कारोबार


एनसेलसहित तीन बहुराष्ट्रिय कम्पनीको साढे २ अर्ब नेपालबाट बाहिरिँदै

एनसेलसहित तीन बहुराष्ट्रिय कम्पनीको साढे २ अर्ब नेपालबाट बाहिरिँदै

दीपक भट्ट
साउन ७, २०७८ बिहिबार १५:२९,

एनसेलसहित तीन बहुराष्ट्रिय कम्पनीको ठूलो रकम बाहिरिने क्रममा छ।  

एनसेल, गोर्खा ब्रुअरी, मस्र्याङ्दी हाइड्रोपावरमा लगानी गर्ने विदेशी कम्पनीले आफ्नो लगानीको नाफाबापतको लाभांश तथा रोयल्टीबापतको रकम बाहिर लाने अन्तिम तयारी गरेका हुन्। 

यी तीनवटा कम्पनीबाट मात्रै २ अर्ब ५७ करोड रुपैयाँ बाहिरिन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनी तथा विदेशी लगानीकर्ताहरुले आफ्नो नाफा तथा लगानी नै फिर्ता लान पाउने अधिकार छ। 

सो अनुसार जुनसुकै समयमा पनि सो रकम प्रक्रिया पूरा गरेर लान सकिन्छ। अहिले उक्त तीन ठूला कम्पनीको २ अर्ब ५७ करोड रुपैयाँ बाहिरिने प्रक्रियामा छ। 

यसमध्ये गोर्खा ब्रुअरीबाट मात्रै १ अर्ब ७२ करोड रुपैयाँ बाहिरिनलागेको छ। 

गोर्खा ब्रुअरीमा लगानी गर्ने विदेशी कम्पनी साउथ एसिया प्रालि सिंगापुरले लाभांशबापतको उक्त रकम विदेश लानलागेको हो। 

सेयर मूल्यांकनअनुसार अघिल्लो आर्थिक वर्ष नाफाबाट साउथ एसिया प्रालि सिंगापुरको भागमा १ अर्ब ८० करोड रुपैयाँ लाभांश परेकोे थियो। यसमा लाभांश कर ५ प्रतिशतले कट्टा गरी १ अर्ब ७२ करोड रुपैयाँ लैजान गत फागुनमै कम्पनीले उद्योग विभागमा निवेदन दिएको थियो।  

निवेदनसँगै सरकारले अमेरिकी डलरमा उक्त रकम लैजान स्वीकृति दिइसकेको छ। सोही रकम राष्ट्र बैंकको प्रक्रियामा रहेको राष्ट्र बैंकका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यसबाहेक एनसेल आजियटा कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको ४५ लाख अमेरिकी डलर पनि मलेसिया जाने प्रक्रियामा छ। 

एनसेलको रोयल्टीबापतको रकम मलेसियास्थित आजियटा ग्रुप बर्हाडले लैजान लागेको हो।  सो कम्पनीले गत वर्षदेखि रकम विदेश लान खोजेको रोयल्टीबापतको रकम रोकिएको थियो।

यही असारमा नेपाल सरकारले विदेश लान स्वीकृत प्रदान गरेपछि कम्पनीले अहिले रकम लैजान लागेको हो। 

त्यस्तै, मर्स्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडबाट पनि २४ करोड ६० लाख ३० हजार ८ सय ९३ रुपैयाँ विदेशिने प्रक्रियामा छ। 

विदेशी लगानीकर्ता कम्पनी राजरत्न इनर्जी होल्डिङ्स भारतले लगानी फिर्तामार्फत सो रकम लैजान लागेको हो। 

गत वर्ष मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर कम्पनीकै अन्य सेयरधनीहरुलाई बिक्री गरिएको थियो।  

उक्त हाइड्रोपावर कम्पनीमा राजरत्न इनर्जी होल्डिङ्सको ३२ करोड ७४ लाख पुँजी रहेको मूल्यांकनसहित त्यसमा लाग्ने पुँजीगत लाभकरलगायतका सबै कर कट्टा गरी अहिले २४ करोड रुपैयाँ लान नेपाल सरकारले स्वीकृति प्रदान गरिसकेको छ।  

सो रकम भारतीय रुपैयाँमा विदेश लान नेपाल राष्ट्र बैंकमा प्रक्रियामा छ। त्यस्तै राज ब्रुअरीबाट पनि ८२ हजार रुपैयाँ जर्मनी जाँदै छ। 

विदेशी कम्पनी एमएस वेस्टनर इन्टरनेशनल केजी, जर्मनीले ट्रेडमार्क लाइसेन्सबापतको रकम विदेश लैजानलागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad