मेरो पाठकीय प्रयोगशालामा ‘नवयुगकी सुम्निमा’को परीक्षण, आज हङकङमा हुँदैछ विमोचन

मेरो पाठकीय प्रयोगशालामा ‘नवयुगकी सुम्निमा’को परीक्षण, आज हङकङमा हुँदैछ विमोचन

लेखक शकुन आँसु


बज्रकुमार थुलुङ राई
फागुन ११, २०८१ आइतबार १२:४३, हङकङ

कवि शकुन आँसुकृत पहिलो पुस्तकाकार कृति ‘नवयुगकी सुम्निमा’ कविता सङ्ग्रह हङकङ साहित्यिक साझा शृंखलाका सहसंयोजक रोशन यक्सोले केही दिनअघि मेरो हातमा थमाइदिए।

यस सङ्ग्रहका विषयमा आज (२३ फेब्रुअरी) हुने शृंखलाको १४१औँ  संस्करणमा विमोचन हुँदा बोलिदिने कि भन्ने आत्मीय वार्ता पनि भयो उनीसँग।

कसैको कृतिमाथि साँच्चै बोल्नु त्यति सजिलो हुँदैन। साहित्यिक पुस्तकका विमोचनहरूमा समीक्षक पदधारी महाशयहरूले मनगढन्ते शब्द र वाक्यहरू बेफ्याकमा बर्बराएको बाध्यतावश सुन्नुपर्दाको पीडाबाट केही राहत पाउन मैले नै भनेको थिएँ- अब समीक्षा लेखेर गर्ने गरौँ।

पुस्तक पढ्दै नपढी बोक्रा हेरेर सिंगो रुख र फलको बयान गर्ने बानी राष्ट्रिय रोगकै रूपमा विकास भइरहेको छ भन्ने मेरो बुझाइले लिखित समीक्षाको विषय उठान गरेको थिएँ। आज मलाई त्यो आफ्नै कथनले बेस्सरी च्यापेको छ।

यद्यपि म आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन। र नै, निन्द्रालाई आँखामै थुनेर ‘नवयुगकी सुम्निमा’भित्र प्रवेश गरेको छु।

प्रथमत: मसँग अपरिचित कवि ‘शकुन आँसु’ बडो गज्जबको स्मरणमुखी नाम लाग्यो। त्यो माथि उनले आफ्नो भनाइमा राखेको स्वीकारोक्तिले सुरुमै मन बाँध्यो। ‘अपरिपक्क र त्रुटिसहितको सिकाइ हो- नवयुगकी सुम्निमा। सिर्जनाको प्रयोगशालामा प्रयोगका लागि राखिएको प्रयोग विधि हो- नवयुगकी सुम्निमा।’ उनले आफ्नो यो संग्रहको स्पष्टोक्ति यसरी दिएकी छन्।

शकुनले आफू यहाँसम्म आइपुग्दा साथ/सहयोग गर्ने सबै आत्मीय मनहरूको नाम पनि उल्लेख गर्न छुटाएकी छैनन्। जसमध्ये कवि पराजित पोमुको नाम शीर्षस्थ छ। यस संग्रहमा उनै पोमु र प्रा.डा. विष्णु राईको छोटो भनाइ पनि राखिएको छ।

ती दुवै विद्वानले कविताको शिल्प, शैली, भाव, विचार, मौलिकता, वजन, गहनता र स्तरीयताको ठिक्कले प्रशंसा गरेका छन्। जुन मानलाई कविताहरूले थेगेर सम्मान गर्न सकेको छ।

त्यस्तो थेग्नै नसक्ने विजयको अबिरमाला लगाइदिएर कवि र कविताहरूलाई लज्जास्पद बनाएका छैनन्। प्राय: कविता संग्रहहरूमा ठूला कहलिएका समीक्षकले प्रशंसै प्रशंसाका गजुर ठडाइदिएको पाएको छु। जुन कुरा नानीभन्दा जामा ठूलो जस्तो हुन्छ। फिट हुँदैन। र, पटक्कै सुहाउँदैन।

त्यस्ता कर्तुतले सामान्य पाठकको मनमस्तिष्कमा समेत कवि र कविताप्रति नकारात्मक असर पार्दछ। कविता भन्यो कि हेर्दै नहेर्ने, पढ्दै नपढ्ने बनाउँछ।

आजकाल लेखकभन्दा पाठकहरू दिनानुदिन बौद्धिक बन्दै गएका छन्। यस्ता कुराप्रति कवि शकुन सचेत भएको पाउँदा साह्रै खुसी लाग्यो।

आफ्नो साहित्यिक यात्रा रेडियो कार्यक्रम र गजल लेखनबाट आरम्भ भएको तर विदेश (कोरिया) गएपछि भने कविहरूको संगतले कवितातर्फ मोडिएको बताएकी शकुनले कविता संग्रह नै प्रकाशन गर्छु भन्नेचाहिँ कदापि नलागेको यथार्थ पनि लुकाएकी छैनन्। यसले उनलाई बढी चम्किलो र यथार्थवादी बनाएको छ।

यसरी आफूलाई र आफ्नो सिर्जनालाई कतै पनि नलुकाई पस्केकी शकुनको ‘नवयुगकी सुम्निमा’भित्र ४७ थान कविता समेटिएका छन्।

त्यसलाई पनि दुई खण्डमा बाँडिएको छ। पहिलो खण्ड ‘समय यात्रा’मा २७ स्थान कविता छन्। दोस्रो खण्डमा १५ थान कविता छन्।

पहिलो खण्डका अधिकांश कविता भावप्रधान छन्। अन्तरहृदयी छन्। कविको जन्म गाउँदेखि राजधानी सहरसम्मका जीवन भोगाइका पाठशालाबाट विद्वत्व प्राप्त छन्। संघर्षका अनेकौँ हन्डर र ठक्करलाई आत्मविश्वासले जित्दै अघि बढेका एकएक साहसी पाइलाले टेक्न सकेका उचाइहरू छन्।

कुनै पनि कविताले ठूला प्रतिवाद गरेका छैनन्। बडेमान विचारका भारीले कविताहरू थिचिएका छैनन्। बिम्ब-प्रतीकका नाममा हुने/नहुने रङहरू छ्यापेर कवितामाथि होली खेलिएको पनि छैन।

साधारण पाठकले पनि बुझ्न सक्ने सरलताको जगमा उभिएका छन् कविताहरू। कहिँ कहिँ आत्महारा कवित्वप्रति स्वाभाविक गिज्याइएको छ।

घरभित्रका समान सम्बन्धबीचमा हुने विभेदलाई पनि कविले नधकाई यसरी आवाज उठाएकी छिन्।

‘... खुट्टामा ठोकिने ढुङ्गामा देख्छिन् दाजुहरूको कठोर मन
जसले घरबाट निकालिदियो...’

‘... म पनि हुँ बाउको दुई थोपा वीर्य आमाको शरीरमा बग्ने रगत
जसरी दाजुभाइहरू हुन्
तर किन विभेद छ यहाँ
आकाश-धर्तीको,
छोरा र छोरीको...’
(पितृसत्ता, पन्ना ७२)

हाम्रो नेपाली समाजमा अझै पनि बेलाबखत सुन्नमा आइरहने प्रत्यक्ष/अप्रत्यक्ष यौन शोषण र दुराचारका क्रियालाई पनि शकुनले सरल तर गहिरो अर्थ लाग्ने गरी उठाएकी छन्।

यो कवितांशले जसको सन्देश दिएको छ-
‘...शिक्षकको स्पर्शमा कुन काँडा थियो कुन्नि?
 र, म ढेस्सिन्थेँ साथीपट्टि
भन्थे- लाटी, सिकाउन आएको हुँ
किन तर्सेकी?’

यस्ता अरू कविता पनि छन् ‘नवयुगकी सुम्निमा’भित्र।

प्राय: कविताहरू मानव जीवन भोगाइका विभिन्न चरणबाट गुज्रिएका छन्। भावनाका अधिकतम रङले रङ्गिएका छन्। सांस्कृतिक चेतपूर्ण छन्। परदेश र नोष्टाल्जिक मनको तड्पाइले लेखिएका छन्।

समग्र संग्रहमा केही कमीकमजोरी छन् त केवल कहिँकतै भाषागत अशुद्धता, अनुच्छेद र अर्थहरूबीच अलिक बढी दूरी (जसले कवितालाई पूर्ण जीवन दिँदैन) अधिकांश कविताहरूको एकैजस्तो लाग्ने शिल्प, शैली, भाव हुनु तथा मुद्दा र विचारका दृष्टिकोणले कम लाग्नु आदि यसभित्रका कवितामा पाठकलाई ढुंगा लाग्ने विषय हुन्।

त्यस्तै, पाठकहरूलाई सुरुमै केही अलमल हुन सक्छ। तर, कवितालाई ठ्याक्कै मापन गर्ने कुनै इकाइ छैन। हरेक विश्लेषक, चिन्तक र आम पाठकको आ-आफ्नै दृष्टिकोण र धारणा हुन सक्छ।

त्यसो भन्दै गर्दा यो त झन्‌ शकुनको पहिलो कृति हो। अझ आफ्नो भनाइमै कवि शकुनले यस संग्रहलाई प्रयोगशालामा जाँच्न अनुमति दिइसकेको विषय हो।

अरू अरूले पनि यस कृतिका कविता जाँच्लान् नै। हिजो शनिबार (२२ फेब्रुअरी) नेपालमा यो संग्रहको विमोचन भयो। हङकङ साहित्यिक साझा शृंखलाले आज (आइतबार) यहाँ विमोचन गर्दैछ।

आज पहिलो साहित्यिक कृति विमोचनको खुसीमा मुस्कुराउँदै सर्जकको लाइनमा उभिएकी कवि शकुन आँसुलाई हार्दिक बधाई अनि उज्ज्वल भविष्यको शुभकामना छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .