ad ad

कारोबार


दक्षिण कोरिया श्रमिक पठाउने प्रक्रिया पूरा, टेन्डर आह्वान

दक्षिण कोरिया श्रमिक पठाउने प्रक्रिया पूरा, टेन्डर आह्वान

नेपालखबर
भदौ २, २०७८ बुधबार ६:५२, काठमाडौँ

झन्डै डेढ वर्षदेखि रोकिएको दक्षिण कोरियाको रोजगारीमा श्रमिक पठाउने प्रक्रिया पूरा भएको छ। सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौंबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि आज (बुधबार) टेन्डर आह्वान गरेको हो। 

सरकारले आर्थिक वर्ष २०७९/०७९ वा कोरोना महामारीका कारण सीधा  उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको हो। 

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो। तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त थिएन। तर यसपटक कोरोना जोखिमका कारण कोरियाले सीधै सीओल पुग्नुपर्ने सर्त राखेपछि सरकारले कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरेको हो। इजजात प्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न सरकारले भनेको हो। 

यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्छ, त्यसैबाट ट्रान्जिट हुँदै जाने गरेका थिए। तर अहिले सीधै कोरिया पुग्नुपर्नेछ। नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्छ।

यसअघि कार्यविधिमा सबैभन्दा कममा जसले लैजाने टेन्डर हाल्छ, श्रमिक लैजाने जिम्मा उसैलाई दिने गरिएको थियो। कोरिया जाने हवाईभाडालगायत सम्पूर्ण खर्च श्रमिक आफैँले बेहोर्नुपर्छ। 

नयाँ टेन्डरअनुसार लाग्ने हवाईभाडा पनि श्रमिकले नै तिर्नेछन्। बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो। 

कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन्। 

श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने र कोरोना बिमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ। तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको हो। 

कोरोना संक्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन पनि बन्द भएको थियो। झन्डै ७ हजार नियमित र पुनः जान लागेका ३ हजार श्रमिक रोकिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

भाषा परीक्षा उत्तीर्ण गरेर सबै प्रक्रिया पूरा गरे पनि कोरिया जान नपाउँदा उनीहरूले पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए। 

कन्फर्मेसन लेटर आएको ६ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान छ। अन्यथा रोजगारी गुम्छ। तर यसबीच म्याद सकिएकाहरूको एक वर्ष म्याद थप भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .