वितरण गरेको भेटिएको हो।
गोप्य सूचनाका आधारमा विभागका निर्देशक शिवराज सेढाईँको नेतृत्वको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका प्रतिनिधि र सूचनादाता सहितको अनुगमन टोलीले २०७८ भाद्र ८ गते लेबल गर्ने सहित २ वटा गोदाम सिलबन्द गरेको छ।
अनुगमन टोलीले थप अनुसन्धानका लागि पुनः लेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुहरु (नमुना) बरामद गरेको छ।
प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने मुख्य सञ्चालक प्रभात देव फरार छन्। उनको प्रहरीले खोजी गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
Shares
प्रतिक्रिया