ad ad

कारोबार


नेपालमै विद्युतीय गाडी ‘एसेम्बल’को लागि २५ वर्षे जग्गा लिज सम्झौता

नेपालमै विद्युतीय गाडी ‘एसेम्बल’को लागि २५ वर्षे जग्गा लिज सम्झौता

प्रतिनिधिमूलक तस्बिर।


नेपालखबर
असार २२, २०७८ मंगलबार १८:३,

नेपालमै विद्युतीय गाडी एसेम्ब्ली (पार्टपुर्जा ल्याएर गाडी बनाउने) कार्यका लागि जग्गाको लिज (भाडा) सम्झौता भएको छ। 

रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल उद्योग स्थापनाको लागि सुन्दर अटो इन्जिनियरिङ प्रालिलाई लिजमा दिने गरी २५ वर्षको सम्झौता भएको हो। 

उक्त नगरपालिकाको १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गरिने जनाइएको छ। 

नेपालमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले चीनको सिचुवान गुहोङ अटोमोबाइल (बीएके) र दुवईको सेख अटोसँग सहकार्य गरी एसेम्बल प्लान्ट स्थापना गर्नलागेको हो। 

प्लान्ट स्थापनाका लागि कम्पनी र नगरपालिकाबीच भएकाे सम्झाैता

सुन्दर इन्जिनियरिङका अध्यक्ष भेष बहादुर थापाले मुख्य लगानी चिनियाँ र दुवईको कम्पनीले गर्ने बताए। 

‘सैनामैना नगरपालिकासँग जग्गा सम्झौता गरी पहिलो खुट्किलो पार गरेका छौँ’, थापाले नेपालखबरसँग भने, ‘दुई हप्ताभित्रै चिनियाँ र दुवईका लगानीकर्तामार्फत शिलान्यास गरेसँगै अर्को खुट्किलो पार गर्छौँ।’

सुन्दर अटो इन्जिनियरिङले जग्गा लिजमा प्रयोग गरेबापत वार्षिक छ लाख रुपैयाँ नगरपालिकालाई भाडाबापत प्रदान गर्ने, नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाउने सहमति भएको छ।

उक्त प्लान्टको लागि पहिलो चरणमा करिब साढे ३ अर्ब लगानी हुँदै छ। 

सुन्दर अटो इन्जिनियरिङको भने थोरै मात्र लगानी रहेको कम्पनीले जनाएको छ।    

‘भौतिक संरचनामा ५० प्रतिशत हाम्रो लगानीमा हुन्छ। उनीहरुको प्राविधिकलाई बस्ने घरको निर्माण र बजारीकरणमा हाम्रो लगानी हुन्छ’, अध्यक्ष थापाले भने।

भौतिक संरचना निर्माण भइसकेपछि ४७ प्रतिशत चीनको बीएके र ४६ प्रतिशत दुवई शेख अटो ग्रुपको लगानी हुनेछ। 

बाँकी ७ प्रतिशत सुन्दर अटो इन्जिनियरिङले व्यहोर्नेछ।   

अहिले भौतिक संरचना निर्माण तथा १०० वटा बस निर्माणको लागि पहिलो चरणमा ३ अर्ब ६० करोड लगानी हुँदै छ। दोस्रो चरणमा बजार मूल्यांकन गरेर थप २ अर्ब ४० करोड लगानी थप गर्ने योजना छ। 

‘दुवईको कम्पनीको २ अर्ब ४० करोड लगानी हुन्छ भने अर्को चाइना बीएके कम्पनीको ३ अर्ब ६० करोड लगानी हुन्छ’, थापाले भने, ‘नेपाली बजारमा माग बढ्दै जाँदा तेस्रो चरणमा ६ अर्बबाट ८ देखि ९ अर्ब पु¥याउने लक्ष्य रहेको छ।’

बीएकेले चाइनामा विद्युतीय गाडीसँगै ब्याट्री पनि आफैँ उत्पादन गर्दै छ। 

दुवईको शेख कम्पनीबाट बसको टायर, एसीसम्बन्धी सामग्री, बसमा प्रयोग हुने सिसा लगायतको सामग्री ल्याउँछ। 

नेपालमा एसेम्बल भएका गाडीमा चाइनाको बीएके ब्रान्डकै लोगो हुन्छ। लोगोभन्दा तल त्यसमा नेपाली नामकरण हुन्छ। 

एसेम्बल प्लान्टबाट १०.५ मिटरका ३० युनिट बस, ९.५ मिटरको २० युनिट जान्छ, ८.५ को २० युनिट र १२ मिटरको २० युनिट बस उत्पादन हुनेछ। 

शेख अटो कम्पनी नेपालमा सुन्दर यातायातसँगको सहकार्यमा सार्वजनिक यातायात सञ्चालन गर्ने व्यावसायिक सम्झौता भएको थापाले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .