ad ad

कारोबार


काठमाडौंमा ‘सेफ्टी राइडिङ इनिसिएटिभ’ सुरु

काठमाडौंमा ‘सेफ्टी राइडिङ इनिसिएटिभ’ सुरु

नेपालखबर
साउन ३, २०७८ आइतबार १६:३१,

फेडरेसन इन्टरनेशनल डेल मोटोसाइक्लिजम (एफआईएम)को सहयोगमा नासा नेपालको समन्वय र विमा नेपालको व्यवस्थापनमा सेफ्टी राइडिङ इनिसिएटिभ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। 

ललितपुरको सातदोवाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले सो अभियान सुरु गरेका हुन्। 

कार्यक्रममा विमा नेपालकी संयोजक सुनिता देशारले मोटरसाइकल राइडिङको टर्मिनोलोजी र टुल्स, सेफ्टी राइडिङको महत्व तथा नासा नेपाल तथा एफआईएमको अभियान  र नासा नेपालका उपाध्यक्ष अनिल बरालले नासा नेपाल तथा विमा नेपालको सहकार्य वारेमा प्रस्तुतीकरण गरेकी थिइन्। 

त्यस्तै उक्त अभियानका सदस्य प्रमोद श्रेष्ठ ‘गुफी’ र विमा नेपालकी कोषाध्यक्ष सोनी तण्डुकारले कार्यक्रमका बारेमा राइडरहरुलाई जानकारी गराए। 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ, सगरमाथा आरोही तथा राइडर कल्पना महर्जन, नासा नेपालका कार्यसमिति सदस्य दिप्रश शाक्यलगायतको उपस्थिति थियो। 

उक्त अवसरमा सहभागी राइडर तथा अफिसियलहरुलाई सेफ्टी राइडिङको प्रयोगात्मक अभ्यास गराइएको थियो । 

यस अभियानअन्तर्गत देशभरका १ हजार महिला मोटरसाइकल÷स्कुटर राइडरहरुलाई अनुशिक्षण प्रदान गरिनेछ। 

राइडरहरुले ट्राफिक रुल्स एन्ड रेगुलेसन, मेकानिकल एन्ड टेक्निकल तथा मोटरसाइकल सेफ्टी एन्ड सस्टेनेबिलिटीको वारेमा आवश्यक जानकारी प्राप्त गर्नेछन्। 

नेपालभर झापा, धरान, निजगढ, हेटौंडा, तुल्सीपुर, कावासोती, नारायणगढ, पोखरा, सुर्खेत, धनगढी र काठमाडौं लगायतका विभिन्न सहरमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ। 

एफआईएमको टु टायर सिस्टमअन्तर्गत स्पोर्ट्स र वियोन्ड स्पोर्ट्स रहेकोमा सो अभियान वियोन्ड स्पोर्ट्स अन्तर्गत नासा नेपालको विशेष टिमले सञ्चालन गर्नेछ। 

उक्त विशेष टिममा गोविन्द भट्टराई, सन्तोष न्यौपाने, प्रकाश कपुरी, विनोद तण्डुकार, प्रमोद श्रेष्ठ ‘गुफी’, सुनिता देशार, रवि थापा र विपिन गौतमलगायतका व्यक्तित्वहरु संलग्न छन्। 

नेपालमा हाल ४० लाख भन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ। 

तीमध्ये ८० प्रतिशत हाराहारी मोटरसाइकल छन्। प्रत्येक दिन हुने सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर जस्ता टु ह्विलरको संख्या अत्यधिक छ। पछिल्लो दिनमा महिला राइडरहरु बढ्दै गएको परिप्रेक्ष्यमा उनीहरु समेत दुर्घटनामा पर्ने सम्भावना अत्यधिक देखिन्छ। यसकारण पनि महिला राइडरहरुका लागि यस किसिमका जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । 

मोटरसाइकल राइडर तथा पैदल यात्रीहरु सवारी दुर्घटनाको ‘रिस्क जोन’मा रहेको मानिन्छ। 

यो समस्या विश्वकै अटोमोबाइल उद्योगको लागि एउटा ठूलो चुनौती बनेको छ भने नेपाल जस्तो गरिब देशको लागि राष्ट्रिय अर्थतन्त्रमै ठूलो प्रहार। 

नेपाल सरकारले पनि रोड सेफ्टी एक्सन प्लान २०२०–३० को प्रस्ताव सार्वजनिक बहसमा ल्याएको छ। तर यसलाई अनुमोदन गरी कार्यान्वयन गरेको छैन। 

मोटरसाइकलबाट हुने दुर्घटनाका कारण अत्यधिक मात्रामा टाउकोमा चोट लाग्ने गरेको पाइन्छ र यसको मुख्य कारण गुणस्तरीय हेल्मेटको अभावलाई मानिन्छ। 

साथै ठीक ढंगले हेल्मेट तथा राइडिङ गियर नहुनु पनि यसको अर्को कारण मान्न सकिन्छ। अझ अधिकांश दुर्घटनामा पिलियन राइडर अर्थात पछिल्लो भागमा बस्ने राइडरलाई बढी क्षति पुगेको पाइन्छ। यसले गर्दा पिलियन राइडरलाई पनि गुणस्तरीय हेल्मेट अनिवार्य गर्न ढिलाइ भइसकेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले नासा नेपालको लामो लबिङपश्चात हेल्मेटको राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण गरिसकेको छ, जसलाई ऐनमार्फत बाध्यकारी बनाएर कार्यान्वयन गर्नका लागि दबाब दिनु यस क्षेत्रमा संलग्न सबैको दायित्व हो । 

नेपालमा विगत लामो समय देखि दर्जनौँ संघ÷संस्थाहरु नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी – नेपाल नामक नेटवर्कमार्फत विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। यसै अन्तर्गतको एउटा महत्वपूर्ण अभियान सुरु गरिएको नासा नेपालले जनाएको छ। 

यसको समापन आगामी सेप्टेम्बर अन्तिम साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ कन्फ्रेन्समार्फत गरिनेछ। 

देशव्यापी रुपमा सञ्चालन गरिने सेफ्टी राइडिङ इनिसिएटिभ अभियानअन्तर्गत मोटरसाइकलको महत्व र फाइदा, मोटरसाइकलमार्फत महिला सशक्तीकरण, मोटरसाइक्लिङ स्पोर्ट्स, टु ह्विल टुरिङ र ई–बाइकको वारेमा समेत आधारभूत जानकारी प्रदान गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .