हङकङमा ज्ञानेन्द्र–दीपेन्द्रसँग त्यो जम्काभेट, रिपल्सबेको बाल्कोनीमा बीपीको यो तस्बिर

हङकङमा ज्ञानेन्द्र–दीपेन्द्रसँग त्यो जम्काभेट, रिपल्सबेको बाल्कोनीमा बीपीको यो तस्बिर

इञ्जिनियर भतिजा नरेश कोइरालाको हङकङ रिपल्सबेस्थित अपार्टमेन्टको बाल्कोनीमा बीपी र सुशीला कोइराला (तस्बिरः सामाजिक सञ्जाल)


कमल पौड्याल
मंसिर ४ , हङकङ

सन् ९० को दशकमा हङकङ बसाइताका हप्तामा एकदुई दिन वानचाइको अध्यागमन विभाग आउजाउ हुन्थ्यो। नेपाल, भारत वा अन्य कुनै पनि देशबाट रेस्टुरेन्टमा रोजगार भिसामा म्यानेजर, सेफ, गायक र सङ्गीतकारजस्ता पदमा कर्मचारी ल्याउन छुट थियो। साथै कर्मचारीका परिवारका आश्रित भिसाको लागि पनि निशुल्क सहयोग गरिन्थ्यो। नयाँ प्रवेश भिसाका लागि दरखास्त वा मागअनुसार थप कागजात र कहिले पुरानाका नवीकरण आदि इत्यादि भइरहन्थ्यो। मलाई यो काम सिकाउने मेरा गुरु उतिबेलाको ब्लेसर्न लिमिटेड हङकङ अन्तर्गत सूर्य रेस्टुरेन्टका डाइरेक्टर त्रिलोक विश्वकर्मा थिए। 

अहिले जस्तो छ्यासछ्यास्ती कानुनी परामर्श केन्द्रहरु थिएनन्। वकिलहरु निकै महङ्गो पथ्र्यो। गाह्रोसांग्रोमा त्रिलोकजीकै दक्षिण भारतीय मूलका मित्र डा. बीडी दशाहरीले सहयोग गर्ने गर्थे। अध्यागमन विभागका जटिल प्रश्न वा खोजीनीतिको स्पष्टीकरण समाधानका उपाय कम्प्युटरमा टाइप गरेर दिन्थे उनी। काउलुन चिम सा चुइ इस्टको हङकङ पोलिटेक्निक विश्वविद्यालयमा हाडजोर्नी विषयमा प्राध्यापन गर्थे यी डाक्टर। आक्कलझुक्कल दस्तुर स्वरूप निशुल्क भोजन ग्रहण गर्न भने कहिले एक्लै, कहिले परिवारसहित रेस्टुरेन्टमा आउँथे। 

चिम सा चुइबाट भूमिगत रेलमार्ग हुँदै करिब १५–२० मिनेटमै वानचाइको अध्यागमन मुख्यालय पुगिने भए पनि मलाई चाहिँ समय मिल्यो भने स्टार फेरीबाट पानीजहाजमै आउजाउ गर्न रमाइलो लाग्थ्यो र लाग्छ अझै। 

तिथिमिति यकिन भएन, सन् १९९४ को जुनजुलाईको कुनै दिन हुनुपर्छ, निकै गर्मी भएकोले स्टार फेरीबाट ओर्लिएर हार्बर सिटी (हङकङको महङ्गो किनमेल केन्द्र) को बाटो हुँदै फर्किदै थिएँ। तत्कालीन श्री ५ को सरकारका तर्फबाट ब्रिटिसशासित हङकङका लागि सम्पर्क अधिकारी कर्नेल उज्वलविक्रम राणासँग जम्काभेट भयो। हार्बर सिटीको पश्चिम ढोकाबाहिर सिँढीमा उभिएर रोथमन चुरोटको सर्को तान्दै रहेछन्। 

‘ओहो, सर नमस्कार!’

‘नमस्कार कमलजी!’

‘अनि कताबाट यहाँ यतिबेला?’ मैले सोधेँ। चाँडोचाँडो चुरोटको सर्को तान्दै, भित्र हेर्दै गरिरहेका उनी हतारमा देखिन्थे।

हङकङको रिपल्सबेस्थित उज्वल बिक्रम राणाको निवासमा डिनरको क्रममा कमल पौड्याल

हङकङमा एउटा जमघटमा उज्वल बिक्रम राणाका साथ कमल पौड्याल  

आधी नै चुरोट निभाएर ‘भित्र जाऊँ, म भन्छु कमलजी’ भन्दै उनी अघि लागे। 

अनि परैबाट सिन्यालको शोरुमतिर देखाउँदै भने, ‘ऊ सरकारको सवारी छ, किनमेलका लागि। म चाहिँ चुरोटको तलतल मेटाएर कुर्दै।’ 

‘को सरकार?’

‘ज्ञानेन्द्र सरकार र दीपेन्द्र सरकार। चाइना भ्रमणपछि हङकङ हुँदै नेपाल फिर्ती सवारी पर्सि। पेनेनसुला होटलमा राज होइबक्सेको छ,’ उनले भने। 

‘तपाईंहरुलाई फोन गर्नै सोचेको थिएँ, यहीँ भेट भयो। भोलि बेलुका घरमै नेपाली खाना ज्युनार हुने हुकुम भएको छ। रेस्टुरेन्टबाट अलिअलि खाना टेकआउट चाहिन्छ होला,’ उनले भने, ‘त्रिलोकजीसँग स्पोन्सर भन्नुपर्ला यसपालि। मेनुको लागि बेलुकातिर रेस्टुरेन्टमा आउँछु।’

‘हुन्छ, भैहाल्छ,’ मैले भनेँ।

अनि हतार नभए एकछिन कुर्दा छोटो दर्शन भेट हुनसक्ने उनले बताए।

‘हैन सर, ठिकै छ। सरकारहरुलाई सोल्टी होटलमा काम गर्दा अघाउञ्जेल देखेकै हो। आज किनमेलमा डिस्टर्ब नगरौँ’ भन्दै म बिदा भएँ। 

सिसाबाहिरबाट हेरेँ, सिन्यालको शोरुमभित्र नेपालको शाही परिवारका दुई सदस्य संसारकै महङ्गा समान हेर्दै थिए सायद।  

ढोकाबाहिर दुई जना कालो सुट लगाएका हङकङे प्रहरी र बर्दीसहितका गोर्खा सुरक्षाकर्मी तैनाथ थिए। म बाहिरबाटै बाटो लागेँ।

राजतन्त्र हुँदा हङकङको बाटो हुँदै निकै आउजाउ गर्ने शाही परिवार र नातेदार। अक्सर सधैँ हङकङको सबैभन्दा महङ्गो पेनेनसुला होटलमा बस्थे। तत्कालीन इन्डिया इम्पोरियम र नेपाल सारीका व्यवस्थापक भारतीय मूलका हरिश साहनी धेरै पटक रानी ऐश्वर्यको लागि सारीको बाकस बोकेर पेनेनसुला होटलमै पटकपटक देखाउन जाँदाको सम्झना सुनाउँछन अझै। दरबार हत्याकाण्डबारे सुनेपछि केही दिन निदाउन सकेनन् रे उनी। 

०४६ सालमा म हङकङ आउनासाथै देशमा प्रजातन्त्र आएकाले हङकङ आउने घुम्ने शााही परिवार खासै भेटिनँ मैले चाहिँ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा उनी चीन भ्रमणपछि हङकङ आउँदा यहाँका केही सीमित नेपालीहरुले पालैपालो पेनेनसुला होटलमै दर्शन भेट गरेका थिए। सायद जैनेन्द्र जीवन शर्मा महावाणिज्यदूत थिए त्यो समय। 

ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमै चीनको औपचारिक भ्रमणपछि हङकङ आउने युवराज–युवराज्ञी पारस र हिमानी शाह नेपालको शाही तन्त्रका अन्तिम प्रतिनिधि थिए। हङकङमा गणतान्त्रिक राजकुमारहरुको भ्रमणबारे पनि चर्चा परिचर्चा थपेँ भने लेख लामो हुनसक्छ, पछि लेखौँला छुट्टै। 

पारस, हिमानी र सवारीमन्त्री दीपकुमार उपाध्याय सहित करिब पचास जनाको समूहलाई पेनेनसुला होटलकै सभाहलमा स्वागत गरिएको थियो। एक बेलुकीको कक्टेल रिसेप्सनमा तत्कालीन महावाणिज्यदूत माधवप्रसाद घिमिरेको विदेशी र हङकङे नेपाली पाहुना लिस्टमा म पनि अटाएको थिएँ। घिमिरेकै किङ्स पार्क भिल्ला निवासको रात्रीभोजमा सशुल्क क्याटरिङको जिम्मेवारी समेत मैले पाएको त्यो रात्रीको छुट्टै सस्मरण लेख्नेछु पछि। 

प्रजातन्त्र, सक्रिय राजतन्त्र र गणतन्त्रमा राजनेता, अभिनेता, गायक, लेखक, साहित्यकार पत्रकार, हजारौँ नेपाली सेलेब्रिटीले हङकङ घुमेका छन्। कतिले त दर्जनौँ पटक। मजस्ताले त झण्डै आधा दर्जन पूर्वप्रमहरुसँग तस्बिर खिच्न भ्याएँ भने हङकङका ठूलाबडा गण्यमान्यहरुको तस्बिर एल्बम कत्रो होला। एकैपटक दर्जनौं कलाकारहरु ल्याएर सयौं कार्यक्रमहरु भैसकेकका छन्। दुईवटा फिल्म अवार्ड त हङकङमै भयो। राजनीतिक पार्टीकै भातृ सङ्गठनदेखि जातीय पर्वहरुका चाडबाड र विशेष समारोहहरुमा नेताहरु निम्त्याइन्छन्। कोभिडपछिको पछिल्लो दुई वर्ष भने सुनसान छ। 

हङकङमा पाइला टेक्ने पहिलो नेपाली को होला? निर्विवाद रुपमै ब्रिटिस गोर्खाहरु हुनुपर्छ। अरु कोही कसैको अभिलेख पाइन्न कतै। 

हुन त श्री ३ जंगबहादुर राणा बेलायत भ्रमण गर्ने पहिलो नेपाली अनि नेपालको प्रधानमन्त्री भनियो। तर पनि उनको बेलायतको भ्रमणमा लन्डनकै सडकमा काम गर्दै गरेका स्वयं जंगबहादुरले भेटेका भनिएका अर्का नेपाली मोतीलाल सिंह उनीभन्दा पहिला बेलायत पुगेको पाइएको भनेर केही इतिहासकारहरुले लेखेका छन्। 

तर ब्रिटिस गोर्खाअघि हङकङ टेक्ने कुनै नेपालीबारे कहीँ कतै उल्लेख गरेको पाइएको छैन अझै। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सन् १९४८ मा पहिलो ब्रिटिस २६ औँ गोर्खा ब्रिगेडले हङकङको भूमिमा टेक्यो। 

मलेसिया हुँदै हङकङ आएको यो बटालियनको काउलुन चिम सा चुइको ह्वाइटफिड ब्यारेक पहिलो बासस्थान क्याम्प थियो उतिबेला। अहिले काउलुन पार्क भनिने यो ठाउँ सन् १९६७ मा हङकङ सरकारलाई हस्तान्तरण गरेर ब्यारेक अन्तै सारियो। अरु बटालियन क्रमशः थपिँदै गए। 

सन् १९९७ सम्म करिब आधा दशक हङकङ बसेका ब्रिटिस गोर्खाहरु आफ्नो पैत्रिक इज्जत सधैँझैँ उच्च राख्दै हङकङबाट बिदा भए। अहिलेसम्म पनि ब्रिटिस गोर्खा भन्नेबित्तिकै निकै इज्जतले हेरिन्छ हङकङमा। बरु आजकल भने कुनै अपराधिक वा नराम्रा घटनाहरुमा साउथ एसियन मूलकाहरु संलग्न भनेर समाचार सुन्दा नेपाली चाहिँ नभैदिए हुन्थ्यो भगवान भनेर हात जोड्नुपर्छ। 

नेपालका राजनेताहरुमध्ये स्व. बीपी कोइराला सन् १९८० मा हङकङ आएको देखिन्छ। श्रीमती सुशीला सहित सात दिन यहाँ बिताएका उनले त्यतिबेला हङकङमै इञ्जिनियर उनका भतिजा नरेश कोइराला (हाल क्यानडा)को रिपल्सबे अपार्टमेन्टको बाल्कोनीमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भेटियो हालसालै।

जापानमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर हङकङ हुँदै नेपाल गएका कोइरालाको सायद त्यैबेलाको अर्को तस्बिर पनि ‘हङकङको ओसन पार्कमा बीपी’ भनेर पनि एकजना कांग्रेसी मित्रले सामाजिक सञ्जालमा हालेका थिए। 

अन्य नेपालका शासकहरुमध्ये राणा प्रधानमन्त्रीहरु वा त्रिभुवन हङकङ आएको कहीँकतै उल्लेख छैन्। जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएर शासनको बागडोर आफैँ लिएका राजा महेन्द्र भने अमेरिका, जापान जाँदा र फर्किंदा तीनचार पटक हङकङ बसेको पाइन्छ। 

त्यसमध्ये एकपटक राजा महेन्द्र हङकङ आउँदा सुरक्षा र पथप्रदर्शक दुवै जिम्मेवारी सम्हालेका एक जना बेलायती मूलका हङकङनिवासीसँग बियर गफ गर्ने संयोग जुर्यो मेरो। 

करिब डेढ वर्षअगाडि ‘डु यु डु नेप्लिज फुड?’ भन्दै दुई जोडी कङ्गन रेस्टुरेन्टमा छिरे। 

‘यस वि डु, ह्याभ अ सिट’ मैले भनेँ।

‘यु फ्रम?’

‘नेपाल।’ 

‘वाउ इन्ट्रेस्टिङ!’

दालभात थाली, गुन्द्रुकको अचारदेखि गोर्खा बियरसम्म सोध्न भ्याए। नेपाल पनि घुमेका रहेछन्। खाना अर्डर गरेर बियर पिउँदै मसँग गफिन खोजे।

रेस्टुरेन्टको भित्तामा रेस्टुरेन्टमा आएजति विशेष व्यक्तित्वहरुको एउटा तस्बिर ग्यालरी थियो मेरो। गहिरिएर हेरे निकैबेर। मैले पूर्वप्रधानमन्त्रीहरुदेखि सबै सेलेब्रिटीबारे संक्षिप्त बताएँ। 

‘ह्वाइ नट योर एक्स किङ एन्ड क्विन?’ उनले सोधे। 

मैले भनेँ, ‘बिकज दे नेभर बिन ह्यर।’ 

ती पनि सबै मेरा साथी नभएको र बिजनेस प्रमोट गर्न मात्र तस्बिर राखेको मैले बताएँ। त्यस्तै, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको पनि सुनाएँ। 

‘एस एस आइ नो,’ उनले भने, ‘बट वन थिङ, यु नो योर एक्स किङ महेन्द्र?’

‘एस, अफ्कोर्स आइ नो हिम भेरी वेल।’ 

‘आइ वाज विद हिम फर थ्री डेज एज अ बडिगार्ड एन्ड ड्राइभर विद माइ अदर कलिग्स,’ उनले भने। 

‘वाउ भेरी इन्ट्रेस्टिङ, टेल मी अबाउट इट’ भन्दै हातमा बियर लिएर बसेँ म पनि।

उनी आफ्नो सम्झना बताउन थाले। 

‘सन् १९६६ वा ६७ मा हुनुपर्छ राजा महेन्द्र जापान वा कतै अन्तको भ्रमणपछि अनौपचारिक भ्रमणमा हङकङ आएका थिए। म ब्रिटिस सेनामा कार्यरत थिएँ। उतिबेला हङकङको सबैभन्दा अग्लो २६ तले मेन्डरिन होटल एसियाकै पहिलो एट्याच बाथरुम सहितको होटल थियो। त्यही होटलको माथिल्लो तलाको बिशेष रुममा राजा बसेका थिए। केही ब्रिटिस र केही ब्रिटिस गोर्खा सुरक्षाकर्मी सहित ड्राइभरको समेत जिम्मेवारी मैले पाएको थिएँ। 

छोटो समयमै घुलमिल भएका राजाले एकदिन बेलुका अरु सुरक्षाकर्मी नलिई घुम्न जाने अनुरोध गरे। मैले सोचेँ राजा सायद हङकङको रात्रिकालीन जीवन अनुभव गर्न नाइट क्लब जान चाहेका हुनसक्छन्। आफू एक्लै जाने भएपछि मैले केही जगेडा हतियार पनि गाडीमा राखेर तयार भएँ। 

