ad ad

कारोबार


साढे दुई महिनापछि फेवातालमा डुंगा सञ्चालन

साढे दुई महिनापछि फेवातालमा डुंगा सञ्चालन

फाइल फाेटाे


नेपालखबर
साउन ६, २०७८ बुधबार २०:०,

पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुंगा सञ्चालनमा आएको छ। दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुंगा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन्।
 

निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनः व्यवसाय सुरु भएपछि उत्साह छाएको हो। फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले प्रशासनसँग समन्वय गरेर डुंगा व्यवसाय सुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए।

भीडभाड हुन नदिन २० फुटे डुंगामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए। यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो। 
उनले भने, ‘यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुंगा मात्र सञ्चालमा छन्, फेवातालमा डुंगा सुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ।’

तालमा डुंगा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन। मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ। डुंगा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ। फेवातालमा ७६४ डुंगा रहेकामा बाराहीघाटमा मात्र ३०० छन्। निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुंगा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ। 

फेवातालमा नौ वर्षदेखि डुंगा चलाउँदै आएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय सुरु भएपछि उत्साहित भएको बताए। 

कोरोना संक्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुंगा चढ्न रोक लगाइएको उनले जानकारी दिए। 

‘कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ’, परियारले भने, ‘यात्रु कम हुँदा डुंगाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी अहिले नभए पनि व्यवसाय सञ्चालन हुँदा खुशी लागेको छ।’ 

अर्का डुंगा चालक बाबुराम पुरीले निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताए। पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फर्किने विश्वास गरिएको छ। सम्भावित संक्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जनाउँदै उनले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .