काकाको पछि लागेर धनकुरा बजारबाट पूर्वोत्तर गाउँमा जन्त गएका युवक पालाममा रमाउँछन्। मनमनै सुसेल्छन्। नाच्छन्, गाउँछन्, रमाउँछन्। सोल्टिनीले जिस्काउँछन्, जिस्किन्छिन्।
पालाम गाएको त मन परिरहेको हुन्छ, तर अर्थ बुझ्दैनन्। सँगै रहेकी सोल्टिनीलाई सोध्छन्। उनी जिस्किँदै भन्छिन्, ‘याक्थुम्बा सोल्टी भनेको पेनिबाको पो हात पक्डेछु कि क्या हऊ?’
आफ्नै समुदायको याक्थुम्बा अर्थात् लिम्बू नभएर पेनिबा अर्थात् क्षेत्री–बाहुन परेको भन्दै जिस्काउँछन्। त्यही शब्द पेनिबाबाट नामकरण गरिएको कथाकार सुरेश यक्सोको कथाकृति ‘पेनिबा’ले पूर्वी पहाडबाट संसार चियाएको छ। पूर्वी नेपालको पृष्ठभूमिका रचिएका कथाले आधुनिक संसारसँगको सम्बन्ध केलाउने कोसिस गरेको छ।
यस कथाकृतिमा १५ कथा समेटिएका छन्। जसमा लिम्बूवान क्षेत्रको सामाजिक र सांस्कृतिकसँगै आर्थिक र राजनीतिक परिवेश पनि चित्रण गरिएको छ। कथा पढ्दा पूर्वी पहाडको जनजीवन, रहनसहन, आम नागरिकको दुखजिलो दैनिकीको झल्को आउँछ। अझ कथाकार स्थानीय जवलको प्रयोग यसरी गरेका छन् कि जसले भाषिक मिठास थपिएको छ।
प्रायः सबैजसो कथा आर्थिक रूपमा निम्नमध्यम वर्गीय तथा मध्यम वर्गीय परिवारसँग जोडिएका छन्। कथाकारले कथाका पात्रमार्फत ती परिवारका समस्या सुनाउने प्रयास गरेका छन्। पूर्वी पहाडमा रहँदा होस् कि हङकङ पुग्दा होस्, कथाका पात्रले आमनागरिकका दुःख, कष्ट, पीडा ओकेल्छन्। युवा पुस्ताको भाषा बोल्छन्।
जस्तो पहिलो कथा ‘बैंकिङ कसुर’मा एउटा मध्यम वर्गीय परिवारको युवाले देख्ने बैंकिङ क्षेत्रको रोजगारको सपनालाई उजागर गरिएको छ। उसले देखेको सपना साकार पार्न गर्ने परिश्रमले आम युवाको प्रतिनिधित्व गर्छ। यससँगै बैंकिङ क्षेत्रका समस्या र त्यसले आम नागरिकलाई पारिरहेको प्रभाव पनि कथामा उल्लेख गरिएको छ।
अर्को कथा ‘नयाँ जुत्ता’मा उनी निम्नमध्यम वर्गीय तथा मध्यम वर्गीय परिवारको बाध्यतालाई उजागर गर्न सफल भएका छन्। अहिलेको समयमा आम निम्नमध्यम तथा मध्यम वर्गीय परिवारका युवाले खेपिरहेका पीडा यस कथामा सुक्ष्म रूपमा चित्रण गरिएका छन्। आर्थिक पाटोलाई समातेर लेखिएको यो कथाले सामाजिक मनोविज्ञान झल्काउँछ। पारिवारिक जिम्मेवारी र त्यसले पारेको मनोवैज्ञानिक दबाब पनि कथामा पाइन्छ।
त्यस्तै, ‘आइफोन काण्ड’, ‘नोटबुक : एक रहस्य’, ‘डान्सबारमा छापा’ कथाले आधुनिक परिवेशलाई चित्रण गर्छन्। अहिलेको पुस्ताले मनोभाव झल्काउँछन् भने उनीहरूले भोगिरहेको गाह्रोसाह्रोलाई देखाउँछन्।
अर्कातिर, ‘पेनिबा’, ‘कन्ये कान्छा’, ‘अप्ठेरो कान्छा’ कथाले पाठकलाई गाउँघरतिर फर्काउँछन्। गाउँले परिवेश, रहनसहन, जनजीवनसँग परिचित गराउँछन्। गाह्रोसाह्रोबीच आमनागरिकले बाँचिरहेको दैनिकी चित्रण गर्छन्। ससाना कुरामा कसरी खुसी हुने भन्ने यी कथाले देखाउँछन्।
प्रेमविना त संसार चल्दैन। कथा कसरी बनून्! कथाकारले प्रेमलाई फरकफरक रूपमा पस्केका छन्। कतै असफल प्रेमका पात्राका कुरा झिकेका छन् त कतै प्रेममा प्रफुल्ल जोडीलाई कथाका माध्यमबाट बाहिर ल्याएका छन्। कथाका पात्र प्रायः गाउँघरको परिवेशबाट संघर्ष गरेरै आएको देखाइएका छन्। यसले पाठकलाई ऊर्जा पनि थपिन्छ।
कथाकार यक्सोले सरल भाषामा परिवार, समाज, देश र विदेशका कुरा सुनाएका छन्। धनकुटाका हाटबजारदेखि हङकङका आधुनिक सपिङ मलसम्म पाठकलाई डुलाएका छन्। यी कथा पढ्दा पाठक पनि यात्रा गर्न बाध्य हुन्छन्। कथाका पात्रका दुःखमा दुःखी हुन्छन्, सुखमा रमाउँछन्। कति बेला पढ्दापढ्दा हास्न पुगिन्छ, पत्तै हुँदैन। यही नै कथाकार यक्सोको सफलता हो।
यति हुँदाहुँदै पनि केही कमजोरी छन्। जस्तो सरल बनाउने ध्याउन्नमा अनावश्यक वर्णन गरेका छन्। कतिपय ससानो कुरा पनि अनावश्यक रूपमा लेखिएका छन्, जसले पाठकलाई झिझो लाग्न सक्छ। कतिपय ठाउँमा हतारहतार हिँडेका छन्। जहाँ अलिकति वर्णन चाहिने थियो, परिवेश र पृष्ठभूमि सुनाउनुपर्ने थियो। पाठकलाई अझै केही लेखिएको भए हुन्थ्यो जस्तो महसुस गराउँछ।
कथा राम्रा हुँदाहुँदै पनि सम्पादन नपुगेको जस्तो देखिन्छ। कतै कतै स्थानीय परिवेश त हुन्छ तर स्वाद भेटिँदैन। सोल्टिनीले भने झैँ याक्थुम्बाको हात समात्दा पेनिबा निस्के जस्तै हुन्छ। सबैथोक मिसमास गरिए जस्तो महसुस हुन्छ।
तथापि, कथाकार यक्सोले राम्रो प्रयास गरेका छन्। पूर्वी पहाडबाट संसारको फरक चित्र कोरेका छन्। कथामार्फत परिवार, समाज र देशका कुरा गरेका छन्। विदेशमा रहेर पनि देशभित्रका तमाम समस्यालाई उजागर गरेका छन्। रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ‘पेनिबा’ फरक स्वादका लागि पढ्नै पर्ने कथाकृति बनेको छ।
Shares

प्रतिक्रिया