तर, मैले सोचेको जस्तो होइन रहेछ। भनेकै ठिक टाइममा उनी सुटटाइमा होटलको लबीमा ओर्लिए। गाडीमा बस्दै राजाले हङकङको सबैभन्दा अग्लो ठाउँ भिक्टोरिया पिक लिएर जान भने। 

कतै पक्की कतै कच्ची थियो, पिक जाने बाटो।

पिकमा ओर्लिए पछि उनले चुरोट सल्काएर सबैतिर हेरे निकैबेर। कम बोल्ने, सोचमग्न देखिन्थे अक्सर। होटलको लबी डेकोरसशनदेखि अन्य बाटाघाटाको सेरोफेरोमा निकै गहिरिएर हेर्थे उनी। 

उनको उडान सायद दिल्ली वा बैंकक हुँदै काठमाडौँको थियोे। 

अहिलेजस्तो हङकङको समुन्द्र मुनिबाट मोटर आउजाउ गर्ने टनेल बनेको थिएन्। सेनाको विशेष पानीजहाजबाट भिक्टोरिया हार्बर तरेर स्टार फेरीबाट गाडीमा सन् १९६२ मा बनेको पुरानो काइ ताक एअरपोर्टमा पुर्याएर फर्किएँ म। 

रूस–अमेरिका वा पूर्व–पश्चिम शीतयुद्धको विश्व राजनीतिमा मार्सल टिटो, नेहरु, नासिर र सुकार्नोहरुसँग मिलेर असंलग्न आन्दोलन जन्माउन काँधमा काँध मिलाएका सानो देशका राजा तानाशाह थिए होलान् तर पक्कै पनि कूटनीतिक रुपमा प्रतिभावान थिए। चीन–भारतको बीचमा देश बच्नु, बचाउनु चानचुने कुरा होइन। उनका छोरा वीरेन्द्रले परराष्ट्र नीतिमा उनकै पदचाप पछ्याए। देशलाई प्रजातन्त्र दिएका उनको कसरी के कारण सबै परिवारकै हत्या भयो? उनका भाइ अन्तिम राजाबारे मलाई खासै जानकारी छैन्। व्यापारी भन्ने सुनेको मात्र हो। सायद त्यसै भएर राजनीतिमा असफल भएका होलान्। नेपालमा राजतन्त्र समाप्त भयो त्यो नेपालको निजी मामिला हो, बेलायतमा भने त्यो छँदैछ।’

कुराको बिट मार्दै गर्दा उनी पूर्वसैनिक कम राजनीतिक विश्लेषक ज्यादा सुनिए। खासगरी उनको नेपाल र विश्व राजनीतिसम्बन्धी ज्ञान गज्जब लाग्यो मलाई। 

मैले उनकी श्रीमती र साथीहरूलाई ‘हि इज भेरी इन्ट्रेस्टिङ पर्सन एन्ड नोज हिस्ट्री अबाउट माइ कन्ट्री। सो आइ एम सरी फर डिस्टर्बिङ योर प्राइभेट डिनर टाइम’ भन्दै आफ्नो तर्फबाट बियर र अन्य पेय पदार्थ अफर गरेँ सबैलाई। 

उनकी श्रीमतीले धन्यवाद भन्दै उनका यस्ता कहानी हामीले त धेरै सुनिसक्यौँ र सुन्नुपर्छ ‘योर टर्न टु लिसन टुडे चियर्स’ भन्दै हँसाइन्। उनीहरु खुसी हुँदै बिदा भए त्यो रात। 

देशमा आम चुनावको सरगर्मी बढ्दै गर्दा लेखको बिट मार्दै छु म सात समुन्द्रपारि बसेर। अनि सोच्छु, देशको कुनै पनि इतिहास, घटनाक्रम र व्यक्तित्वहरुको असल वा खराब पाटोको निष्पक्ष विश्लेषण गर्ने संस्कार बसेको छैन अझै। आफ्नो अनुकूल या त देवत्वकरण या त दानवीकरणकै जुहारीमा रमाउँदै छौँ हामी।

मंसिर ३, २०७९, शनिबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .